Comments Add Comment

उच्च रक्तचापबाट बच्न ध्यान दिनैपर्ने कुरा

High_Blood_Pressure

काठमाडौ । शरीरलाई आवश्यक पर्ने भन्दा बढी मात्रामा नुनको सेवनले उच्च रक्तचापको जोखिम बढ्ने गर्छ । उच्च रक्तचाप भएमा मुटु, मिर्गौला र मस्तिष्कलाई समेत हानी पुर्‍याउँछ ।

यसबाट बच्न उच्च रक्तचाप भएका मानिसले प्रतिदिन तीन ग्राम अर्थात एक चिया चम्चा भन्दा अलिकति कम नुन खानु नै उपयुक्त हुन्छ ।

कतिपय मानिसमा के भ्रम छ भने तीन ग्राम भन्नासाथ खाना बाहेकको तीन ग्राम भन्ने बुझ्दछन् । तर त्यो गलत हो । त्यसमा दिनभरीको सम्पूर्ण खाना समावेश हुन्छ ।

जस्तो चाउचाउमा दुई ग्राम नुन पहिले नै समावेश हुन्छ । त्यस्तै समोसा, पिज्जा लगायतका नुनिलो खानेकुरामा समेत पहिले नै नुनको मात्रा बढी हुन्छ ।

यसबाट बच्न पश्चिमी देशहरुले केही समय यता ड्यास (डि.ए.एस्.एच्) डाइट अर्थात डायट्री एप्रोच टु स्टप एपिटाइजरको अवधारणा अघि सारेका छन् ।

यो अवधारणा अनुसार एण्टी अक्सिडेण्ट भएको खानेकुरा जस्तै फलफुल तथा सागसब्जीलाई प्राथमिकतामा राखेर खाना खानाले पनि रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

त्यसबाहेक, नुनिलो खाना बार्न सकेको खण्डमा पनि हामीले उच्च रक्तचाप नियन्त्रण गर्न सक्छौं । त्यस्तै, बोटविरुवाबाट पाइने फाइटाकेमिकल्सयुक्त खानेकुराको सेवनले पनि उच्च रक्तचाप कम गर्न सकिन्छ ।

फाइटोकेमिकल्समा प्रशस्त मात्रामा औषधीय गुणहरु पाइन्छ । यो केमिकल्स मुख्यतया बोटविरुवामै पाइन्छ । यो विशेषगरी फलफुल, सागसब्जी, अन्न, बदाम लगायतमा पाइन्छ । यसको नियमित सेवनले रक्तचापलाई तुरुन्तै नियन्त्रण नगरेपनि यसले दीर्घकालीन रुपमा उच्च रक्तचापसित लड्ने काम गर्छ र विस्तारै-विस्तारै रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

फाइटोकेमिकल्स लसुन (लसुनमा फाइटास्ट्रोजेन नामक औषधी पाइन्छ), अदुवा, दालचिनी, कागती, लौका, करेला, मेथी आदिमा पाइन्छ ।

यी तत्वहरुमा फाइटोकेमिकल्स पाइन्छ । यसलाई नियमित रुपमा हाम्रो खानामा समावेश गर्न थालियो, थोरै मेथी फुराउने ठाउँमा धेरै फुराउन थालियो अथवा लौका तथा करेलाको तरकारी खान थालियो भने फाइदा हुन्छ । फलफुलमा केरा वा स्याउ खान थालियो, लसुन, अदुवा र दालचिनी खानामा हालियो भने पनि यसले उच्च रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

अझ कागतीले उच्च रक्तचाप कम गर्नुका साथै नुनको कमीले हुने खल्लोपनलाई कम गर्दछ । यसले गर्दा दीर्घकालीन रुपमा पनि उच्च रक्तचापलाई कम गराउँदै लैजान्छ ।

उच्च रक्तचाप भएका विरामीहरुलाई लिएर गरिएको अध्ययनले समेत के देखाएको छ भने उच्च रक्तचापका विरामी जसलाई ड्यास डाइटमा राखिएको थियो र नुनिलो पदार्थको सट्टा बढी फाइटोकेमिकल्सयुक्त खानेकुरा खुवाइनुका साथै फलफुल तथा सागसब्जी बढी मात्रामा खुवाइएको थियो । जसबाट उनीहरुको रक्तचाप जथाभावी खानेकुरा खानेको तुलनामा कम तथा नियन्त्रित हुँदै गएको पाइएको थियो ।

यसको अर्थ पनि के हो भने उच्च रक्तचाप भएका मानिसले यसको नियन्त्रणका लागि सकेसम्म नुुनमा भन्दा बढी फाइटोकेमिकल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ ।

(डाइटीसियन भुपाल बानिँयासितको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment