Comments Add Comment

भूकम्पपीडितमा आफ्नो नाम छुटेको भन्दै प्रशासनमा धर्ना

राजनीतिक पूर्वाग्रह राखिएको आरोप

Sindhupalchowk Thangpal Dhap after earthquake३१ जेठ, सिन्धुपाल्चोक । सरकारले अन्तिम क्षति सर्भेक्षण गर्ने क्रममा आफ्नो नाम छुटाएको जनाउँदै करिब पाँच सय पीडितले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय र पुनःनिर्माण कार्यालयको सम्पर्क कार्यालयमा धर्ना दिएका छन् ।

बाडेगाउँ, नवलपुर, कुन्चोक, भोटसिपा, सिपापोखरे र सिम्पाल काभ्रे गाविसका गरी करिब ५०० बासिन्दाले सरकारले खटाएका प्राविधिकले पीडितको लगत सङ्कलन गर्ने क्रममा आफूहरुको नाम छुटाएकाले नाम समावेश गर्नका लागि माग गर्दै धर्ना दिएको बाडेगाउँ-३ का शंखरनाथ न्यौपानेले जानकारी दिए ।

प्रशासन कायार्लयमा पीडित पक्षका तथा प्राधिकरण सम्पर्क कार्यालय र जिप्रकाका प्रतिनिधिबीच सोही विषयमा छलफल भएको छ ।  पीडितहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् ।
आफूहरुको नाम पीडितका सूचीमा समावेश नगर्दासम्म विरोधको कार्यक्रम जारी रहने पीडितले बताएका छन् ।

भूकम्पले क्षति पुर्‍याएको सिन्धुपाल्चोकका धेरै गाविसमा अन्तिम सर्भेक्षणका क्रममा  पीडितको नाम छुटेको उनीहरुको भनाइ छ ।

लामो समयदेखि त्यही बसोबास गर्दै आएका भएपनि राजनीतिक पूव्राग्रहका आधारमा धरै पीडितको नाम छुटेकोले त्यसको सम्बोधान गर्न पीडितहरुले जिल्ला प्रशासन र प्राधिकरणलाई दबाब दिएका हुन् ।

भूकम्पका समयमा स्थायी रुपमा त्यही बसोबास गरेकालाई  पुर्वाग्रह पूर्बक पीडितको सूचीबाट हटाउने खेल भइरहेको न्यौपानेले बताए । उनले भने ‘राजनीतिक पहुँचका आधारमा एकै घरमा बसोबार गर्नेले पनि दुई तीन जनाको नाममा पीडित कार्ड र अनुदान लिएका छन्, तर गाउँमै बसोबास गरिरहेका बास्तविक पीडित भने छुटाइएको छ,’ उनले थपे ‘यसले राज्यले गाउँमा बसोबास गरिरहेकाहरुलाई गाउँ छोड्न बाध्य पार्दै छ ।’

बास्तविक पीडितको माग सम्बोधान नभए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

जिल्लाका धेरै गाविसमा स्थानिय राजनीतिक दलका नेताहरुले आफ्ना पक्षका कार्यकर्ताको लागि मात्र काम गरेका कारण भूकम्पपीडितहरु समस्यामा पर्दै आएका छन् ।  वर्षा लागिसक्दा समेत टहरामा बस्न बाध्य उनीहरुले अनुदान नपाउँदा जीवन थप कष्टकर बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment