Comments Add Comment

करिश्मा: भुईँचालोमा धेरै खाएर मोटाएँ

नेपाली चलचित्र जगतकी सदाबहार सुन्दरीका रुपमा चिनिन्छिन् करिश्मा मानन्धर । बढ्दो उमेरमा पनि आफ्नो सौन्दर्य र फिटनेसलाई दुरुस्त राख्न सफल अभिनेत्री भनेर उनको प्रशंसा हुने गर्छ ।

पछिल्लो समय करिश्मा राजनीतिमा होमिएर थप चर्चामा आएकी छिन् । डा. बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति नेपालकी नेतृ हुन् उनी । उनै नायिका करिश्मासँग उनको सौन्दर्य र फिटनेसबारे अनलाइनखबरका लागि ऋचा अर्यालले गरेको कुराकानीः

karisma Manandhar (2)

तपाईको तौल कति छ ?

पहिले फिल्ममा व्यस्त हुँदा ४८ केजी थिएँ । पछि अमेरिकामा गएपछि जङ्क फुड ज्यादा खान थालियो । त्यसबेलादेखि तौल बढेर ५५ देखि ६० को बीचमा हुन थाल्यो । अहिले पनि यही बीचमा भएकोले घटाउने प्रयास गर्दैछु ।

फेरि ४८ मै फर्किन खोज्दै हुनुहुन्छ ?

४८ मै फर्किने भनेको हैन । उमेर बढ्दै जाँदा तौल साह्रै कम भएको पनि राम्रो देखिँदैन । केही बढेकै राम्रो हुन्छ जस्तो लाग्छ ।

फेरि मेरो जीउडाल ‘प्लम्प’ (पोटिलो) खालको छ । घट्न असाध्यै गाह्रो हुन्छ । दुई छाक भात खाए मात्र पनि असाध्यै छिटो लाग्छ । त्यसैले म दुई छाक भात त कहिल्यै खान्नथेँ । तर भुर्इँचालो आए पछि के भयो कुन्नी खानालाई धेरै ‘इन्ज्वाई’ गर्न थालेछु । के कति कारणले भयो, त्यो त थाहा छैन । तर लगातार भुईँचालो आइरहँदा खाना खाइरहुँ जस्तो लाग्थ्यो । त्यसबीचमा धेरै नै तौल बढेछ ।

तौल घटाउन के-के गर्नु भयो ?

गएको अगस्टबाट फिटनेश सेन्टर जान थालेकी छु । त्यसभन्दा पहिले घरमै ‘वर्क आउट’ गर्थे । तर, त्यो पर्याप्त लागेन । त्यसैले हेल्थ क्लब जाँदा अरुले गरेको देखेर भए पनि उत्प्रेरित भइन्छ जस्तो लाग्यो । यसलाई निरन्तरता दिएपछि भने आफू पहिलेकै स्वरुपमा आएको महसुस भइरहेको छ ।

तपाईंको खानपानको दैनिकी कस्तो छ ?

सबै दिन एउटै हुँदैन । तैपनि हप्ताको पाँच दिन चाँहि एकनासको खाना खाने तथा समय मिलाएर खाने प्रयास गर्छु । त्यसबाहेकका दुई दिन चाहिँ त्यति ध्यान दिन्न । त्यसरी खाँदा एक छाक भात खान्छु भने एक छाक सुप, सलाद, रोटी लगायतका खानेकुरा खान्छु । विहान मेवा लगायतका फलफुल खान्छु । एउटा अण्डा थप्न थालेकी छु । त्यसबाहेक हरेक आधा घण्टामा एक गिलास पानी पिउँछु ।

बाहिर निस्केको बेला स्न्याक्स र ममः खान्छु । ममः स्वास्थ्यका लागि राम्रो त हैन । तर, मिठो लाग्छ । ममः ले एकदम मोटाइने हुँदा महिनामा २/३ पटकमात्र खाने गर्छु ।

पार्टीमा जाँदा के-के खानुहुन्छ ?

पार्टीमा जाँदा सकेसम्म प्रोटिनयुक्त खाना खान्छु । कार्वोहाइड्रेडयुक्त खाना कम खान्छु ।

आफ्नो फिगरलाई मेन्टेन गरिराख्न कत्तिको गाह्रो महसुस हुन्छ ?

पहिले त खासै ध्यान दिन्नथेँ । सुरुमा इनर्जी लेवल पनि धेरै हुन्थ्यो । फेरि काम पनि यति हुन्थ्यो कि व्यायामको जरुरी नै पर्दैनथ्यो । दिनभरी काम गरिन्थ्यो र खानाको टुङ्गो हुँदैनथ्यो । त्यसबेला आफैं शरीर सन्तुलनमा रहन्थ्यो ।

तपाईंको विगतदेखिको फिटनेस अनुभव सुनाइदिनुस् न ?

छोरी जन्माउँदा म जम्मा २१ वर्षकी थिएँ । तर, मेरो तौल भने ६५-७० केजी पुगेको थियो । हिरोइन भइरहन मैले तौल घटाउन आवश्यक थियो । मोटी हिराइनलाई हेर्न को हलमा आउँछ ?

बच्चा भएपछि महिलाको जीउ खुकुलो हुनथाल्छ । त्यसलाई कसिलो बनाउनको लागि पनि वर्क आउट गर्न जरुरी थियो । त्यसैले त्यही बेलादेखि मैले तौल घटाएर फिट रहन सुरु गरे । शरीरलाई पुरानै अवस्थामा ल्याउन धेरैै मेेहेनत गरेँ ।

एउटी हिरोइनका लागि फिटनेसका कति महत्व छ ?

मेरो विचारमा वर्कआउट हिरो-हिरोइनले मात्र गर्नुपर्छ भन्ने होइन । यो त सबैका लागि महत्वपूर्ण छ । उमेर चार दशक पार गरेपश्चात शरीरमा विभिन्न रोगहरु लाग्न थाल्छ ।

अझ तीस कटेपछि नै चिनी रोग, उच्च रक्तचाप, बाथ लगायतका समस्या देखा पर्न थाल्छन् । त्यसको लागि पनि फिटनेस जरुरी छ । यो सुन्दर रहन तथा राम्रो देखिनको मात्र आवश्यक पर्ने कुरा हो जस्तो लाग्दैन ।

घरबाट बाहिर निस्कँदा के-के कुराहरुमा विचार पुर्‍याउनुहुन्छ ?

म घरबाट हिँड्दा पहिल्यै सोचविचार गरेर हिँड्छु । जस्तैः आज दिनभर बाहिरै हुन्छु । साँझ मात्र घर जान्छु । त्यसरी बाहिर निस्कँदा मैले आज यहाँ के पाउँछु ? के खान सक्छु भनेर पहिले नै विचार गरिरहेको हुन्छु । जस्तै यहाँ (फिटनेस सेन्टरमा) अण्डा, मिक्स फ्रुट, जुस, चना र रोटी मैले खान मिल्ने खानेकुरा हुन् ।

karisma Manandhar

लाजिम्पाट गएँ भने मैले त्यहाँ के खान सक्छु भनेर सोचिरहेको हुन्छु । त्यसरी खाँदा स्वास्थ्यवर्द्धक होस् भन्नेमा विशेष ध्यान दिने प्रयास गर्छु । हाम्रो दिनचर्यामा अचम्मको हुन्छ, कहाँ पुगिन्छ थाहा हुँदैन । यत्ति हो कि विहान भात नखाएको दिन बेलुकी जानासाथ भात खान्छु । दिनमा एक पटक भात खानुपर्छ जस्तो लाग्छ ।

छाला राम्रो देखाउन पनि कार्वोहाइडेडयुक्त खाना चाहिन्छ । फुलफुलले काम त गर्छ । तर, प्रोटिनले मात्र पनि हुँदैन । दिनमा एकपटक खाना आवश्यक पर्छ जस्तो लाग्छ ।

अहिलेका हिरोइनको फिटनेसबारे के भन्नुहुन्छ ?

अहिलेका हिरोइनहरु धेरै फिट छन् । म आउँदा जम्मा १४ वर्षकी थिएँ । बच्चा नहुँदासम्म मैले यसबारे खासै ध्यान दिएको थिइनँ । तर, अहिलेका युवतीहरु धेरै जागरुक छन् । जीउको आवश्यकताबारे पहिलेदेखि नै ध्यान दिन्छन् । जीउको कुन हिस्सा बढाउने र कुन भागलाई यथावत् राख्ने भन्ने जानकारी उनीहरुलाई छ । जबकी हामीले यसबारे बल्ल ध्यान दिन थालेका छांै । यो मानेमा अहिले आउने कलाकारहरु धेरै ‘लक्की’ र ‘एडभान्स’ छन् जस्तो लाग्छ ।

मानिसलाई फिट रहन के-के जरुरी हुन्छ ?

पहिलो कुरा त दिनचर्या नै हो । तपाई दिनमा १२ घण्टा काम गर्नुहुन्छ । यही कामले तपाईको स्वास्थ्य निर्धारण गर्छ । यदि तपाई त्यति बेला फिट हुनुहुन्न भने तपाईले अरु काम गर्नै सक्नुहुन्न । त्यसैले दिनचर्या र आफुले गर्ने क्रियाकलाप सही हुनुपर्छ ।

त्यसका बाबजुद तपाईले व्यतित गर्ने अन्य १२ घण्टा पनि सन्तुलित हुन जरुरी छ जस्तो लाग्छ । त्यो समय सन्तुलित भएन भने त्यसले तपाईको शरीरलाई नै असर गर्न सक्छ । त्यसबोहक मानिस खुशी रहन पनि जरुरी छ । मानिस जति सम्पन्न भएपनि ऊ खुशी र सुखी छैन भने त्यसको अर्थ रहँदैन ।

बिरामी परेर अस्पताल गएको क्षण ?

बच्चा हुँदा बाहेक विरामी नै परेर अस्पताल गएको कुनै सम्झना छैन । तैपनि वर्षमा एकपटक होल बडी चेकअप गर्छु ।

स्वास्थ्य सम्बन्धि कुनै टिप्स ?

आफ्नो शरीरको आवाज सुन्नुहोस् भन्न चाहन्छु । हरेक कुरा तपाईको शरीरले बताइरहेको हुन्छ । कुनै दिन चाँडै उठ्न मन लागेन भनेर नउठ्नुस्, आफ्नो शरीरमाथि जर्बजस्ती नगर्नोस् भन्न चाहन्छु ।

हाम्रो शरीर भनेको अमुल्य चिज हो । आइफोन-६ जस्तै । भित्रको सफ्टवेयर सबैको एउटै भए पनि बाहिरी रुप रङ्ग राम्रो हुनुपर्छ । यो नभए भित्र जति राम्रो भए पनि काम दिँदैन भन्ने लाग्छ ।

तपाई अहिले नयाँ शक्तिमा पनि हुनुहुन्छ । पार्टीले आफ्नो विधानमा योगलाई पनि समावेश गरेको छ । किन ?

योगलाई म एकदम मान्छु । योे शरीरको लागि पनि अत्यावश्यक छ । जसरी एउटा गाडीलाई समय समयमा ‘सर्भिसिङ’ गराउनुपर्छ, हाम्रो दिमागलाई पनि सर्भिसिङ गराउनु पर्छ जस्तो लाग्छ । किनकी हाम्रो दिमालाई धेरै कुराले असर पारिरहेको हुन्छ । चाहे त्यो सकारात्मक होस् वा नकारात्मक । दिमागमा भएको कुरा व्यवहारमा झल्किने हुँदा त्यसलाई हटाउन पनि योग, साधना जरुरी छ जस्तो लाग्छ । यसले मानिसलाई परिवर्तन गर्छ र खराब अचारणलाई हटाउन यसले ठूलो भुमिका खेल्छ ।

एकाग्रता, लक्ष्यप्राप्ति तथा संयमका लागि पनि योग जरुरी छ । यस्तो विषयलाई नयाँ शक्तिले विधानमा राख्नु अवश्य नै राम्रो कुरा हो । तर, यसलाई पार्टीले लागु गरेको छैन ।

समग्रमा करिश्मा कस्तो मानिस हो ?

म एकदमै ‘फन लभिङ पर्सन’ हो । अस्ति राति दुई बजेसम्म हामीले पार्टी गरेका थियौं । त्यतिबेला नै मैले ‘भोलि दिउँसो एक बजेसम्म सुत्छु’ भनेर सोचिसकेको थिएँ । त्यो भनेको व्यवस्थित हुनु हो । कुनै पनि काम गर्दा सोचेर गर्नुपर्छ जस्तो लाग्छ ।

यहाँसम्म आइपुग्दा करिश्मा मानन्धरको सौन्दर्यको राज के हो ?

अरु त केही छैन । यति हो कि हप्ताको पाँच दिन केही न केही गरिरहेकै हुन्छु । चाहे स्विमिङ्ग होस्, चाहे हिँड्ने होस् वा फिटनेस सेन्टर जाने होस् ।


सौन्दर्यको हकमा तपाईंसँग नछुट्ने कुरा के-के हुन् ?

त्यस्तो त केही पनि छैन । खासै क्रिम यही नै चाहिन्छ भन्ने छैन । फेसियल गर्नमा पनि म एकदमै अल्छी छु । धेरै कुरा छन्, जो म गर्दिन । यति हो कि म जे गर्छु, मनैदेखि गर्छु ।

तपाईंलाई मन पर्ने-मन नपर्ने कुरा ?

मैले पहिले पनि भनिसके कि म धेरै ‘फन लभिङ’ छु । मेरा साथी १८ वर्षमुनीका पनि छन् । ४० वर्ष माथिका पनि छन् । युवाहरुसित कुरा गर्दा उनीहरु धेरै सकारात्मक हुन्छन् । त्यसैले पनि म उनीहरुमाझ बस्न रुचाउँछु । मलाई अरुको बारेमा नचाँहिदो कुरा गर्ने तथा खोट देखाउने मान्छे मन पर्दैन । जे देखे पनि हाँस्ने मान्छे मनर् ।

राजनीति र फिल्म जगतबीचको फरक के पाउनुभयो ?

अहिलेका मानिसलाई राजनितिबारे थाहा हुनुपर्छ र यसबारे सचेत हुनुपर्छ भन्ने लागेर नै म राजनीतिमा आएकी हुँ । त्यसमा पनि डा. बाबुराम भट्टराई मेरो आदर्श व्यक्ति हुनु भएकाले पनि म यसतर्फ तानिएको हुँ ।

मेरो नजरमा कुनै पनि कार्यक्षेत्र सजिलो हुँदैन । राजनीति भनेको पनि ‘टिम वर्क’ नै हो । यसमा विभिन्न सोच, विचार भएका मान्छे हुन्छन् । त्यहाँ गएर आफ्नो सोचाई र भनाइमा अरुलाई सहमत गराउनु पर्छ । यो अरु क्षेत्रभन्दा निकै गाह्रो क्षेत्र हो ।

सिनेमामा काम गर्दा मैले ‘एक्टिङ’ मा मात्र ध्यान दिँदाहुन्छ । तर, राजनितिमा तपाईले भनेका कुरा अरुलाई मन नपर्न सक्छ । त्यसैलाई मिलाएर लानु नै राजनिति हो जस्तो लाग्छ ।

म आफुलाई संयम सकारात्मक राख्ने प्रयास गर्छु । त्यो मेरो काम हो । त्यो मेरो सेवारुपी काम हो । त्यो सँगै आफुलाई पनि त हेर्नुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment