Comments Add Comment

‘विचरा विप्लव ! सरकारले कालाजादु देखायो !’

'तत्कालै बैठक चाहियो, अध्यक्षको प्रतिवेदन गर्भश्राव भयो'

२९ फागुन, काठमाडौं । नेकपाका वैचारिक नेता घनश्याम भुसालले सरकार र सिके राउतवीच भएको सहमतिबारे छलफल गर्न तल्कालै पार्टीको स्थायी कमिटी बैठक बोलाइनुपर्ने माग गरेका छन् ।

सिके राउत प्रकरण र विप्लव समूहमाथिको प्रतिबन्धलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा भुसालले भने- ‘सरकारले कालाजादु देखायो ।’

यसअघि नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमा सिके राउतलाई ‘विखण्डनकारी शक्ति’ का रुपमा चित्रित गरिएको बताउँदै भुसालले उक्त प्रतिवेदन गर्भश्राव भएको बताए ।

पछिल्लो समय नेकपामा देखा परेको अन्योल लगायतका विषयमा अनलाइनखबरले नेकपा सांसद भुसालसँग गरेको विशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छः

पछिल्लो साता सिके राउतसँग गरिएको ११ बुँदे सहमति र विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धका कारण सत्तारुढ नेकपाभित्र ठूलै भूकम्प आएजस्तो देखिन्छ । तपाई चाहिँ यी दुई घटनालाई कसरी लिनुहुन्छ ?

प्रभाव र चर्चाका हिसावले दुबै घटना महत्वपूर्ण हुन् । तर, किन एकपछि अर्को यस्ता घटना घटिरहेका छन् भन्दा पनि कसरी भइरहेको छ भन्ने महत्वपूर्ण हुन्छ । म नेकताको एउटा जिम्मेवार व्यक्ति हुँ भन्ने हिसावले हेर्दा दुबै घटनामा पार्टी स्वयं के सोच्छ ? किनकि दुबैको परिणाम पार्टीले भोग्नुपर्छ । पार्टीका सदस्य, समर्थक, सुभचिन्तक सबैले भोग्नुपर्ने यसका प्रभावहरु छन् । यदि यसो हो भने तिनीहरुको बीचमा छलफल नहुने, जानकारी नहुने र अचानक नर्सरीको विद्यार्थीलाई काला जादु देखाएजसरी एकपछि अर्को घटना घट्दैछन् । पहिला त यो राम्रो भइरहेको छैन ।

किनभने, तपाई जतिसुकै राम्रो काम भन्नुस्, त्यो राम्रो हो कि होइन, त्यसको प्रकृयाले बताउने हो । त्यसको परिणाम र भविश्य के होला भन्ने प्रक्रियाले तय गर्ने हो । प्रक्रियाका हिसावले हामी जसरी जाँदैछौं, सिद्धान्त, राजनीति, प्रक्रिया र सिंगो देशको लोकतन्त्र कसरी चलाउँछौं ? हामी आफैं आन्तरिक लोकतन्त्रमा कति कमजोर छौं भन्ने यसले बताउँछ ।

यी परिघटनाको राजनीतिक पक्षबारे पछि चर्चा गरौंला । अहिले प्रक्रियागत पक्षमा कुरा गरौं । नेकपाको पछिल्लो स्थायी कमिटीको बैठकले सरकारबाट महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल गर्ने भनिएको थियो । सिके राउत र विप्लवबारे सरकारले पार्टीमा छलफल गरेन भन्न खोज्नुभएको हो ?

सिके राउतले बोलेको कुरा मैले २/३ पटक हेरेँ, लिखत हेरेँ । हामीभित्रको राजनीति, क्षेत्रीय राजनीति र अलि बाहिरको अन्तर्राष्ट्रिय राजनीतिको अहिलेको तानातानी, जसको प्रवाह/प्रभाव नेपालमा पर्छन्, त्यसलाई हेर्दा यसभित्र केही न केही छ भन्ने टुंगोमा पुगेको छु

मैले कुनै एउटा खास घटनाको मात्र कुरा गरेको छैन, समग्र प्रक्रियामा कुरा गरिरहेको छु । सिके राउत हाम्रो मुलुकको एउटा विखण्डनकारी समूह हो भनेर पार्टीले भनी आएको छ ।

अहिले भीम रावलजीका विषयमा एउटा कोणबाट कुरा उठिराखेको छ । भीम रावलजी यो पार्टीमा सिके राउतबारे सबैभन्दा पहिलो परिचय गराउने मान्छे हो । उहाँले फलो गर्नुभएको छ । यसर्थ भीम रावलको जुन भनाइ छ, त्यसलाई खेलबाडका रुपमा मात्र लिनुहुँदैन । भीम रावलले जे भनिरहनुभएको छ, कुनै पनि नेतासँग यसको जवाफ छैन । तर, यो सबै कुरा कहाँ आउँछ भने प्रक्रियामा गएन ।

तर, सिके राउतसँग सहमति गर्नुअघि नेकपाको सचिवालयमा त छलफल भयो नि हैन र ?

हामीले बुझ्दाखेरि सचिवालयमा दुई घण्टा अगाडि जानकारी दिएको हो । तर, यसै प्रष्ट के छ भने योभित्र धेरै कुराहरु भएका हुन सक्छन् । लिखत अरु पनि भएका छन् कि ? देखिएका दुई पक्ष बाहेक अरु पनि छन् कि ? ती सबैलाई अँध्यारोमा राखेर जे गरिएको छ, सबैलाई बेखबर राखिएको छ ।

नेकपाले अहिले पनि सिके राउतलाई विखण्डनकारी समूह नै मान्छ त ?

अहिलेसम्म, आजका मितिसम्म सिके राउत औपचारिकरुपले विखण्डनकारी समूह हो । तर, सरकारले अर्को थोक गरिदियो । पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । यसले गर्दा एकखालको अस्पष्टता, अन्योल थपिएको छ ।

तपाईहरु अब के गर्नुहुन्छ ? यसबारे छलफल गर्न पार्टीको बैठक माग गर्नुहुन्छ ?

बैठक त हामीले यो विषयमा मात्र होइन, जब सचिवालयका नाममा अध्यक्षहरुले स्थायी समितिले बनाएको कार्यदल विघटन गरे, त्यसबेला नै बोलाउनुपर्ने भइसकेको थियो । हामी त्यही बेलादेखि नै बैठक माग गरिरहेका छौं ।

यो घटनाले पार्टीभित्रको अस्तव्यततालाई अझ उजागर गरेको छ । त्यसैले छिटोभन्दा छिटो स्थायी कमिटीको बैठक बोलाउनुपर्छ । मैले त पहिल्यैदेखि भनेको छु, सचिवालयले काम गर्न सकेन । हरेक कुरा रहस्यमा जाँदैछन् । यत्रो ८ लाख फौज -पार्टी सदस्य) लाई बेखबर, बेरोजगार राखेर असाध्यै सानो टिमले काम गरेको देखाइँदैछ । यो तरिकाले पार्टीलाई राम्रो गरेको छैन । यसै अन्तरगत सिके राउतसँग भएको सहमति पनि आउँछ जस्तो लाग्छ ।

तपाईले कार्यदलको विघटन, सिके राउत प्रकरण र विप्लवमाथिको प्रतिवन्धबारे छलफलको माग गर्नुभएको हो ?

यो मात्र होइन, सरकारकै मूल्यांकन पनि छ । सुरुकै स्थायी कमिटीमा तुरुन्तै सरकारको मूल्यांकन गर्ने र सरकार र पार्टीको समन्वय गर्न एउटा विधि अपनाउने भनेर निर्णय गरेका थियौं, आजसम्म यो भएन । यसले पार्टी के हो ? सरकार के हो परिभाषित गर्नुपर्ने भएको छ । यी तमाम विषयमा छलफल गर्न हामीलाई तुरुन्तै बैठक चाहिएको छ ।

तत्काल बैठकको माग गर्दै पार्टीभित्र हस्ताक्षर संकलन गर्ने तयारी पनि छ कि ?

त्यहाँसम्म पुगिसकेका छैनौं । तर, बैठक बोलाउनुपर्‍यो भनेर सचिवालयका कमरेडहरुलाई भनिरहेका छौं । उहाँहरुले बोलाउन सक्नुभएको छैन । सचिवालय आफैं बैठक बसेर समाधान गर्ने सोच्न सक्नुहुन्न उहाँहरुले । मलाई लाग्छ, सचिवालयले करिब-करिब आजको पार्टीलाई लिड गर्ने अवसर गुमायो । त्यसैले स्थायी कमिटीले नै छलफल गर्छ । त्यसपछि केन्द्रीय समितिमा लैजान्छौं ।

अध्यक्ष प्रचण्ड चैतको पहिलो साता नै पत्नीको उपचारका लागि अमेरिका जाने तयारीमा हुनुहुन्छ । त्यसअघि नै स्थायी कमिटीको बैठक बस्न सम्भव होला र ?

यो त प्राविधिक कुरा भयो । सबैभन्दा पहिला सोचको कुरा भयो । यो सोच फेर्नुपर्‍यो । सोच फेर्न बैठक बोलाउनुपर्‍यो । पार्टीमा तल त्यत्रो उकुस-मुकस छ । विदेश जाने कुरालाई केही दिन सार्न पनि सकिन्छ ।

तपाई नेकपाभित्र राजनीतिक-वैचारिक नेता मानिनुहुन्छ, यसअघि अध्यक्षद्वयले पार्टीको स्थायी कमिटी बैठकमा संयुक्त राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यो संशोधन हुन बाँकी नै छ क्यारे । अब त्यसमा सिके राउतलाई हेर्ने दृष्टिकोणबारे संशोधन गर्नुपर्ने भयो हैन त ?

अध्यक्षले ल्याउने भनेकै थिएन, सचिवालयले संशोधन गरेर ल्याउने भनिएको थियो । तर, योबीचमा सचिवालयको गतिविधि हेर्दा त्यो आफैं सुतेर बसेको छ वा आफैं तस्त्र, थकित र निराश भएको हो कि के भएको हो, उसैले भन्नुपर्छ ।

अर्को, सिके राउतलाई के भन्ने ? मैले त यो उहाँहरुले ल्याउँदै ल्याउनुहुन्न भन्ने देख्छु । त्यो प्रतिवेदनको कम्तिमा त्यो खण्डको गर्भश्राव भइसक्यो ।

 अब, यो लफडाले नेकपाको एकता नै धरापमा पर्ने पो हो कि ? तपाईलाई कस्तो लाग्छ ?

पार्टी एकता प्रक्रिया होइन, आठ लाख फौजको संगठित शक्तिलाई जसरी कमजोर र एक हिसाबले विघटित बनाउँदै लगिएको छ, यसको मूल्य पार्टी, आन्दोलन र मुलुकले तिर्नुपर्छ । कसैको हितमा नभएको यो काम किन गरिँदैछ भन्ने मेरो प्रश्न हो ।

यी दुई प्रकरणपछि नेकपाका कार्यकर्ताले तपाईलाई सम्पर्क गरेर के भने ?

कन्फ्युजिङ छ । सामान्यतया जसले सपोर्ट गर्दैछन्, यो राम्रो होला भनेका छन् । विभिन्न सर्त राखेर समर्थन गरेका छन् । मजस्ता मान्छे, यो कन्फ्युजिङ छ है भन्दैछौं । धेरै मान्छे, यसको विपक्षमा छन् ।

तर, यो सारा रहस्य त्यसबेला खुल्छ, जब पार्टीमा छलफल हुँदा को-को थिए, कसरी थाहा भयो, आउँछ । मैले आफ्नो आन्दोलनमा हेर्दा धेरैजसो के देख्छु भने हामी आफैंभित्र कुरा लुकाउँछौं । हामीले जसलाई धेरै अन्योलभित्रका शक्ति मानेका हुन्छौं, उनीहरुलाई धेरै कुरा थाहा हुन्छ ।

अब यसको समाधान स्थायी कमिटी बैठक नै हो त ?

त्यो सुरुवात हो । बैठक बोलाउनासाथ समाधान हुने होइन । तर, बैठक बसेपछि छलफल हुन्छ । हामीले गरेका काम, कारण जनतालाई बताउँछौं र राष्ट्र सुसुचित हुन्छ ।

एउटा कुनै मन्त्रीले पत्रकार सम्मेलन गर्छ र आफ्नो भाषण गरिदिन्छ । त्यसमा उठेका प्रश्नहरुको उत्तर दिने कोही माईबाप हुँदैन । यसरी मुलुक नै गुमराहमा रहिरहन्छ । लोकतन्त्र गुमराहमा रहन्छ । त्यसैले बैठक बसेर यो कामको सुरुवात गरौंं । त्यहाँ समस्याको समाधान हुन्छ । भएन भने किन भएन भनेर कारण खोजिन्छ ।

अब ११ बुँदेमा रहेको ‘कन्टेन्ट’ मा प्रवेश गरौं । फागुन २४ गते सिके राउतसँग सरकारले गरेको सहमति राम्रोसँग पढ्नुभयो ?

पढेँ ।

त्यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

समग्रतामा सम्झौता के हो भनेर हेर्नुपर्छ, यसलाई टुक्राटुक्रा पार्नुको अर्थ छैन । आजका मितिमा त्यो समग्र सम्झौताले बोल्ने भनेको ‘नरो वा कुञ्जरो वा…. ‘ भनेजस्तै हो । यो नर हो वा कुञ्जर भनेको जस्तै छ । नर नै भइदिओस्, यो कामना गरौं ।

तर, मैले अघि पनि भनेँ, यो यसै भएको छैन । यसअगाडि थुप्रै पत्राचार भएको छ । हामीलाई गुमराहमा राखिएको छ । तर, बहुत धेरै मान्छेलाई पहिल्यै थाहा छ ।

फेरि, हामी कहाँ छौं भने बेल्ट एण्ड रोड इनिसिएटिभ र इण्डो प्यासिफक रणनीतिको तनातानीमा छौं । तीव्र तानातानमा छौं । यसको बाछिटा यहाँ छ कि छैन भनेर हेर्नुपर्छ । तत्कालका लागि एउटा विखण्डनकारीले आत्मसमर्पण गरेको छ भनेर मान्छेले भन्दैछन् । कोही पनि विखण्डनकारी बाटो छोडेर आउँछन् भने राम्रो हो । तर, यसोभन्दा हामी कता जाँदैछौं ? यो खुला छैन । हाम्रो आन्तरिक, क्षेत्रीय र विश्व राजनीतिबारे बहस गर्नुपर्छ र यसका लागि तुरुन्तै पार्टीको बैठक बोलाउनुपर्छ भन्ने लाग्छ ।

सहमतिको विषयवस्तुबारे भीम रावलले गरेको व्याख्यामा तपाई पनि सहमत हुनुहुन्छ ?

शब्दका हिसावले उहाँले भनेजस्तै देखिन्छ । बसेर छलफल गर्दा यो पनि कसैले प्रमाणित गर्ला कि, यो त्यतिकै जरुरी थियो । भीम रावलजीले जरुरी छैन भन्नुभएको छ । त्यसैले हामी शंकाको सुविधा दिऊँ ।

तर, अपारदर्शी क्रियाकलापले यो के हो, के हो भन्ने भयो । जबकि यस्तो महत्वपूर्ण कुरा राष्ट्रका नेताहरुले गर्दा दुनियाँलाई गुमराहमा राखेर गर्नै हुँदैन ।

तपाईहरुले सरकारमाथि शंका मात्रै धेरै गरेको पो हो कि ?

शंका नै हो मैले गरेको । तर, सिके राउतले बोलेको कुरा मैले २/३ पटक हेरेँ, लिखत हेरेँ । हामीभित्रको राजनीति, क्षेत्रीय राजनीति र अलि बाहिरको अन्तर्राष्ट्रिय राजनीतिको अहिलेको तानातानी, जसको प्रवाह/प्रभाव नेपालमा पर्छन्, त्यसलाई हेर्दा यसभित्र केही न केही छ भन्ने टुंगोमा पुगेको छु । यो मेरो हाइपोथेसिस हो, नेतृत्वले प्रष्ट पारोस् भन्ने चाहन्छु ।

पछिल्लो नेपालको राजनीतिलाई हेर्दा हामीकहाँ जसरी मान्छेहरु आएका छन्, पश्चिमका आएका छन्, अमेरिकाका आएका छन्, चाइनिजहरुले चासो देखाएका छन् । केहीकेही ठाउँमा अमेरिकी सहायकमन्त्री र चाइनिज राजदूतको अप्रत्यक्ष भनाभन देखा पर्‍यो ।

यो सबैभित्र नराखी, यो अलग कुरा हो भनेर मचाहिँ मान्न तयार छैन । यहाँभित्रैबाट हेर्नुपर्छ । त्यसोगर्दा हामीले ठिकै गरेका छौं ? अँ ठिकै गरेका हुन सक्छौं । तर, प्रमाणित गर्नुपर्छ । भनेर मात्र हुँदैन । मैले भन्ने गरेको छु, म भ्रष्टाचार गर्दिनँ भन्नु पर्याप्त छैन, नगर्नुपर्छ । त्यसैले गलत नगरेको पुष्टि नगर्दासम्म गर्नेहरुमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई चाहिँ कसरी लिनुहुन्छ ?

विप्लवलाई ल्याएर जेल हाल्यौं भने पनि हाम्रो जस्तो भूराजनीति मुलुकमा जहिले पनि कुनै न कुनैखालको उग्रवादको सम्भावना रहिरहन्छ । हरेक उग्रवामलाई बन्दुकले समाधान गर्छु भन्नु भनेको लामो समयसम्म अशान्त द्वन्द्वमा रहिरहने हो, बन्दुकको आवाज सुनेरै बाँच्नु हो

यसलाई दुई तरिकाले हेर्नुपर्छ । एउटा, बम पड्काउने, चन्दा उठाउने, जनता तर्साउने । यस्तो कुरालाई सहिँदैन भन्छ सरकार । बम पड्काएको, चन्दा उठाएको र जनता तर्साएको कुरा मात्र हेर्दा सरकारले भनेको सही हो ।

तर, यसको इतिहास पनि छ । त्यो भनेको लेफ्ट मुभमेन्टको इतिहास हो । यसरी हेर्दा विप्लव कस्तो शक्ति हो ? आतंककारी शक्ति हो वा राजनीतिक शक्ति हो ? स्वयं पार्टीलाई थाहा छैन । यस हिसावले हामीले कहिल्यै पनि विप्लव समूहलाई अराजनीतिक वा आतंककारी शक्ति भनेका छैनौं । जो आतंककारी, विखण्डनकारी शक्ति होइनन् र उनीहरुमाथि प्रतिबन्ध लगाइयो भन्ने हो भने सरकार र पार्टीको आजको धारणा मिलेन ।

यस हिसाबले अब पार्टीले के भन्ने ? हिजोसम्म हामीले राजनीतिक नै हो कि भनेका थियौं । आज अचानक सरकारले अराजनीतिक भनिदियो । तल्लो पंक्ति जहाँ आजसम्म कुराकानी नै भएको छैन । कस्तो के गर्‍यो भने आतंककारी हुन्छ भन्ने छलफल हुनुपर्ला नि ?

दोस्रो, विप्लवहरुको गतिविधिलाई हामी यत्रो ठूलो संसदमा दुई तिहाई भएको शक्तिले राजनीतिक-सैद्धान्तिक हिसावले नै परास्त गर्न सक्नुपथ्र्यो र सकिन्छ भन्ने लाग्छ । किनभने, मार्क्सवादको कखरा जानेको मान्छेलाई तपाईले सोध्नुभयो भने विप्लवको राजनीतिका असाध्यै धेरै विरोधाभाष छन् । अझ महत्वपूर्ण कुरा त, उसले जे गर्दैछ र जे भन्दैछ, त्यसमा विरोधाभाष छ ।

उसको दस्तावेजमा लेखेको छ, वैज्ञानिक समाजवाद ल्याउन आजको चरण राष्ट्रिय पूँजी विकास गर्ने चरण हो भन्छ । अनि बम बोकेर हिँड्छ । राष्ट्रिय पूँजी विकास गर्ने पार्टीले बम बोकेर हिँड्छ कि हिँड्दैन ? सशस्त्र गतिविधि गर्छ कि गर्दैन ? यसको तादाम्य मिल्छ कि मिल्दैन भनेर सोध्यो भने विप्लवसँगै जवाफ छैन ।

त्यसैले विप्लवजीले जे गर्दै हुनुहुन्छ र सैद्धान्तिक रुपमा जहाँ टेक्दै हुनुहुन्छ, त्यो असाध्यै नमिल्ने छ । यस्तो कुरालाई राजनीतिक-सैद्धान्तिक  रुपमा नियन्त्रण गर्न नसक्नु हामी कम्युनिस्टहरुका लागि ठूलो लज्जावोधको विषय हो । मचाहिँ यस्तो शक्तिमाथि राजनीतिक- सैद्धान्तिक रुपमा, राजनीतिक-सामाजिक परिचालनमार्फत नै विजय हासिल गर्नुपर्छ भन्ने मान्दछु । नभए, विप्लवलाई ल्याएर जेल हाल्यौं भने पनि हाम्रो जस्तो भूराजनीति मुलुकमा जहिले पनि कुनै न कुनैखालको उग्रवादको सम्भावना रहिरहन्छ । ती हरेक उग्रवामलाई बन्दुकले समाधान गर्छु भन्नु भनेको लामो समयसम्म अशान्त द्वन्द्वमा रहिरहने हो, बन्दुकको आवाज सुनेरै बाँच्नु हो ।

तपाईहरुको कुरै बुझिँदैन, एकातिर राजनीतिक हिसावले हल गर्नुपर्छ भन्दै सिके राउतसँग भएको सहमतिको पनि विरोध गर्नुहुन्छ, अर्कोतिर विप्लवलाई ठोक्नुपर्छ भन्दा पनि विरोधै गर्नुहुन्छ । यो त सरकारका हरेक कामको विरोध गरेको जस्तै भएन र ?

होइन, होइन । सिके राउतसँग भएको सहमतिको मैले विरोध गरेको छैन । ठीक भयो कि भएन, परिणाम हेर्नुपर्छ भनेको छु ।

यिनीहरुले जेको पनि विरोध गर्छन् भनेर अहिले हामीलाई प्रोजेक्ट गरिएको छ । तर, म फेरि पनि भन्छु, मैले देखेको सिके राउतसँग गरेको ११ बुँदे हो । त्यो हेरेर कुन पण्डितले के व्याख्या गर्छ ? स्थायी सत्ता पक्षले के व्याख्या गर्छ ? भीम रावलजीले जे प्रश्न उठाउनुभएको छ, त्यसको जवाफ के छ ? त्यसको उत्तर हुँदैन । त्यसैले, मैले विरोधमात्र गरेको छैन । सिके राउत पृथकतावाद छाडेर आएकै हुन् भने स्वागत गर्नुपर्छ । यो मुलुकका लागि राम्रो कुरा हो । तर, आएकै हुन् त ? यसका लागि त विश्वसनीय आधार त हुनुपर्‍यो नि । हावाको भरमा हो आएकै हुन् भनेर भन्नु ? वा आएकै होलान् । तर, केही शर्त त छैन ? यिनी शान्तिपूर्ण नै आउलान्, झण्डासण्डा पनि फालिदेलान्, भोलि चुनावमा पनि आउलान् वा हामीले नै मनोनयन पनि गरौंला । अथवा अहिलेको राजनीतिजस्तै प्रवेश पनि गर्लान् । तर, यो हुँदा कतै हामीलाई ठूला शक्तिहरुले घुस खुवाएका त छैनन् ? यो प्रश्नको उत्तर कसले दिन्छ ?

हाम्रोजस्तो मुलुकमा यस्ता प्रश्नमा छलफल गरेनौं भने त हामी सकिन्छौं । त्यसैले सिके राउतबारे मैले विरोध गरेको मात्र छैन, प्रक्रियामा ठूलो त्रुटी, कालाजादुवाला तरिका छ, यो गलत छ । सिके राउतसँग भएको सहमति राम्रै होला, विप्लवको प्रतिबन्ध पनि राम्रै होला तर, अन्ततः यसको परिणाम राम्रो हुँदैन ।

तपाई कालाजादु, कालाजादु भनिरहनुभएको छ । यो भनेको चाहिँ के हो ?

खाली झोलाबाट निकालेर चकलेट बाँड्ने, परेवा निकाल्ने ! कागज राखेर पैसा निकाल्ने, सर्प देखाएर सबैलाई तर्साउने । नर्सरीको विद्यार्थीलाई गर्छन् नि, हामीले पनि त्यो हेरेरै आएका हौं । म यस्तोमा विश्वास गर्दिनँ । यस्तो राजनीति चल्दैन ।

यसलाई विधि र प्रक्रियामा नल्याउने हो भने मचाहिँ यो कालाजादु हो भन्ने मान्छु । यस्तो काम भविश्यमा पनि कालाजादु नै हो । यस्तोमा जादुगर, सामान पुर्‍याउने र पर्दाभित्र बस्ने मात्रै जानकार हुन्छन् । अरु सबैलाई अचम्मित पार्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment