Comments Add Comment

नेपाल-भारत सम्बन्ध चीनसँग तुलना गरिदिँदा दुःख लाग्छ

दीपकुमारको प्रश्न-चीन-चीन भनेर किन नेपाललाई टाढा बनाउन खोजिँदैछ ?

केपी शर्मा ओलीको सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको छ । कांग्रेसका पूर्व नेता समेत रहेका उपाध्यायमाथि सरकारले सरकार परिर्वतनको खेलमा लागेकोसहितका आरोप लगाएको थियो ।

नेपाल भारत सम्वन्ध र राजदूत फिर्ता बोलाउने नेपालको कदमबारे निवर्तमान राजदूत उपाध्यायसँग गरेको कुराकानी भारतीय न्यूज एजेन्सी एएनआईले अनलाइनखबरलाई उपलब्ध गराएको छ । प्रस्तुत छ, उपाध्यायसँगको कुराकानीको सम्पादित अंशः

Deep-kumar-Upadhyay
आजको दिनमा तपाई भारतका लागि नेपालको राजदूत हो कि होइन ?

हेर्नुस्, जबसम्म मैले भारतको भूमि छाडि्दँन । तबसम्म म राजदूत हुँ । तर, मैले हिजो मलाई राजदूतबाट पदमुक्त गरेको औपचारिक रुपमा सूचना पाएको छु ।

नेपाल सरकारले यसलाई नेपालको आन्तरिक राजनीतिक विषय बनेको छ । त्यस्तै हो ?

म पूर्व सरकारको समयमा नियुक्त भएको हुँ । अहिले नयाँ सरकार बनेको छ । हरेक सरकारको आफ्नो-आफ्नो प्राथमिकता हुन्छ, सोच हुन्छ ।

हो, केही असमझदारी पनि भयो । यदि मलाई समय दिएर पहिले नै भनेको भए आफ्नो खुसीले नै छाड्थेँ । तर, जुन प्रकारको समस्या थियो, त्यो समाधान होस् र सम्वन्ध सुमधुर होस् भनेर केही समय पर्खिएँ । यो कुनै ठुलो कुरा होइन । म खुसी नै छु । किनकी म राजनीतिक फिल्डबाटै आएको हुँ ।

तपाईलाई फिर्ता बोलाउनुअघि नेपालमा सरकार परिर्वतनको प्रयास भयो । कांग्रेसले प्रचण्डलाई समर्थन गर्‍यो । यो आवश्यक थियो ?

जबसम्म म भारतमा रहन्छु कूटनीतिक मर्यादालाई उल्लंघन गर्न चाहन्नँ । यति मात्र भन्छु नेपालमा ‘हङ पार्ल्यामेन्ट’ छ । त्यहाँ कस्तो गठवन्धन बनाउने भन्ने दलहरुमा भर पर्छ । त्यसमा कुनै व्यक्तिले प्रभाव पार्छ भन्नु गलत हो ।

भारतलाई लागेको छ कि नेपालमा एन्टी इण्डिया सेन्टिमेन्ट बनाउने योजना बुनिएको छ । हो ?

ताली कतिबेला बज्छ भन्दा दुबै हात चलेपछि मात्र । केही गल्ती त भएकै छ । भूकम्प आएपछि उद्धार तथा राहतमा भारतले निकै सहयोग गर्‍यो । र, एक परिवार जस्तै एकजुट भयो ।

तर, यति सहयोगपछि पनि सम्वन्ध खराब किन ?

मोदीको दुई पटकको भ्रमण, सुष्मा स्वराजको पाँच पटकको भ्रमणपछि राम्रो सम्वन्ध थियो । तर, संविधान बनेपछि केही मिस अण्डरस्ट्याण्डिङ रहृयो । आज जुन अवस्थामा हामी छौं, यदि यस्तै सोच, समझदारी र सहिषष्णुता देखाएको भए नेपालमा यति ठूलो जनधनको क्षती हुने थिएन ।

तर, भारतले संविधानको विरोध गरेन । तराई मधेसका जनताको अधिकार नखोसियोस् भनेको होइन र ?

म त्यही भन्दैछु । यो घरेलु समस्या थियो । र त्यसलाई सम्बोधन गर्न संविधानमा तत्काल भएको संशोधन भयो । बाँकी विषय पनि क्रमिक रुपमा सम्बोधन हुन्छ । संशोधनका लागि संसदमा दुई तिहाइ चाहिन्छ । संसद कुनै जुवाको खाल त होइन, जित हार हुन्छ । यसको आफ्नै प्रक्रिया हुन्छ र त्यसले समय लिन्छ । हामीले धैर्य राख्नुपर्छ ।

जतिबेला ओलीको सरकार बन्यो, त्यसबेला नै कुनै दिन प्रचण्डमा महत्वकांक्षा आउँछ भन्ने त वामपन्थीहरुलाई थाहा थियो । र, यो दिन त आउनु नै थियो होइन ?

राजदूत रहिरहँदा म कुनै पनि नेताका बारेमा कुनै टिप्पणी गर्नु उचित हुँदैन । यति मात्र भन्छु कि लोकतन्त्रमा नेताहरु पार्टीको निर्णयमा चल्नुपर्छ । हङ पाल्र्यामेन्टमा गठवन्धन महत्वपूर्ण हो । र, जस्तो निर्णय गर्छ, त्यही हुन्छ ।

के त्यही कारण हो तपाईलाई फिर्ता बोलाउनुको ?

म अघिल्लो सरकारबाट नियुक्त भएको हुँ । तर, नेपालको सामाजिक राजनीतिक जीवनमा मेरो पनि ४०/४५ वर्षको अनुभव छ । मेरा पनि साथीहरु छन् । त्यसैले त्यस्तो होइन । सोचाइको फरक होला । अरु कोहीले मैले भन्दा पनि राम्रो काम गर्न सक्छ भन्ने त्यसको प्रशंसा गर्छु ।
म चाहन्छु कि दुई देशको सम्वन्ध नविगि्रओस् । अहिले नेपालको मुख्य एजेण्डा शान्ति, स्थिरता र आर्थिक विकास हो । र, यसमा भारतको सहयोग अपरिहार्य छ ।

तर, त्यो सहयोग कसरी पाउँछ, जब सरकार राष्ट्रपतिको भ्रमण रद्द गर्छ ?

रद्द भएको छैन, स्थगित मात्र भएको हो । छिट्टै उचित समयमा भ्रमण हुन्छ । आगामी दिनप्रति सकारात्मक रोच राखौं ।

उसो भए अहिलेको भन्दा राम्रो सम्वन्ध हुन्छ ?

हुनैपर्छ । नेपालको प्रगतिका लागि सम्वन्ध विगारेर हुँदैन । हामी छिमेकी परिर्वतन गर्न सक्दैनौं ।

तर, महत्वकाक्षाको लडाइ चलिरहेको छ र, त्यहाँ चीन पनि देखिन थालेको छ । जब स्वार्थ टराउँछ कसरी भारतसँग राम्रो सम्वन्ध हुन्छ ?

भारतले यो कुरामा विश्वास गर्नुपर्छ कि नेपालसँगको सम्वन्ध अर्को कुनै देशसँग तुलना गर्न सकिँदैन । कहिले काँही तुलना हुँदा मलाई दुःख लाग्छ । भारतमा नेपाली जनसंख्याभन्दा धेरै नेपाली मुलका नेपालीभाषी भारतीय नागरिक छन् । भारतीय सेनामा १ लाख ३५ हजार पेन्सन होल्डर छन् । अहिले पनि ३५/३६ हजार काम गरिरहेका छन् । हरेक राज्यमा नेपाली छ । यस्तो सम्वन्धमा गर्व गर्नुपर्छ र बलियो बनाउनुपर्छ ।

जुन सम्वन्ध नेपाल र भारतको बीचमा छ, त्यस्तो कहिल्यै चीनसँग हुनसक्छ ?

यसमा हामी धेरै चिन्ता नगरौं । हामी चीनबाट आर्थिक सहयोग लिन सक्छौं । प्रविधि भित्र्याउन सक्छौं । तर, ट्रेड, ट्रान्जिट र स्थिर आपूर्ति अहिले सम्भव छैन । भूपरिवेष्ठित देश नेपालको चीनको समुन्द्रसम्मको दुरी कोलकत्ताको भन्दा ५०० प्रतिशत धेरै छ । यो कुरा भारत र यहाँका मानिसहरुले पनि बुझ्न जरुरी छ । चीन-चीन भनेर किन टाढा बनाउन खोजिँदैछ ? जनताको कुनै दोष छ । तर, तपाई दुःख दिनुहुन्छ भने आलोचना त हुन्छ नि ।

अब तपाई नेपाल फर्कँदै हुनुहुन्छ । नेपाल गएर फेरि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ?

नेपाल गएपछि त्यहाँको परिस्थितिको अध्ययन गर्छु । जे हुन्छ, नेपालको शान्ति, स्थायित्व, आर्थिक प्रगति र नेपाल-भारत सम्वन्धलाई सुमधुर बनाउन पूर्ण प्रयास गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment