Comments Add Comment

निजी व्यक्तिको लगानीमा विकासका पूर्वाधार निर्माण

२ वैशाख, म्याग्दी । म्याग्दीको ताकम–७ हिलापोखरीमा दुई व्यक्तिले लाखाैं लगानीमा विकासका पूर्वाधार निर्माण गर्नुभएको छ । हाल पोखरा नदीपुर बस्नुहुने रेशम पुन र बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनले आफ्नो जन्मगाउँमा नौ लाख रुपैयाँको लगानीमा सडक र सामुदायिक भवन निर्माण गरेका हुन् ।

सिङ्गापुर प्रहरीको सेवानिवृत्त रहनुभएका रेशम र उहाँकी श्रीमती बनिका पुनले व्यक्तिगत रुपमा तीन लाख रुपैयाँ लगानी गरेर ताकम–३ बाट हिलापोखरी जोड्ने दुई किलोमिटर सडक निर्माण गरेका हुन् ।

उक्त सडक निर्माण गर्न हिलापोखरीमा जन्मनुभएकी हाल पोखरा निवासी मैतीमा फगामीले थप दश हजार रुपैयाँ सहयोग गरेका थिए । यसैगरी रेशम पुन र हाल बेलायतमा कार्यरत दुर्गाबहादुर पुनको तीनतीन लाख रुपैयाँ सहयोगमा स्थानीय बासिन्दाले श्रमदान गरेर हिलापोखरीमा सामुदायिक भवन निर्माण गरेका छन् ।

स्थानीय बुद्धशान्ति युवा क्लबको नेतृत्वमा निर्माण भएको सडक, भवन र जगन्नाथ प्रावि परिसरको खेलमैदानको बुधबार नयाँ वर्षको अवसर पारेर सांसद रेशमबहादुर बानिया र सहयोगदाताद्वयले उद्घाटन गरे ।

जिविसले सांसद विकास कोषमार्फत उपलब्ध गराएको एक लाख रुपैयाँ आर्थिक सहयोगसँगै स्थानीय बासिन्दा र क्लबको थप तीन लाख रुपैयाँ बराबरको श्रमदान तथा चन्दा सहयोगमा एक सय मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको क्लबका सचिव रामजी मल्लले बताए ।

खेलमैदान र विद्यालय भवन निर्माण गर्न स्थानीय बासिन्दा कलानिधि सुवेदीले एक लाख २० हजार रुपैयाँ मूल्य बराबरको चार रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

उद्घाटन कार्यक्रममा सहभागी हुन जन्मगाउँ आउनुभएका दुर्गाबहादुर पुनले बाध्यताले सात समुन्द्रपारि पुगे पनि अनावश्यक खर्चलाई बचाएर गाउँको विकासमा सहयोग गरेको बताए ।

अर्का चन्दादाता ८४ वर्षीय रेशम पुनले आफूहरु रोजगारीका लागि विदेसिँदा एक हप्तासम्म हिँडेर गाडी चढ्ने ठाउँसम्म पुगेको स्मरण गर्दै गाउँका बासिन्दाको सुविधाका लागि सडक निर्माणका लागि सहयोग गरेको बताउनुभयो ।

ताकम गाविसको सबैभन्दा पिछडिएको बस्ती मानिने हिलापोखरीका बासिन्दाले यसअघि आफ्नै लगानीमा पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरेर विद्युत् सुविधा उपभोग गरिरहेका छन् । हिलापोखरीमा ६० घरधुरीको बसोबास रहेको छ । उनीहरुले सामुदायिक पानी मिल पनि सञ्चालन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सांसद बानियाले स्थानीय बासिन्दामा एकता र इच्छाशक्ति भएमा राज्यको न्यून सहयोगमा पनि ठूलाठूला विकास योजना सम्पन्न गर्न सकिने उदाहरण हिलापोखरीका बासन्दाले प्रस्तुत गरेका बताए । कार्यक्रममा चन्दादातालाई सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment