Comments Add Comment

देशभरका प्रहरी हिरासत सीसी क्यामराको निगरानीमा

CC-TV-Camera
फाइल तस्वीर

२८ जेठ, काठमाडौं । नेपाल प्रहरीले हिरासतभित्रका थुनुवा र ड्युटीमा खटिने प्रहरीको निगरानी गर्न देशभर सीसी टिभी क्यामरा जडान गर्ने भएको छ । कतिपय प्रहरी कार्यालयहरुमा सीसी टिभीबाट निगरानी सुरु गरी सकिएको छ ।

प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु हुने गरेको तथा प्रहरी र थुनुवाको साँठगाँठ हुने गरेको लगायतका घटनाले प्रहरी संगठनलाई नै बदनाम बनाउन थालेपछि सीसीटिभीमार्फत् निगरानी गर्न लागिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले देशभरका हिरासत कक्षमा सीसी टिभी क्यामरामार्फत् निगरानी गर्ने व्यवस्था मिलाइने बताए । ‘प्रहरी माथि लाग्ने आरोप र थुनुवाहरुको गतिविधि नियाल्न पनि सीसी क्यामेरा राख्नु पर्ने भएको छ,’ एआइजी शर्माले भने ।

सीसी टिभी क्यामरा जडान भएपछि थुनुवालाई सुरक्षित बनाउने र घटनाको सत्य तथ्य पत्ता लाग्ने प्रहरीको विश्वास छ ।

‘कतिपय प्रहरी चौकीहरुको भौतिक संरचना यस्तो छ कि सेन्ट्रीले हिरासतमा रहेकालाई निरन्तर निगरानीमा राख्न सक्तैन । त्यति बेला जे पनि गर्न सक्छन्, कोही हिरासतमै आत्महत्या गर्छन्,’ एआइजी शर्माले भने, ‘त्यसैले अब हिरासतमा सीसी क्यामेरा जरुरी भैसकेको छ ।’

काठमाडौंका केही प्रहरी वृत्तमा हिरासतको निगरानी गर्न सीसी टिभी क्यामरा जडान गरिसकिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुले आफ्नो कार्यालय परिसरमा तीनवटा सीसी क्यामेरा राखेको छ । कार्यालय भित्र प्रवेश गर्ने, परिसरबाट हिरासत कक्षतिर जाने र हिरासत भित्र के भइरहेको छ भनेर हेर्न क्यामेरा राखिएको हो ।

‘प्रहरी कार्यालयभित्र जस्ता मान्छे पनि आउँछन् । हिरासतमा प्रहरीले मान्छे कुट्यो भन्ने आरोप पनि लाग्छ,’ बालाजु वृत्तका डिएसपी संजिव शर्माले भने, ‘प्रहरी माथि आउने आरोपमा र कार्यालयमा आउनेहरु सबैका लागि सीसी क्यामेराले निगरानी गर्छ । यसले कार्यालय र थनुवा सबैलाई सुरक्षित पनि बनाउँछ ।’

महाराजगञ्ज वृत्तका डिएसपी विश्वमणि पोखरेलले पनि केहि महिना अघि मात्रै हिरासतलाई सीसी क्यामेराले निगरानी गर्ने व्यवस्था मिलाएका छन् । महाराजगञ्ज वृत्तको हिरासत डिएसपीको कार्यकक्षको सामुन्ने छ । त्यसैले थुनुवाको गतिविधि निगरानी गर्न पनि सजिलै छ तर पनि सुरक्षाको लागि सीसी क्यामेरा राखिएको डिएसपी पोखरेल बताउँछन् ।

उनले थुनुवा र हिरासतमा सेन्ट्री बस्ने प्रहरीको निगरानीका लागि दुई वटा सीसी क्यामेरा राखेका छन् । सीसी क्यामेराले थुनुवासँगै उनीहरुलाई को-को भेट्न आए र के-के गरे भनेर निगरानी गर्न पनि सजिलो भएको डिएसपी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment