Comments Add Comment

भग्नावशेषबाट १२ घण्टापछि निकालिएका युवाको वयान: खुट्टा गुम्यो त के भो, हिम्मत गुमेको छैन

ramesh khatriगोंगबुको भुमेश्वरी गेस्ट हाउसमा म काम गर्थें । वैशाख १२ गते घर जाने भनेर काटेको टिकट गोजीमा थियो । बेलुका चार बजेको थियो गाडी ।

आठ तल्ले भवनको दोस्रो तल्लामा म र पेम्बा लामा खाना खान बसेका थियौं । मैले पहिलो गाँस मुखमा हाल्नासाथै बिल्ङिङमा हलचल भयो । मानिसहरु भूईंचालो आयो भन्दै कराउन थाले । होहल्ला र भागदौड सुरु भयो ।

पेम्बा र म आत्तिँदै भर्‍याङतिर कुद्यौं । तर, भर्‍याङ ओर्लिन नपाउँदै बिल्डिङ गल्र्यामगुर्लुम भक्कियो र हामी पुरियौं । म उत्तानो लडेँ । मेरो दुवै गोडा बिममुनि थिचिए । हातगोडा पनि हलचल गर्न सक्ने अवस्थामा भएन । बोल्न मात्रै सक्थेँ । कहालिएर चिच्याएँ । त्यस्तो कोलाहलमा मेरो चिच्याहट कसले सुन्ने ?

बाहिर केही देख्न सक्ने अवस्था थिएन । पूरै अन्धकारभित्र थिएँ । साह्रै आत्तिएकाले सास फेर्न गाह्रो हुन थाल्यो । लगातार ‘बचाउ… बचाउ…’ भनेर कराएँ । एक छिनअघि हालेको गाँस मेरो मुखमै थियो । त्यो गाँस पनि मैले निल्न सकिनँ,  न ओकल्न नै सकेँ । जिब्रोले अलिअलि बाहिर निकालेँ, अलिअलि मुखभित्रै रह्यो ।

जोन बोल्न छाड्यो

मलाई बिमले थिचेको छ, हलचल पनि गर्न सक्दिनँ,’ मैले भनें । पेम्बाको पनि मेरो जस्तै अवस्था थियो । तर, जोनको हालत हाम्रोभन्दा धेरै नाजुक रहेछ । उसले भन्यो, ‘मेरो घाँटीमा रड पसेको छ । म त अब मर्छु यार

एक छिनपछि मलाई ‘रमेश… रमेश…’ भनेर कसैले बोलाएको मधुरो आवाज सुनेँ । पेम्बाको आवाज थियो । मैले पनि ‘पेम्बा..’ भनेँ । अनि हामीबीच दोहोरो संवाद हुन थाल्यो । एकैछिनमा अर्को साथी पनि भित्रै कराइरहेको सुनियो । उ जोन रहेछ । हामी तीन जना आ-आफ्नो पीडा एक-अर्कालाई सुनाउन थाल्यौं ।

‘मलाई बिमले थिचेको छ, हलचल पनि गर्न सक्दिनँ,’ मैले भनें । पेम्बाको पनि मेरो जस्तै अवस्था थियो । तर, जोनको हालत हाम्रोभन्दा धेरै नाजुक रहेछ । उसले भन्यो, ‘मेरो घाँटीमा रड पसेको छ । म त अब मर्छु यार ।’

जोन करिब १० मिनेटसम्म हामीसँग बोल्यो, निकै कष्टसाथ । त्यसपछि उसको आवाज सुन्न छोडियो । ऊ रहेन भन्ने हामीले बुझ्यौं । त्यसको ५ मिनेटसम्म म र पेम्बा बोलिरह्यौं । त्यसपछि हामी दुबै बोल्न सकेनौं ।

बुबाआमालाई सम्झेँ

म हतास हुँदै गएको थिएँ । गोडामा असैह्य पीडा भइरहेको थियो । मेरो बुवाआमाको अनुहार निरन्तर आँखा अगाडि आइरह्यो । भाइ-बहिनीलाई पनि सम्झिरहेको थिएँ । भूकम्पले उनीहरुलाई के गर्‍यो होला भनेर आत्तिइरहेको थिएँ । म रहिनँ भने परिवारको के हालत होला भन्ने चिन्ता लाग्थ्यो ।

बेलाबेलामा बाहिरको आवाज सुनिन्थ्यो । कसैले मेरो नाम लिएको जस्तो पनि लाग्थ्यो । त्यतिबेला बाँच्ने आशा पलाउँथ्यो । चिच्याएर ‘बचाउ… बचाउ..’ भन्थेँ, ता कि उद्धारकर्मीहरुले सुनुन् । तर, स्वर सुक्दै गएको थियो । मेरो कराएको सायदै बाहिर सुनिन्थ्यो । तर, पनि सकुञ्जेल चिच्याइरहेँ ।

बाहिरको केही आवाज सुनिएन भने मन आत्तिन्थ्यो । त्यतिबेला जतिसक्दो चाँडो मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, आफूले चाहँदैमा पनि भन्नेबित्तिकै मर्न सकिँदैन रहेछ ।

rames2

मध्यरातमा उद्दार

१२ घण्टासम्म पुरिँदाको अनुभव म राम्ररी वर्णन गर्न पनि सक्दिनँ । यत्तिञ्जेल म एकपटक पनि बेहोश भइनँ । बेहोश भएको भए बरु त्यस्तो गाह्रो हुन्नथ्यो होला । मुख सुकेर प्याक-प्याक भइरहेको थियो । मनमा नानाभाँती तरंगहरु उत्पन्न हुन्थे ।

कहिले सपना हो कि जस्तो लाग्थ्यो । सपना भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । आफैंलाई चिमोट्न पनि सक्दिनथेँ । जब उद्धारकर्मीहरु भग्नावशेष पन्छाउँदै आफू नजिक आएको महसुस हुन थाल्यो, त्यसपछि बाँच्ने आश जागृत भयो ।

उनीहरुले आवाज दिन भन्थे । म सक्दो कराउथेँ । ‘म यस्तो ठाउँमा छु, यताबाट निकाल्न सकिन्छ’ भन्थेँ । मेरो आवाज पछ्याउँदै सुरक्षाकर्मीहरु मसम्म आइपुग्नुभयो ।

आखिरमा बिम पन्छाएर मलाई बाहिर निकालियो । रातको १२ बजेको रहेछ । बाहिर सुरक्षाकर्मीहरु खुशी मुद्रामा हुनुहुन्थ्थो । चिनेका साथीहरु पनि थुप्रै थिए । आफूलाई निकाल्ने सुरक्षाकर्मीहरुलाई मैले भगवान जस्ता देखेँ । म उहाँहरु कसैलाई पनि चिन्दिनँ । कसैसँग बोल्न सकिनँ । आवाज रित्तिइसकेका थियो सायद । न आँखाबाट आँशु नै निस्के । म अर्द्धबेहोशीको अवस्थामा पुगेंछु । मलाई टिचिङ अस्पताल लगेको अलिअलि याद छ ।

गोडा नभेटेपछि

अस्पताल पुर्‍याउँदा मलाई पेटमा असैह्य पीडा भइरहेको थियो । गोडाभन्दा पेट धेरै दुख्न थाल्यो । भित्र पिल्सिँदा खुट्टामा जमेको रगत पेटमा पुगेर दुखेको रहेछ । त्यही दुखाइले गर्दा म बेहोश भएँ । तीन दिनपछि आँखा खुल्यो । आँखा खुल्दा मेरो अगाडि एकजना सिस्टर हुनुहुन्थ्यो । उहाँले ‘कस्तो छ भाइ ?’ भनेर सोध्नुभयो । मैले मुन्टो मात्र हल्लाएँ । उहाँ जानुभयो ।

मेरो गोडा स्याउँस्याउँ गरिरहेको थियो । गोडाको औंलामा करेन्ट लागेजस्तो भइरहेको थियो । हातले गोडाको औंला छाम्ने प्रयास गरेँ । तर केही पनि भेटिनँ

एकजना डाक्टर आउनुभयो । खोइ, केके गर्नुभयो । ‘आत्तिनु पर्दैन, बिस्तारै ठीक हुन्छ,’ भनेर जानुभयो ।

होस खुलेदेखि मेरो गोडा स्याउँस्याउँ गरिरहेको थियो । गोडाको औंलामा करेन्ट लागेजस्तो भइरहेको थियो । हातले गोडाको औंला छाम्ने प्रयास गरेँ । तर केही पनि भेटिनँ । अहँ, जति छाम्दा पनि मैले आफ्नो गोडा भेटिनँ । त्यसपछि ओढेको बर्कोलाई पन्छाएर हेरेँ । अनि पो छाँगाबाट खसेजस्तो भएँ । मेरा दुबै गोडा घुँडाभन्दा माथिसम्म मात्रै थिए । डाक्टरहरुले काटिसकेका रहेछन् । म अपांग भइसकेको रहेँछु ।

म रुन-कराउन थालेँ । डाक्टरहरु आउनुभयो । ‘धन्दा मान्नुपर्दैन, नक्कली गोडा हालेर हिँड्न मिल्छ, काम गर्न सकिन्छ’ भन्ने कुराहरु गरेर मलाई सान्त्वना दिने प्रयास गर्नुभयो । मैले आफूलाई सम्झाउन थालेँ । मुटु दरिलो बनाउने प्रयास गरेँ ।

एक हप्तापछि घरमा खबर

अस्पतालमा सात दिनसम्म म एक्लो थिएँ । उद्धार गरेर अस्पताल पुर्‍याइएपछि मेरो घर सोधिएको थियो । मैले दैलेख हो भनेँ । त्यसपछि बुवा-आमाको फोन नम्बर सोधियो । आमाको नम्बर मेरो मुखैमा हुन्थ्यो तर, त्यतिबेला सम्झिन सकिनँ ।

म भूकम्पमा पुरिएको खबर एक हप्तापछि मात्रै घरमा पुग्यो । आमा भाइलाई लिएर दौडिँदै आउनुभो । उहाँ अस्पतालमा आइपुग्दा म अपाङ्ग बनिसकेको थिएँ ।

मेरो अवस्था देखेपछि उहाँ केही बोल्न सक्नुभएन । रुनुमात्रै भयो । मेरो आँखाबाट पनि अविरल आँशुका धारा बगे । न उहाँले मलाई कुनै सहानुभूति दिन सक्नुभयो, न मैले उहाँलाई सम्झाउन सकेँ ।

म दुई महिनासम्म अस्पताल बसेँ । त्यहाँबाट एउटा संस्थाले मलाई आश्रय दियो, सुनाकोटीमा । दुई महिना त्यहाँ बसेपछि अहिले नेपाल हेल्थ केयर अकुपमेन्ट डेभलपमेन्ट फाउन्डेसन भन्ने संस्थामा आएको छु ।

फेरि पढाइ थाल्दैछु

चार वर्षअघि कामको खोजीमा काठमाडौं आएको हुँ म । जेठो छोरा भएका कारण पारिवारिक दायित्वले गर्दा ८ कक्षाको पढाइ बीचैमा छाडेर आएको थिएँ ।

rames1बुवा इन्डियामा मजदुरी गर्नुहुन्छ । उहाँले पठाउने पैसाले यहाँ खान-लाउनलाई नै ठिक्क हुन्थ्यो । म आफ्ना भाइ बहिनीलाई राम्रो स्कुलमा पढाउन चाहन्थेँ । बुवा-आमालाई सुखी जीवन दिन चाहन्थेँ ।

काठमाडौं आएपछि मैले गेस्ट हाउसमा काम पाएँ । गेस्ट खोजेर होटलसम्म पुर्‍याउनुपर्ने काम थियो । ३० प्रतिशत कमिसन आउँथ्यो । महिनामा १५-१६ हजार कमाउँथे । ४-५ हजार आफू खर्च गर्थेँ, बाँकी घरमा पठाउँथे । मैैले काम सुरु गरेपछि भाइबहिनी दुबै बोर्डिङ स्कुलमा पढ्न थालेका थिए । पढ्ने रहर मेरो पनि थियो, तर पारिवारिक बोझले गर्दा नै आफ्नो रहरलाई तिलाञ्जली दिएको हुँ ।

भूकम्पपछि मैले काम गर्न सक्ने अवस्था छैन । अहिले संस्थामै दिन बितिरहेको छ । प्लास्टिकको खुट्टा लगाएर स्टिकको सहारामा हिँड्ने अभ्यास गर्दैछु ।  यहाँ भूकम्पपीडित १८ जनाले आश्रय लिइरहेका छन् । सबैले एक अर्कालाई हेरेर मन बुझाउँछौं ।

म आफ्नो टुटेको पढाइलाई फेरि जोड्ने योजनामा छु । जोरपाटीको एउटा स्कुलमा नाम लेखाइसकेँ । सायद अर्को साताबाट पढ्न जान्छु होला । भूकम्पपछि मलाई दुई-तीन जनाले २०-३० हजार सहयोग गर्नुभएको थियो । त्यो पैसा जोगाएर राखेको थिएँ । त्यसलाई अब आफ्नो पढाइमा खर्च गर्नेछु ।

मैले पैसा पठाउन नसकेपछि मेरा भाइबहिनी फेरि बोडिङबाट सरकारी स्कुलमा फर्केका छन् । यसले मलाई चुकचुक भइरहेको छ । तर, मलाई विश्वास छ, अपाङ्ग भएपछि भोलि म केही गर्न सक्ने हुनेछु । पैसा कमाउनेछु । भाइबहिनीलाई राम्रो शिक्षा दिनेछु र बुवा-आमालाई बुढेसकालमा सहारा दिनेछु । म हिम्मतिलो केटो हुँ ।

(वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment