Comments Add Comment

कोरोना नियन्त्रणमा भुटानी मोडल, जुन अहिले संसारभर चर्चामा छ

भुटानका प्रधानमन्त्री लोते छिरिङले दुई दिन अगाडि विश्व प्रसिद्ध टेलिभिजन च्यानल सीएनएनमा एक लाइभ अन्तर्वार्ता दिए ।

जुन अन्तर्वार्ताबारे अहिले विश्वभरि चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तेस्रो विश्वका साना र गरीब मुलुकको बारेमा सकारात्मक समाचार एकदमै कम र नकारात्मक समाचार बढी सम्प्रेषण गर्दछन् । सीएनएनले अन्तर्वार्ता लिएको विषयलाई भुटानका प्रधानमन्त्री स्वयंले पनि आश्चर्यकै रूपमा लिएका रहेछन् । उनले अन्तर्वार्ताको शुरूमा भने, ‘मलाई आश्चर्य लागेको छ, तपाईंले भुटानलाई कसरी भेटाउनुभयो, सामान्यतः हामी त्यति सुनिंदैनौं तर म वास्तवमा नै खुशी छु किनकि तपाईंले हामीलाई रिचआउट गर्नुभयो ।’

यतिवेला सीएनएनले भुटानी प्रधानमन्त्रीको अन्तर्वार्ता लिनुको कारण भने कोरोना महामारी नियन्त्रणमा भुटानले प्राप्त गरेको सफलताको बारेमा संसारलाई जानकारी गराउनु थियो । साथै, देशभित्र कोरोना नियन्त्रण गरेर महामारीको सामना गरिरहेको भारतलाई अक्सिजन सहयोग गरेका कारण पनि भुटान यतिवेला अन्तर्राष्ट्रिय जगतमा निकै चर्चामा छ ।

हुन पनि भुटानमा अहिलेसम्म कोरोनाको कारणले एक जनाको मात्र मृत्यु भएको छ । बुधबारसम्म भुटानमा १ हजार २४१ जना संक्रमित भएका छन् भने सक्रिय केस १५२ मात्र रहेको छ ।

सन् २०२० को मार्च महीनामा नै भुटानमा कोरोनाको पहिलो केस देखिएको थियो । उसो त चीनमा कोरोना देखिनासाथ नै भुटानले रोकथामका उपायहरू अवलम्बन गरेको थियो । उसले त्यसलगत्तै विदेशी पर्यटकहरूलाई भुटान प्रवेशमा रोक लगाएको थियो । यति मात्र होइन, देशभित्र प्रवेश गर्ने आफ्ना नागरिक र विदेशीलाई १६ दिने निकै कडा अनिवार्य क्वारेन्टाइन गरिएको थियो ।

कोरोनाको परीक्षण र अन्य पूर्वाधार निर्माणका लागि प्रधानमन्त्री मात्र होइन, राजपरिवार समेत फिल्डमै खटिएको थियो, लामो समयसम्म । सरकारी संरचनाले काम गरेको वा नगरेको सम्बन्धमा उच्च तहबाट नै बारम्बार स्थलगत निरीक्षण समेत भएको थियो।

कोरोना नियन्त्रणमा मात्र होइन, खोप कार्यक्रममा समेत भुटानले सफलता प्राप्त गरेको छ । १६ दिनको अवधिमा भुटानले ९३ प्रतिशत प्रौढलाई पहिलो चरणको खोप लगाइसकेको छ भने दोस्रो चरणको खोप कार्यक्रमको लागि भारत लगायत अन्य मुलुकसँग कुराकानी गरिरहेको छ । अबको केही हप्तामा नै दोस्रो चरणको कार्यक्रम संचालन गर्नुपर्ने भएकाले भारतबाट सम्भव नभए अन्य मुलुकबाट खोप ल्याउने तयारी भुटान सरकारले गरेको छ जुन जानकारी प्रधानमन्त्री छिरिङले सीएनएन अन्तर्वार्ता मार्फत पनि जानकारी गराएका छन् ।

यति मात्र होइन, आर्थिक र अन्य स्रोत सीमित भएको भुटानले महामारीविरुद्ध लडिरहेको भारतलाई केही अक्सिजन समेत सहयोग गरेको छ । भुटानका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment