Comments Add Comment

सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त संरक्षण अपरेशन सुरु

Chitwan-National-Park
चितुवन राष्ट्रिय निकुञ्जमा स्थापित संयुक्त संरक्षण अपरेशन कक्ष

२३ जेठ, चितवन । नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जले आइतबारदेखि संयुक्त संरक्षण अपरेशन सुरु गरेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि गतिविधि सञ्चालन गर्न श्रीजंग गण र चितवन राष्ट्रिय निकुञ्ज मुख्यालयले संयुक्त संरक्षण अपरेशन कक्ष स्थापना गरेका छन् ।

सो कक्षको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आइतबार उदघाटन गरे । श्रीजंग गणको २ सय ३३ औं वार्षिकउत्सव र विश्व वातावरण दिवसको अवसर पारेर कक्षको उदघाटन गरिएको हो ।

संयुक्त संरक्षण अपरेशन कक्षमा निकुञ्ज र नेपाली सेनाका ५ जना कर्मचारीहरुलाई लगातार एक हप्तासम्म खटाइन्छ । एक हप्तापछि पाँच जनाको अर्को टोली खटाइन्छ ।

अपरेशन कक्ष उदघाटन गर्दै प्रधानसेनापति क्षेत्रीले सरकारी कर्मचारीहरुसँग मिलेर पहिलोपटक वन र वन्यजन्तुको संरक्षणका लागि नेपाली सेनाले यस्तो कामको सुरुवात गरिएको भन्दै उच्च मनोबलका साथ काममा खटिन निर्देशन दिए ।

चोरी शिकारी नियन्त्रणसँगै निकुन्ज र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन संयुक्त संरक्षण अपरेशन सुरु गरेको निकुन्जका मुख्य संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । ‘रियल टाइम बेस’का आधारमा कक्षबाट अपरेशन सुरु हुने उनले बताए ।

सीसी टिभी क्यामरा, ड्रोन गस्ती, मोटरसाइकल गस्ती लगायतका काम संयुक्तरुपमा एउटै कक्षबाट थप प्रभावकारी रुपमा गराइने श्रीजंग गणका गणपती माधव थापाले जानकारी दिए ।

उनले भने, ‘हामीले संरक्षणका लागि बिभिन्न गस्ती र पेट्रोलिङ गरेका थियौं । जुन निकुन्ज र सेनाको छुट्टा छुट्टै थियो । संयुक्तरुपमा गर्दा थप प्रभावकारी हुने देखेर संयुक्तरुपमा गरेका हौं ।’

यसका अतिरिक्त नेपाली सेनाको महाहन्ट अपरेशन पनि जारी राखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको संरक्षणका लागि नेपाली सेनाको ४१ वटा निकुन्जको ३६ वटा पोष्ट छन् । नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षसम्म लगातार शून्य चोरी शिकार वर्ष मनाउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment