Comments Add Comment

नयाँ मन्त्री आउनासाथ किन फेरिन्छन् सचिव ?

पूर्वसचिव भन्छन्- सचिवहरुको सातो गयो, अब फर्काउनुपर्छ

२६ भदौ, काठमाडौं । ‘मन्त्रीज्यूले गलत काम गर्दा फलानो सचिवले रोक्यो भन्ने कहिल्यै सुन्नुभएको छ ?’

नयाँ मन्त्री आउनासाथ सचिव सरुवा किन हुन्छ भन्ने प्रश्न सुन्नासाथ पूर्वसचिव एवं लोकसेवा आयोग प्रमुख उमेश मैनालीले अनलाइनखबरसँगै प्रतिप्रश्न गरे ।

Umesh-Mainaliपछिल्लो समय निजामती कर्मचारीप्रति निकै आक्रामक देखिएका पूर्वप्रशासक समेत रहेका मैनाली भन्छन्, दुईखाले अतिवादी प्रशासकले ध्वस्त पारे । एकथरि मलाई यहाँ राख्नु भो भने म हुने सबै काम पनि गर्छु, नहुने काम पनि गर्छु भन्ने ग्याम्लर (जुवाडे)हरु छन् । एकथरी विवादमा परिन्छ भनेर कामै नगर्ने छन् । फाइल आइहाल्यो भने पनि फलानोको राय लिनू भनेर घुमाइदिने ।’

‘सचिवहरुले नै आफ्नो क्षणिक लाभका लागि पदको गरिमा र आफ्नो जिम्मेवारीमा सम्झौता गरे, भन्नुस् न, एउटा मिल्दै नमिल्ने काम थियो । तर, मन्त्रीज्यूले भन्नुभो भनेर गरिदिने ।’

मैनाली भन्छन्, यसले उनको पद त्यहाँ कायमै राख्यो होला तर, व्यवसायिक मूल्यहरु सिद्धियो । र, विस्तार राजनीतिले अव्यवसायीकरण गर्दै लग्यो । त्यो ढोका कसले खोल्यो भन्दा यही ब्युरोक्रेटहरुले ।’

मैनालीका अनुसार मन्त्री र सचिव एकअर्कालाई चेक अन ब्यालेन्स गर्दै अघि बढ्नुपर्ने हो । सार्वजनिक प्रशासन चुनावबाट नआउने भएकाले उसको हेड चुनावबाट आउने बनाइएको छ ।

तर, सचिवले आफ्नो क्षणिक लाभका लागि पदीय गरिमामा सम्झौता गरे भने मन्त्रीले एस म्यान खोजे । पूर्वसचिव मैनाली भन्छन्, मन्त्रीले कसलाई राम्रो भन्ने ? जसले आफूलाई नपच्ने कुरा पनि भन्न सक्छ । मन्त्री ज्यू यो भएन भन्छ, त्यो सचिवलाई राम्रो भन्नुपर्छ । तर, अहिले त जसले हुने नहुने सबै काम गरिदिन्छ, उहाँहरुलाई च्यापेर लिएर जानुहुन्छ ।’

हामीले सोध्यौं, उसो भए अब सचिवहरुमा सही र गलत भन्ने क्षमता नै छैन त ?

‘त्यो विस्तार क्षयीकरण भएको हो । बढुवा र सरुवामा आफ्ना मान्छे भनेर तान्ने र चित्त नबुझ्नासाथ फ्याँक्ने परम्परा रहृयो, यसले थिलथिलो भएका छन् । अब यिनीहरु (सचिव)को आँट नै छैन, सातो हराएको छ । गाउँघरमा बच्चाको सातो गएछ, सातो फिर्काउनुपर्छ भन्छन् नि । त्यस्तै सातो गएको सचिवहरुको छ ।’

मैनालीका अनुसार केही ‘भाग्यमानी’ (सचिव) छन्, जसलाई सरकार परिवर्तनले असर गर्दैन । उनीहरु पहिले भन्दा राम्रो ठाउँमा मात्र जान्छन्, नराम्रो भएको छैन । ‘केही न केही त क्षमता होला पनि । यहाँ सबै किन खोल्नु । क्षमता होला र त राम्रो ठाउँमा जानुहुन्छ’ मैनाली भन्छन्, तर अधिकांशमा सरुवा आतंक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment