Comments Add Comment
महामारीमा प्राणवायुको अभाव :

उत्पादन हुने जिल्लामै रोकिन थाल्यो अक्सिजन, अस्पतालले विरामी घर पठायो

अक्सिजन उद्योग नभएका र कम भएका जिल्लाहरू समस्यामा

३१ वैशाख, काठमाडौं । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाले शुक्रबार १० बिरामीलाई डिस्चार्ज गर्‍यो । अस्पतालमा उपचाररत ६२ जनामध्ये ९ जनालाई घर पठाइएको छ भने एकलाई काठमाडौंको अस्पतालमा। केहीलाई छिमेकी सिन्धुलीलागतका जिल्लाका अस्पतालमा पठाउने तयारी छ भने थोरै मात्रै गम्भीर अवस्थाका बिरामी राख्ने योजना बनेको छ ।

अस्पतालका अध्यक्ष राजेश प्रसाइँका अनुसार चितवन, नवलापरासी, बारा, पर्सा लगायतका जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति रोकिएको छ । अस्पतालमा मौज्दात अक्सिजनले केही घण्टा मात्र पुग्ने भएपछि बिरामीको अवस्था हेरेर कम गम्भीरलाई घर र केहीलाई अर्को अस्पतालमा पठाइएको छ ।

अस्पतालहरुले पछिल्लो दिनमा अक्सिजन आपूर्तिमा समस्या झेल्दै आएको नौलो होइन । तर अब उद्योग भएका जिल्लाले अघोषित रुपमा अर्को जिल्लामा अक्सिजन आपूर्तिमै अघोषित रोक लगाउन थालेपछि भने अस्पतालहरु समस्यामा परेका छन् । नेपालमा सीमित जिल्लाका मात्रै अक्सिजन उद्योग छन् भने धेरैजसो जिल्लाका स्वास्थ्य संस्था अन्य जिल्लाका उद्योगबाट अक्सिजन आपूर्ति गर्छन् ।

शुक्रबार हाइफ्लो अक्सिजन दिइरहेका बिरामीकै उपचारमा समस्या अएपछि हेटौंडा अस्पताल प्रशासनले बिहीबार बेलुकीबाटै प्रदेश सरकारका गृहमन्त्रीदेखि मुख्यमन्त्रीलाई गुहारेको थियो । ‘जति पहल गरेपनि अक्सिजन सकिने बेलासम्म नपाइने निश्चित भयो,’ अस्पतालका अध्यक्ष प्रसाइँ भन्छन्, ‘त्यसपछि हामीले दिउँसो हात उठायौं ।’

शुक्रबार मध्यान्हमा अस्पतालले सूचना नै निकालेर ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दात रहेको भन्दै बिरामीहरुलाई सकेसम्म अन्यत्र लगेर ज्यान बचाउन अनुरोध गर्‍यो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे पनि नियमित रुपमा अस्पतालमा अक्सिजन आपूर्ति गरिरहेका उद्योग र सम्बन्धित जिल्लाको प्रशासनले आन्तरिक खपत बढेको भन्दै अक्सिजन दिन नसक्ने बताएपछि यो अवस्था आएको हो ।

‘हामी ती उद्योग र प्रशासनलाई दोष दिन चाहन्नौं, उहाँहरुको प्राथमिकता स्वतः पहिला आफ्नो जिल्लाको माग पुरा गर्नेमा हुन्छ,’ प्रजिअ पाण्डेले भने,’ उहाँहरुकै जिल्लामै अभाव भएकाले हामीलाई दिनुभएन भनेर गुनासो गर्नु पनि भएन ।’ उनका अनुसार अक्सिजन आपूर्तिको जिम्मा नेपाली सेनालाई दिन लागिएको छ किनकी सेनाको गाडी पुग्दा प्राथमिकता पाइने अपेक्षा छ ।

मकवानपुरले छिमेकी बारा, पर्सा, चितवन र नवलपरासीका विभिन्न उद्योगबाट फरक-फरक परिमाणमा अक्सिजन ल्याउँछ । तर, शुक्रबार अधिकांश उद्योगले स्थानीय प्रशासनको निर्देशन भन्दै अक्सिजन पठाउन नसक्ने बताएका थिए ।

अस्पतालले हात उठाएपछि हतार-हतार विभिन्न पक्षले गरिदिएको जोहोले शुक्रबारको सम्भावित संकट टरेपनि भविष्यमा के हुने हो भन्ने अनिश्चित छ ।

अक्सिजन नपाएपछि हेटौंडास्थित दुईवटा निजी अस्पतालले कोभिड-१९ संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेका छन् । शुक्रबार दिउँसो संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै हेटौंडा-१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलले दैनिक ३० सिलिन्डर अक्सिजन पाउन नसकेको भन्दै उपचार गर्न नसकिने बताएका हुन् । ती अस्पतालमा १० जना कोरोनाका संक्रमित छन् । यि अस्पतालले पनि अन्य जिल्लाबाट अक्सिजन ल्याएर सेवा दिइरहेका थिए ।

चितवनमा पनि भयावह अवस्था :प्रजिअ 

महामारीअघि अन्य जिल्लालाई अक्सिजन पठाउने चितवनलाई आफ्नो जिल्लामा हुने उत्पादनले मागअनुसार आपूर्ति धान्न छाडिसकेको थियो । महमारी बढेपछि अरु जिल्लाबट ल्याएको अक्सिजनबाट माग जसोतसो धानिरहँदा अब भने चितवनमा पनि समस्या चर्किएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि अर्को जिल्लाबाट अक्सिजन आपूर्ति कठिन बन्दै गएको बताउँछन् । उनका अनुसार जिल्लामा हजारभन्दा बढी संक्रमित उपचाररत छन् । ३३३ जना आईसीयू र २०० भन्दाबढी एचडीयूमा उपचाररत छन् । उनीहरुका लागि चाहिने अक्सिजन व्यवस्थापन गर्न सकस हुन थालेको प्रजिअ लामिछानेले बताए ।

‘चितवनमा दैनिक १२ सय सिलिन्डर माग छ, तर, जिल्लामा समग्र उत्पादन ८ सय सिडिन्डर हो,’ उनले भने, ‘अहिलेसम्म अरु जिल्लाबाट आएका र मौज्दातमा रहेका सिलिन्डरले धानिएको थियो, अब पर्सा, कास्की, रुपन्देही र काठमाडौंका उद्योगबाट अक्सिजन आउन लगभग रोकिएको छ, स्थिति भयावह भइसक्यो ।’

अरु जिल्लाका अस्पतालले जसरी उपचाररत बिरामीलाई अन्यत्र पठाएर चितवनले व्यवस्थापन गर्न नसक्ने उनले बताए । ‘अक्सिजनको विकल्प अक्सिजन मात्रै हो, अरु जिल्लाबाट अक्सिजन आपूर्ति रोकिए यहाँ डरलाग्दो अवस्था आउनसक्छ,’ उनले भने ।

चितवनमा अहिले पनि अन्य जिल्लाबाट उपचारका लागि संक्रमितहरु ल्याउने क्रम उच्च छ । २५ वटा निजीसहित दुई वटा मेडिकल कलेज र सरकारी तवरका भरतपुर क्यान्सर अस्पताल र भरतपुर अस्पताल चितवनमा ६० प्रतिशतभन्दा बढी बिरामी बाहिरी जिल्लाका छन् । तर, बिरामी बढेअनुसार अक्सिजनको आपूर्ति बढ्न नसक्दा चितवनमा समस्या पनि गहिरिँदै गएको छ ।

उत्पादक जिल्लामै अभावको त्रास 

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे जिल्लामा ४५० भन्दाबढी बिरामीलाई अक्सिजन दिनु परेको छ । ‘हाम्रो जिल्लामा दिनमा मुस्किलले ११ देखि १२ सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ,’ उनले भने, ‘पछिल्लो दिनमा जिल्लाभित्रै माग बढेकाले अन्यत्र हुने आपूर्ति घटेको छ ।’ स्थानीय तवरमा बढ्दो मागले अन्य जिल्लामा जाने अक्सिजनको मात्रा घट्दै गएको घिमिरेले बताए ।

बारामा दैनिक २५० सिलिन्डर भर्नसक्ने एउटा प्लान्ट छ । तर, स्थानीय माग त छँदैछ, छिमेकी ज्लिाबाट पनि उत्तिकै माग आएको छ । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र क्षमताअनुसार उत्पादित अक्सिजन अरु जिल्लामा पठाउन नरोकिएको बताउँछन् । ‘तर, अक्सिजन भर्न लामो समय कुर्नपर्ने हुनसक्छ,’ उनले भने, ‘क्षमता सीमित र माग उच्च हुँदा व्यवस्थापन गर्न कठीन छ ।’

पूर्वी नवलपरासीका ग्यास उद्योग पनि चितवनबाहेक अन्यत्र अक्सिजन पठाउन नसक्ने बताएका छन् । नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी जिल्लाभित्र एउटा मात्रै अक्सिजन प्लान्ट रहेकाले जिल्लाभित्रै पुर्‍याउन सकस परिरहेको बताउँछिन् । ‘कुनैदिन माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न कठीन हुने रहेछ,’ उनी भन्छन्,’अप्ठेरो पर्दा अरु जिल्लालाई कहिलेकाँही उपलब्ध गराउँछौं, तर अब झन-झन असहज भएको छ ।’

पूर्वी नवलपरासीमा बन्द रहेको एउटा पुरानो प्लान्ट सञ्चालन गर्ने तयारी भइरहेको भन्दै उनले बताइन् । ‘जिल्लाभित्रै प्लान्ट हुनेलाई त यति सकस छ भने प्लान्ट नै नभएका जिल्लालाई झन कति गाह्रो होला,’ प्रजिअ पंङ्गेनीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

ट्रेन्डिङ

Advertisment