१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका १० वटा कम्युनिस्ट घटकहरुबीच एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको छ ।
भृकुटीमण्डपमा आज आयोजित एकता सम्मेलनले नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजकमा माधवकुमार नेपाललाई अनुमोदन गरेको छ । एकता सम्मेलन सभाबाट प्रचण्डले यो दिन कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक बनेको दाबी गरे ।
‘यो दिन कसैले बिर्सन सक्नेछैन,’ प्रचण्डले भने, ‘एउटा दुईटा कम्युनिस्टहरू त मिल्ने गरेको थियो, तर दश वटा कम्युनिस्टहरूको एकता अभूतपूर्व हो, असाधरण हो ।’
साँझ परिसकेकाले संक्षेपमा कुरा राख्ने भनेपनि ३३ मिनेट बोलेका प्रचण्डले पार्टी एकताको पृष्ठभूमि र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे व्याख्या गरेका थिए । उनका अनुसार जेनजी विद्रोहकै कारण एकताको आधार सिर्जना भएको हो ।
‘तपाईं युवाहरुको आन्दोलनले हामीलाई राम्रैसँग घोच्यो । सुशासनको एजेण्डा उठाउनुभयो, पार्टीहरू सच्चिनुपर्छ भनेर भन्नुभयो,’ प्रचण्डले भने, ‘यदि त्यस्तो नभएको भए अर्को विभाजनमा जान सक्थ्यौं, तपाईंहरुको कारणले एकता गर्यौं ।’
यद्यपि कम्युनिस्ट आन्दोलनका मुख्यघटक एमाले र माओवादीका नेताहरूको पृष्ठभूमिले पनि एकतामा बल पुगेको प्रचण्डले बताए । जसक्रममा पञ्चायतकालीन समयको स्मरण गरेका थिए ।

‘हामी एउटै पार्टीमा थिएनौं । माधव नेपाल एमालेका तर्फबाट सबै वार्तामा सहभागी हुनुहुन्थ्यो, र म मसालको तर्फबाट सबै वार्ता सहभागी थिएँ,’ पञ्चायतकै बेला माधवसँग आफ्नो सम्बन्ध रहेको प्रचण्डले बताए ।
पञ्चायतपछि पनि संवाद हुँदै भएको र जनयुद्धको समयमा वार्ता नै गरेको उनले बताए ।
‘… एमाले र माओवादीबीच पहिलो माइन्यूट रोल्पाको लोसेवाङ भन्ने ठाउँमा पहिलो हस्ताक्षर गर्यौं । हाम्रोतिरबाट म र बाबुराम भट्टराई, एमालेतिरबाट वामदेव गौतम र युवराज ज्ञवाली । यो एउटा इतिहास हो, जसले हामीलाई १२ बुँदे समझदारी बढ्न उत्प्रेरित गर्यो ।’
शान्ति प्रक्रियामा आएपछि झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले भूमिका खेलेको सम्झँदै प्रचण्डले आज एउटै पार्टीमा हुँदा असाध्यै खुशी भएको बताए । ‘मैलै धेरै जुक्ति बुद्धि लगाएर झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको हो । र खुशी छु आज, हामी सबै एउटै ठाउँमा छौं,’ प्रचण्डले भने ।
एकता घोषणा सम्मेलनका मुख्य वक्ता प्रचण्डले तत्कालीन नेकपाकालीन समय भने सम्झेनन् । जबकी आज मञ्चमा सँगै बसेका यी नेताहरुसँग २०७५ सालमै प्रचण्डले एउटै पार्टीमा काम गरिसकेका छन् ।

२०७४ सालको चुनावमा वाम गठबन्धन र लगत्तै एमालेसँग माओवादीको एकता भएको थियो । एकतापछि बनेको त्यो नेकपाको ९ सदस्यीय सचिवालयमा केपी ओली, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल थिए ।
तर आन्तरिक मतभेद बढ्दै जाँदा नेकपाको एकता कायम रहेन । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनर्स्थापना गर्ने फैसला सुनाउँदा तत्कालीन नेकपा छिन्नभिन्न हुन पुग्यो ।
एमाले पनि फुट्यो । माधव नेपाल र झलनाथ खनालहरूले २०७८ भदौमा एकीकृत समाजवादी गठन गरे । वामदेव गौतमले छुट्टै समूह बनाए ।
नेकपा विभाजनले माओवादी पनि सग्लो रहेन । ओलीलाई साथ दिने रामबहादुर थापा, लेखराज भट्टहरु एमालेतिरै रहे ।
यसरी नेकपा छिन्नभिन्न भएको चार वर्षपछि फेरि प्रचण्ड–माधवहरुले एकताबद्ध हुने निर्णय गरेका छन् । र, तत्कालीन नेकपाका शीर्ष ९ नेता मध्ये यो एकतामा ५ जना (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) एकठाउँ उभिन पुगेका छन् ।
वामदेव गौतम केही समय अघि मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यसैले एकतामा सामेल हुन पुगे ।
झलनाथ खनाल यो एकता प्रक्रियामा आज बिहान मात्र सामेल भएका हुन् । हिजो राति मात्र गुन्डु पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका खनालले एकीकृत समाजवादीभित्र यथास्थितिमा एकता गर्न नहुने अडानमा लिएका थिए । उनी पक्षका नेताहरुको छुट्टै समूह तयार थियो ।

तर प्रचण्डसँग वार्ता गर्दै एकता प्रक्रियामा सामेल भए । ‘म केही ढिलो आएकै हुँ । ढिलो आउनुका कारणहरु छन्,’ खनालले सभाबाटै भने, ‘मैले प्रचण्डलाई भनिसकेको छु । हामीले त्यो कुरा मिलाउँछौं भनेर प्रतिबद्धता गर्नुभएको छ ।’ खनालले सर्त सहित एकतामा सामेल बनेको बताए ।
माधव नेपाललाई सम्बोधन गर्न समेत छुटाएका खनालले प्रचण्डलाई सहमति सम्झाउँदै खनालले सभाबाटै भाषण गर्नुले नयाँ पार्टीको चुनौती बुझ्न सकिन्छ ।
संयोजक प्रचण्डले भने सम्भावित चुनौती भन्दा पनि अवसर र सम्भावनाहरू सुनाए । ‘यो पार्टी अब देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न सक्दैन । एक नम्बर पार्टी त भयो भयो,’ प्रचण्डले दाबी गरे, ‘प्रतिक्रियावादीलाई त निद्रा नलाग्न पनि सक्छ, नलागे नलागोस् ।
प्रचण्डले जस्तै एकता प्रक्रियामा आएका अरू घटकका नेताहरुले पनि नेपाली कम्युनिस्ट पार्टी मुलुकको प्रमुख शक्ति बन्ने दाबी गरे । वामदेव गौतमले त एक करोड पार्टी सदस्य बनाउने भनेर सहभागीहरुलाई हौस्याएका छन् ।
‘सम्भावना भन्दा बढी दाबी गर्नु त वामदेव गौतमको स्वभावै हो,’ एक नेता भन्छन्, ‘तर जुन आकारमा हामीले एकता गरेका छौं । त्यसले मुलुकको प्रमुख शक्ति बन्ने आधार भने तयार पारेको छ ।’
नेताहरुका अनुसार दश पार्टी मिल्दा अहिले नै केन्द्रीय सदस्यको आकार दुई हजार कटिसकेको छ भने १२ लाख सदस्य हुनसक्ने अनुमान गरिएको छ । एकताको ढोका खुला राख्ने र केन्द्रीय सदस्य संख्यामा लचक हुने नीतिले कमिटीको आकार अझ बढेर जान सक्ने देखिन्छ ।
‘आकारका हिसाबले अब हामी कांग्रेस र एमालेसँग बराबर भइसक्यौ । जनमत कस्तो आउँछ, त्यो हेर्न बाँकी छ,’ पूर्वमन्त्री एवं नेता वेदुराम भूसाल भन्छन् ।
एकता–विभाजनको अन्तर्य
जेनजी विद्रोहपछि उत्पन्न संकट समाधान गर्न एकताबद्ध हुनु परेको तर्क गर्ने नेताहरुको (कम्युनिस्ट इतिहास) पृष्ठभूमि हेर्दा भने यो अर्को प्रयोग गरिएको देखिन्छ ।
एमालेका संस्थापक एवं लामो समय पार्टीको नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले चार वर्षभित्रै दोस्रोपटक पार्टी नाम र चिन्ह फेर्न पुगेका छन् ।
लगभग जिन्दगीभर सूर्य चिन्ह र एमालेमा बसेका उनीहरूले एकीकृत समाजवादी भएर कलम चिन्हबाट अघिल्लो चुनावमा भाग लिएका थिए । अब तारा र नेपाली कम्युनिस्ट पार्टीको परिचय लिएर उनीहरू अगाडि बढेका छन् ।
प्रचण्डलाई पनि यो अर्को नयाँ प्रयोग हो । र, यो एकताको आधार तयार पार्न प्रचण्डले आफ्नासहित सबैजसो पार्टीहरू विभाजन हुने परिस्थिति सिर्जना गरेका छन् ।
माओवादीबाट जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीहरुले एकता प्रक्रियामा भाग नलिएर छुट्टै अभियान चलाउने तयारी थालेका छन् । एकीकृत समाजवादीबाट घनेन्द्र बस्नेत, घनश्याम भूसाल, जीवनराम श्रेष्ठहरुले अलग्गै पार्टी बनाउने तयारी गरिरहेका छन् । रामकुमारी झाँक्रीहरु एमालेमै फर्कने भएका छन् । बाबुराम भट्टराई र विप्लव नेतृत्वको पार्टी पनि प्रचण्डको अभियानकै कारण फुट्यो ।
यसरी सबैजसो पार्टी फुटाएर प्रचण्डले नयाँ प्रयोगको जोखिम उठाएका छन् । र प्रचण्डले राजनीतिमा सधैं प्रयोग गरिरहनु उनको परिचय नै बनिसकेको छ ।
मदन भण्डारीले जबज मार्फत् शान्तिपूर्ण राजनीतिको कार्यक्रम ल्याउँदा २०४८ को चितवन महाधिवेशनबाट प्रचण्डले ‘माओवाद’ र ‘दीर्घकालीन जनयुद्ध’ कार्यदिशा पारित गराएका थिए । अरु दलले संसदीय अभ्यास थाल्दा २०५२ बाट सशस्त्र विद्रोह गर्दै प्रचण्डले २०५७ सालतिर पुग्दा त आफ्नै नामबाट ‘प्रचण्डपथ’ लाई सिद्धान्त बनाए ।
तर शान्ति सम्झौतापछि नारायणकाजी श्रेष्ठसँग एकता गर्न ‘प्रचण्डपथ’ छोडे । बलियो पार्टी बनाउन भनेर श्रेष्ठसँग एकता गरेका प्रचण्डले २०७२ सालसम्म लगातार माओवादीलाई विभाजन हुन दिए । जनयुद्ध लडेका नेताहरु अनेक समूहमा विभाजित भए ।
आज एकता गर्ने दलहरू मध्ये ५ वटा त माओवादी पृष्ठभूमिका छन् । नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराँती, माओवादी कम्युनिस्ट केन्द्रका अध्यक्ष केशव दाहाल, नेकपाका महासचिव चिरन पुन र माओवादी (समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी माओवादी पृष्ठभूमिका नेता हुन् ।
प्रचण्डले माओवादी पृष्ठभूमिका ५ र एमाले पृष्ठभूमिका ५ घटकबीच एकता हुनुलाई ऐतिहासिक भनेपनि यस्तै एकता ९ वर्षअघि पनि गरेका थिए । २०७३ जेठमा प्रचण्डले माओवादी छोडेर गएका रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, जयपुरी घर्तिमगर लगायत १० वटै घटकसँग एकता गरेर पार्टीको नाम फेरेका थिए ।
२०६५ सालपछि एमाओवादी भनेर चिनिदै आएको पार्टीलाई २०७३ सालपछि माओवादी केन्द्र भनिन थाल्यो । एक वर्षपछि एमालेसँग मिल्दा फेरि पार्टीको नाम र चुनाव चिन्ह फेरे । एमालेसँग मिल्दा पार्टीको नाम नेकपा र चिन्ह सूर्य थियो ।

अदालतबाट नेकपाको एकता भंग भएपछि फेरि माओवादी र चुनाव चिन्ह गोलाकारभित्रको हसियाँ हथौडा प्रयोग गरे । यसपटक भने प्रचण्डले आफ्नो पद, पार्टी नाम र चुनाव चिन्ह सबै फेरेका छन् ।
यो एकता प्रक्रियाप्रति असहमति जनाएका जनार्दन शर्मासहितका नेताहरूले भने प्रचण्डले आफ्नो पद सुरक्षित गर्न एकतालाई औजार बनाएको टिप्पणी गरिरहेका छन् ।
प्रचण्डले भने एकता सम्मेलनबाट नेतृत्वको बहस पनि खुला भएको बताएका छन् । ‘रोल्पाको एउटा बैठकमा मैले कम्युनिस्ट पार्टीभित्र नेतृत्व नमर्दासम्म या बुढो भएर ओछ्यान नपर्दासम्म रहने प्रणाली ठीक छैन भन्ने दस्तावेज प्रस्तुत गरेको थिएँ,’ प्रचण्डले भने, ‘अब समय आएको छ । त्यो एक्साइसौं शताब्दीको जनभावनालाई, र माधवजीसँग सल्लाह गर्दा हामी यही पदमा बसिरहनुपर्छ भन्ने छैन ।’ महाधिवेनसम्म जाँदा नेतृत्वबारे एउटा विधि र प्रणालीबारे छलफल गर्न सकिने उनले बताएका छन् ।
प्रतिक्रिया 4