+
+
Shares

बैंक घोटाला प्रकरण : पक्राउ परेका मिश्र एमालेका केन्द्रीय सदस्य, हारेका थिए चुनाव

एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो । तर, उनले निर्वाचन जित्न सकेनन् । अहिले त्यहाँ नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते २२:१०

१८ असार, काठमाडौं । कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेको छ ।

मिश्र सत्ताको नेतृत्व गरेका दल एमालेका केन्द्रीय सदस्य हुन् भने जिविस सभापति पनि भइसकेका व्यक्ति हुन् । मिश्रलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

बाँकेमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइने सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

मिश्र विसं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।

स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए ।

एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो ।

तर, उनले निर्वाचन जित्न सकेनन् । अहिले त्यहाँ नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर छन् ।

विष्टले २३ हजार ४६० मत ल्याएर विजयी हुँदा पशुपति दयाल मिश्र भने ११ हजार ६७५ मत प्राप्त गरेका थिए ।

मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्र् प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

पक्राउ परेकाहरूलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।

यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?