Comments Add Comment

प्रहरीद्वारा तातोपानीमा बाटो मर्मत

Bhotekoshi, Photo Shreedhar Neupane (9)
९ साउन, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा करिब तीन साताअघि आएको बाढीले कटान गरी क्षतविक्षत तुल्याई पैदल हिँड्नसमेत असुविधा हुँदै आएको तातोपानीमा प्रहरीद्वारा बाटो मर्मत गरिएको छ ।

कोदारीस्थित सीमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब ४० जना सम्मिलित टोलीले शनिबार दिनभर श्रमदान गरी नौ किलोदेखि सीमापुलस्थित लिपिङसम्मको पाँच किमी गोरेटो बाटो मर्मत गरेको हो ।

“नदी कटानले पक्की सडक भोटेकोसीमा मिसाएपछि पैदल हिँड्नसमेत कठिनाइको सामना गरिरहनुपरेको थियो”, सीमा प्रहरी कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले भने  – “स्थानीयवासीलाई केही राहत मिलोस् भन्ने उद्देश्यले पैदल हिँड्न सक्ने गरी बाटो मर्मत गरेका हौँ ।”

तातोपानी क्षेत्रमा दैनिक रुपमा पानी परिरहेकाले नदीको बहाव बढिरहेको हुँदा तातोपानीको १० किलोदेखि लिपिङसम्मका थुपै्र घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

असार २१ गते राति चीनबाट आएको बाढीले विद्युत् पोल तथा ट्रान्सफर्मरसमेत बगाएको हुँदा विद्युत् अवरुद्ध भएको छ । बाढीले एनसेलको टावर बगाएको र टेलिकमको टावर मौजुद रहे पनि विद्युत् अभावले तातोपानी, फुल्पिङकट्टी, लिस्ती, मार्मिङ, गाती र घुम्थाङसहित छ गाविसमा सञ्चार सम्पर्कसमेत बिच्छेद भएको छ ।

प्रहरीका अनुसार बाढीले कटान गरी तातोपानी गाविसमा पक्की, कच्ची र टहरासहित ९० र बाह्रबिसे गाविसमा पाँच घर गरी हालसम्म ९५ वटा घर बगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment