Comments Add Comment

सिटिजन्स टेनिसमा संरक्षक र मायांका च्याम्पियन

Samrakchan-and-mayanka

१८ वैशाख, काठमाडौं । संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरे ।

काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६-७, ६-२ र ६-२ ले हराइन् । मायांकाले लगातार दोश्रो पटक उपाधि जितेकी हुन् । पुरुष/महिला सिंगल्स विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा भेट्रान्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रान्स ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । जम्मा २ लाख ९ हजार रुपैयाँ नगद पुरस्कार बाँडियो ।

यसअघि पुरुष डबल्समा कुमार अधिकारी र जितेन्द्र परियार तथा मिक्स डबल्समा संरक्षक र विभूति कार्कीको जोडी पहिलो भएका थिए ।
भेट्रान्स ३५ वर्षमाथि श्रीराम मगर, ४५ वर्षमाथि कृष्णराज घले, ५५ वर्षमाथि मनोज राणा तथा ६५ वर्षमाथि दीपकमान श्रेष्ठले शीर्ष स्थान हात पारेका थिए । त्यस्तै डबल्सको ३५ वर्षमाथि राजु क्षेत्री र राजेश क्षेत्री, ४५ वर्षमाथि राजु क्षेत्री र डेगेन्द्र थापा तथा ५५ वर्षमाथि मनोज राणा र छेम्बा डुन्डुपको जोडी च्याम्पियन बनेका थिए ।

भूकम्प गएको एक वर्ष पुगेको दिन बैशाख १२ गतेबाट सुरु प्रतियोगितामा १४ महिलासहित १ सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गत बैशाख १२ गतेको भूकम्पले त्रिपुरेश्वरमा रहेको राखेपको कोर्टमा क्षति पुगेपछि प्रतियोगिताको चौथो संस्करण स्थगित भएको थियो ।

त्यो वर्ष बैशाख १३ गतेदेखि सुरु हुने गरी प्रतियोगिताको मिति तोकिएको थियो । कोर्टको मर्मत सम्भार गरी प्रतियोगिता आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment