Comments Add Comment

एसएलसी नतिजा असार पहिलो साताभित्र, प्राप्तांक रुजु गर्ने काम जारी

कर्मचारीलाई ग्रेडिङले गाह्रो

Examination Controller

३० जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसएलसी परीक्षाको नतिजा असार पहिलो साताभित्र सार्बजनिक गर्ने तयारी गरेको छ । अहिले उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक रुजु गर्ने काम भइरहेको छ ।

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले अनलाइनखबरसँग भने, ‘अबको एक हप्ताभित्र सबै काम सकिन्छ कि, त्यसपछि रिजल्ट निकाल्छौं ।’

उनले अहिले प्राप्तांक रुजु गर्ने काम भइरहेको जानकारी पनि दिए ।

ग्रेडिङले गाह्रो !

एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।

यस वर्षदेखि मार्कसिटमा पास, फेल र फर्स्ट डिभिजन, सेकेन्ड डिभिजन लेखिने छैन । त्यसको सट्टा मार्कसिटमा ‘ए’, ‘बी’, ‘सी…’ ग्रेड लेखिने छ ।

सबै विषयमा प्राप्तांकअनुसार ग्रेड निर्धारण गर्नुपर्ने भएकाले केही प्राविधिक कठिनाइ भएको परीक्षा नियन्त्रक काप्रीले बताए । ‘सबै विषयको ग्रेड निर्धारण गर्नुपर्ने भएकाले केही कठिनाइ त छ तर पनि जतिसक्यो छिटो परीक्षा प्रकाशित गर्ने तयारीमा छौं,’ काप्रीले भने ।

यसपालीको एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकतर्फ ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।

प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्राले परीक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment