+
+
Shares

‘फोहोरको ट्याक्टर चढेर प्रचण्डले रेल भन्नुभयो, जनताका एजेन्डा हामी बोक्छौं’

हिजो बन्दुक साटेर बिहे गरेको, आज हाम्रो नेताको छोराछोरीको फाइभ स्टारमा बिहे हुन्छ । केक काट्नेमा होडबाजी चल्छ । हिजो हामीले अख्तियार गरेको संस्कृति सरल होस् भन्ने थियो । जन्मदिन मनाउँदा डायरी दिउँ, कलम दिउँ, उसले आफ्नो जीवन लेखोस् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १०:०५

काठमाडौं । पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको आवाज छल्न प्रचण्डले अरु दलहरुसँग एकताको निर्णय लिएको भन्दै नेकपा माओवादी केन्द्रका केही नेताले फरक बाटो अपनाएका छन् ।

एकीकृत समाजवादी सहित ८ घटकको एकतामा प्रक्रियामा भाग नलिएर जनार्दन शर्मा, राम कार्की लगायतले अलग्गै अभियान थाल्ने घोषणा गरेका छन् । अर्थात् फेरि अर्कोपटक माओवादी विभाजित हुन पुगेको छ ।

एकता प्रक्रियामा नगएर पुनर्गठनको अभियान थाल्नेमध्ये सुदन किराँती पनि एक नेता हुन् ।

पूर्वमन्त्री समेत रहेका उनै किराँतीसँग यो एकता-विभाजनको परिस्थितिबारे अनलाइनखबरकर्मी सइन्द्र राईले कुराकानी गरेका छन् ।

प्रचण्डले चलाएको रेल चाहिँ छुटिसक्यो, छुट्नुभयो ?

मान्छेले भ्रममा रेल भन्दै छ, मलाई लाग्छ त्यो ट्याक्टर हो । त्यसले वामपन्थी आन्दोलनको फोहोर बोकेर सिसडोलतिर लागेको छ । बन्चरे डाँडामा लगेर थुपार्नेछ ।

कहिलेबाट त्यो फोहोर भयो ?

फोहोर धेरै थियो । सफा गर्न खोजेका थियौं । तर सफा गर्न खोज्दाखोज्दै हामीलाई नै छोडेर हिँड्नुभयो । र, ट्याक्टरमा चढेर रेल भन्नुभयो ।

तर उहाँहरुले प्रोग्रेसिभ बाटो यही हो भन्नु भएको छ नि ?

राजनीतिमा दुइटा धार हुँदो रहेछ । एउटा विपरीत धारमा बग्ने, एउटा सुल्टो धारमा बग्ने । उल्टो धारमा बग्नेले गुण्डुबाट हुंकार छोड्दैछ । सुल्टो धारबाट बग्नेहरु जेनजीलाई नै धम्काउँदै छ, विद्रोहलाई नै अपहरण गर्दैछ ।

किनकि जेनजीको पहिलो माग भ्रष्टाचारको अन्त्य हो । भ्रष्टाचार मुद्दा लागेको नेतासँगै अहिले एकता भइराखेको छ । यो खतराबाट कसरी जोगिने होला भनेर एकतालाई ढाल बनाइदैछ ।

दोस्रो– दलहरु रुपान्तरणको पनि जेनजीहरुको एजेण्डा हो । हामी जन्मिदा पनि तिमी नै थियौ । हामी सांसद भइसक्यौं तिमी नै छौ भन्ने प्रश्न उठेको छ । त्यसकारण जेनजी विद्रोहको विरुद्धमा यो एकता छ ।

आफूलाई शुद्धीकरण गर्नुपर्ने, आफू निर्मल र कञ्चन बनिनुपर्नेमा एकता गरेर विद्रोहको बलिदानलाई अपहेलित गरिएको छ ।

अब स्वयंसेवक सिस्टममा पार्टीलाई लानुपर्छ । पार्टी सुविधा होइन, सेवा हो भन्ने कुरा स्थापित गर्नु पर्छ

माधव नेपालहरुसँग एकता नगरेर के गर्नुपर्थ्यो त ?

आफ्नो पार्टीलाई पहिला शुद्धीकरण गर्नुपर्थ्यो । पार्टीमा जीवन्त लोकतन्त्र छ भन्नलाई रुपान्तरण सहित पुस्तान्तरण गर्नुपर्थ्यो । कोमामा गएको पार्टीलाई रेस्क्यु गर्नुपर्थ्यो । नयाँलाई जिम्मेवारी दिएर तान्छौं भनेको भए विश्वास आर्जन हुन्थ्यो ।

तर अधिवेशन घोषणा गर्ने अनि त्यो अधिवेशनबाट बिदा लिनुपर्छ भनेर अथवा युवा आवाजलाई चुकुल ठोक्न वृद्धाहरूको एउटा क्लब बनाएर फेरि जनताको चाहना र आवश्यकतामाथि शासन गर्न एकताको अर्को औजार बनाइएको हो । त्यसकारण कसैलाई छोएको छैन यो एकताले ।

त्यहाँ जानेहरु पनि यो बन्दैन भन्छन्, तर पनि तापनि भएतापनि भन्दै जान्छन् अनि बाहिर जनतालाई मतलबै छैन । फेरि पनि आठ वटाको एकता भन्छन्, ६ वटा त जनताले सुनेकै थिएनन् ।

मूल रुपमा त माधव नेपाल र प्रचण्ड नै हो नि…

आठ वटा भनेर मान्छेलाई बाहिर धम्की दिएको हो ।

प्रचण्डले बिदा लिनुपर्थ्यो ?

भूमिका बदल्नु पर्थ्यो । हामी बिदा भन्दैनौं, भूमिका बदल्नु पर्थ्यो ।

जसरी पनि अध्यक्ष पद अरुलाई बुझाउनु पर्थ्यो ?

कार्यकारी अधिकार नयाँ पुस्तामा लगेर निश्चित विचार र अरु अधिकारहरु आफूसँग राख्दै अलिकति भेष बदलेको भएपनि जनताले पचाउथ्यो ।

अनि जनार्दन शर्मालाई दिएर चाहिँ के हुन्थ्यो त भन्ने पनि सुनिन्छ ?

केही हुन्थेन । जनार्दन शर्माको त स्पष्ट प्रस्तावै थियो– हामी पदाधिकारी २१ जना नै निर्देशक कमिटीमा बदलौं भन्ने । त्यसकारण उहाँको त कुरै होइन नि ।

जनार्दन शर्माको प्रस्तावले मात्रै पनि हुन्थेन । पदाधिकारीहरुलाई निर्देशक समितिमा लानुपर्र्थ्यो । त्यसपछि ४४ जनाको स्थायी समितिबाट पनि चल्दैन पार्टी । यति मात्रै नभएर लामो समयदेखि दौरासुरुवाल फटाएका, साडी–चोली फटाएका अग्रजहरु पनि छन् । उहाँहरु सहितको चार/पाँच सय जनालाई निश्चित अधिकार दिएर राजनीतिक परिषद बनाउनुपर्थ्यो ।

र, राजनीति संगठन तेस्रो पुस्तामा झारेर अनि माथिको त्यो बलले तान्दै लगेको भए पार्टी डिस्चार्ज हुन्थ्यो ।

प्रचण्ड तयार हुनु भएन ?

सामन्ती राजतन्त्रविरुद्ध लडिन्जेल बाघै हो । तर संविधान निर्माण गरेर यता आइसकेपछि फट्याङ्ग्रा मार्ने काममा लाग्नुभयो

भएको कता–कता यता जान्थ्यो ? नभएरै त गएको होला ।

अर्को पटक माओवादी फुट्यो

प्लिज हामी अलग भएकै छैनौं । हामीलाई छोडेर गएको हो । उहाँहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भन्नेलाई छोडेर नेपाली समाजवादी पार्टी कि नेपाली कम्युनिस्ट पार्टीमा जानुभयो । उहाँहरुले आफ्नो इतिहास, इतिहासको धरहर, सारा कुरालाई छोडेर जानुभएको छ । हामी फुटेको होइन, उहाँहरुले आफ्नो घर छोडेर जानुभएको हो ।

मोडमोडमा माओवादी नेताहरु छुट्टै आउनु भएको छ । यो क्रम कहाँसम्म पुग्ला ?

पूर्व अध्यक्षलाई पुष्पकमल दाहाल भन्दा मेरो मन दुख्थ्यो । आज चाहिँ भन्नुपर्यो । पूर्व मेरो अध्यक्षलाई हामी डाइनामिक भन्थ्यौं । तर पछिल्लो समयमा निरन्तर उहाँ डाइनामिक होइन पिँध बेगरको लोटा अथवा हावाले फुकेको पिपलको पात जस्तो देखिनु भयो ।

त्यो कहिलेबाट ?

गणतन्त्र पछि अर्थात् अझै संविधान निर्माण पछि चाहिँ भनौं न, त्यसले निरन्तर पार्टीभित्र मन्द विषको काम गरिरह्यो । समाजमा पनि तिमीहरुको नेतासँग विश्वास छैन, एउटा बोल्छ अर्को गर्छ भन्ने गर्दिनुभयो ।

र उहाँको जीवनकालमा संगठन पुरा रुपमा विफल हो । किन ? खरीपाटीमा हामी विस्तारित बैठक बस्दै थियो । नारायणकाजी श्रेष्ठलाई ल्याउने कि नल्याउने भन्ने कुरामा उहाँ अल्पमतमा पर्नुभयो, एक मतले । रातभरिमा एक मत जुटाएर ल्याउनुभयो ।

एकतामा पछि त केन्द्रीय समितिमा सयौं थप्नुभयो, दर्जनौं पदाधिकारी थपेर आफ्नो सत्ता सुरक्षित गर्नुभयो । हामीले त पाँच हजार, ६ हजारको केन्द्रीय समिति बेहोरेको हो नि । स्टालिनको पालामा बोल्नासाथ गोली ठोकिन्थ्यो । अहिले मिल्दैन । अनि पाँच हजारको केन्द्रीय समिति सदस्य बनाइदिएपछि त बोल्नै नपर्दो रहेछ ।

आफ्नो मुखबाट, आफ्नै माइकबाट, आफ्नै कुरा भट्ट्यायो ! रेडियोसँग त दोहोरो संवादै हुँदैन । जनताको प्राथमिक कुराहरुले पार्टीभित्र प्राथमिकता नै पाएन, जनताको पार्टी भएन । र, आज विघटनको चरणमा पुग्यो ।

वास्तवमा कम्युनिस्ट आन्दोलन दुइटा पहाडको चुलीबाट बिघटनको ओरालो लागिराखेको छ । एउटा ओलीको चुलीबाट अर्को पुष्पकमल दाहाल र माधव नेपालको चुलीबाट ।

एकता सहमति हेर्दा त लिखित रुपमै माओवाद छोडेको देखियो …

एउटा विचारलाई लिनु र छोड्नुको निम्ति ठूलो एउटा बहस चाहिन्छ । तर यहाँ त सिग्नेचर गरेरै… । प्राइभेट लिमिटेड कम्पनीको पनि त छलफल गरेर पारित गर्ने हुन्छ, यो त एकदमै निजी कम्पनी भयो । यस्तो पार्टी कहिलेसम्म चल्छ ? त्यसकारण माओवाद बहस गरेर छोडिएको होइन ।

सशस्त्र विद्रोहको आधार रहेको माओवादलाई हस्ताक्षरकै भरमा छोड्दाको सम्भावित जोखिमबारे कुनै हेक्का राखिएको होला ?

माओवाद मात्र होइन आफ्नो वास्तविक मूल्य माथि खेलाची गर्दा, सौदाबाजी गर्दा अर्थात् कारोबारी काम गर्दा त्यसको क्षति त देखि गयो नि (जेनजी आन्दोलनमा) । आठ लाख कार्यकर्ता छ भन्थ्यो माओवादीको, दश लाख  भन्थ्यो एमालेको । कार्यालय जल्दा कोही थिएन । नेताको घर खरानी हुँदा एक जना जनताले पनि नगरिदेउ हाम्रो नेताको घर भनेनन् ।

भनेपछि जनताले विघटन गर्दियो नि पार्टी त । अहिले पनि हामी जनता हौं भनेर केही भक्तहरु उहाँहरु हुंकार गर्नुहुन्छ ।

प्रचण्डसँग अलग हुनुपर्ने कारण तपाईंले अहिले गरेका तर्कहरु हुन् कि अरु राजनीतिक स्वार्थ छ ?

हिजो नाकको फुली पनि पार्टीमा बुझाउँथे चेलीहरुले, होलटाइमर हुँदाखेरि । आज करोडौंको सामान मेरो उपहार भन्ने दिन आयो । पार्टी यही हो । यो विचारमा विचलित हो कि होइन ?

व्यक्तिगत राजनीतिक स्वार्थसँग जोड्नु हुँदैन । म जोड्दिनँ । संविधानसभासम्म उहाँहरुले देशको निम्ति राजनीति गर्नुभयो । इतिहासमा गरेको योगदानलाई एउटै बास्केटमा हालेर गोलमटोल बनाइदिनु हुन्न । त्यहाँसम्म महानै थिए हाम्रा नेता ।

त्यसपछि चाहिँ व्यक्तिको निम्ति, परिवारको निम्ति मात्र राजनीति गर्दै लानुभयो । दर्जन तर्कहरु छन्, त्यतातिर नजाऔं । त्यस्तो कल्चर स्थापित गर्नु राम्रो पनि होइन । त्यो दुनियाँले देखेको छ ।

एउटा राजनीति गर्ने मान्छेले पूर्वाग्रहबाट माथि उठ्नु पर्छ । हाम्रो देशको राजनीतिमा देखिएको प्रवृत्ति र लड्नुपर्ने केसँग त्यो किटान यति भए पुग्छ जस्तो लाग्छ । व्यक्तिको हिसाब गर्नु हुँदैन यहाँ ।

तर तपाईँहरुले पनि गरीखानु हुन्न भन्ने टिप्पणीबारे के भन्नु हुन्छ ?

१०० जनालाई सोध्दा खेरि (प्रचण्ड र माधवतिर लागेका) १०० जनाले नै गरीखाँदैन भन्छ, तर तर भन्छ ।

हामी विज्ञानको कुरा गर्छौं, तर हामी कार्यकर्ता होइनौं रहेछ । हामी त भक्त रहेछौं । हाम्रो एउटा भगवान रहेछ । हामी जयजय भन्ने भक्त रहेछौं जस्तो पनि लाग्छ ।

मैले १५० जना जति केन्द्रीय सदस्यलाई भेटे । सबैले भन्छन्– पार्टी त रुपान्तरण हुँदैन । तर हाम्रो इतिहास छ, पहिचान छ के गर्ने होला ? प्रचण्डको ब्रान्ड छ भन्छन् ।

हिजो र आज तीन चार खाले फोन छ, मेसेज छ । एउटा पत्रकारहरुको भइहाल्यो । दोस्रो कतारबाट एकजना सोझो मान्छेले भन्नुभयो, प्लिज यो पार्टी नछोड्नू । तपाईंलाई धेरै नै मन पराउँछु ।

६ महिनापछि त तपाईंहरुलाई नेता बनाउने अरे त भन्नुभयो । थाहा छैन नि बाहिरको मान्छेलाई, यहाँ के पाकीराखेको छ भन्ने कुरा ।

एकथरी मान्छेहरुले नोस्टाल्जिक बनाइदिन्छन् । फुटेर जानेहरुको भविष्य छैन भन्ने भाष्य स्थापित गर्देको छ । जबकि हामी फुटेको होइन ।

र, हाम्रै सहयोद्धा साथीहरुले पनि तीन महिना हेरौं भन्नुहुन्छ । उनीहरुसँग पनि आत्मविश्वास छैन । घाइते पनि होइन, मृत सपना र मृत आत्मा बोकेर साथीहरु ट्याक्टर चढ्नु भएको छ ।

भनेको, ६ महिनाभित्र प्रचण्ड र माधव नेपालले नेतृत्व छोड्नु हुने वाला छैन ?

कहाँ छोड्छ ? कसरी छोड्नु ? अब यो एकता भइहाल्यो । प्रमुख र सह भइहाल्यो । फागुनमा चुनाव हुन्छ, नभए बैशाखमा त होला । एकदिन त चुनाव हुनैपर्छ । चुनाव सकेर भन्ने हुन्छ । चुनाव सकेपछि शपथग्रहण भन्छ, के भन्छ, गर्दै तीन–चार वर्ष जान्छ ।

यो भनेको त जेनजी आन्दोलनको भावना विरुद्धमा भयो नि ?

एकदम अगेन्स्टमा ।

तर तपाईंहरुको पक्षमा धेरै मानिस देखिएन । जनार्दन शर्मा, राम कार्की, तपाईं, अनि… ?

सत्य कुरा पहिला थोरै नै सुनिन्छ । ग्यालिलियोले पृथ्वी गोलो छ भनेर दस्तावेज निकालेपछि सम्राटले बोलाएछ । भनेछ– पृथ्वी कसरी गोलो छ ? बेकारको कुरा गर्छस् । जान्ने हुन्छस् ।

त्यसपछि ग्यालिलियोले च्याप्टै छ भनेर आत्मसमर्पण गरेछ । बाहिर निस्केर फेरि पृथ्वी गोलै छ भनेछ ।

किनकि त्यहाँ (राजासँग) पाँच जना पुलिस बसेका थिए, पुलिसको हातमा राइफल थियो, राइफलको माथि संगिन थियो, त्यहाँ बाइबल थियो, बाइबल माथि विश्वास गर्थ्यो सम्राट, उसको अदालत थियो । मलाई त जेल ठोक्ने थियो । जेल जानु भन्दा पृथ्वी च्याप्टै छ भनेर निक्लेको छु तर यो गोलो छ । अन्त्यमा त गोलै रैछ नि ।

यो त तर्क भयो, पोलिटिक्स गर्न संख्या चाहिएन भन्या ?

पहिला सत्य एजेन्डा चाहिन्छ । जेन्जीहरुको फेसलेस मुभमेन्ट हो । कुनै फेस थिएन । तर ‘तिम्रो बाउ गाडीमा, मेरो बाउ खाडीमा’ भन्ने नारा कति शक्तिशाली भयो । नेपालको सारा जनताको मनमनको आन्दोलन भयो ।

मान्छेले सम्झ्यो– मोटरसाइकल पास गर्न गयो त्यही घुस । पासपोर्ट बनाउन गयो, सिफारिसदेखि घुस, कुनै सरकारी कार्यालय चोखो छैन । जहाँ ठगिने ।

जेनजीको आह्वानमा काठमाडौंसहित सहर–सहरमा आन्दोलन भयो, विद्रोह भयो । शहरमा आन्दोलन भयो, तर कालिकोट माथिको गाउँमा मान्छेले भाले काटेर भोज खाए । मेरो गाउँ, भोजपुरको ओखरे र हुल्केमा जुलुस निकाले । विद्यार्थीहरुको एक सयको होइन, हजारौंको जुलुस निस्क्यो ।

ताप्लेजुङमा जुलुस निक्ल्यो । मेलो–मेलोमा, खेत–खेतमा, चौताराहरुमा मान्छे आन्दोलित भए ।

यही कुराले नै प्रचण्डको ट्याक्टरमा चढ्नु भएन ?

हामीले प्रश्नहरु उठाएको धेरै वर्ष भयो । तर अहिले आएर उत्कर्षमा पुग्यो । धर्तीबाट ज्वालामुखी निक्लिसकेपछि चेत आउनु पर्दैन ? नेपाली समाजका घरभित्र अझै लाभाहरु छन् । त्यो अब चुनावमा प्रकट हुन्छ ।

नेताहरुको फेसकै कुरा गर्दा नारायणकाजी श्रेष्ठको पनि कुरा सुनिएको थियो । तर अन्त्यमा साथ पाउनु भएन नि ?

जो नेताको टाउकोमा तरवार छ अथवा डर छ मनमा, उसले भोलिको कुरा सोच्दैन । अहिलेको कुरा मात्र सोच्छ ।

केही वर्षपछि हाम्रा छोराछोरीले भन्नेछन्– तिम्रो कायरताले नालायक भयौ, किनकि तिमीले तिम्रो नेतालाई छाडा छोड्यौ, लगाम बिनाको घोडा जस्तै । कहिल्यै खबरदारी गरेनौं

नेपालका अधिकांश नेता अहिलेको कुरा मात्र सोच्ने भएका छन् । भोलिको कुरा सोच्दैनन् । कुरा गर्छ, निर्णय गर्ने बेला अहिलेको कुरा गर्छ । नारायणकाजी श्रेष्ठले वास्तवमा हामीलाई धोका दिनुभयो ।

भा’को थियो के ?

मसँगै कुरा गर्दाखेरि उहाँले भन्नुभएको थियो कि यथास्थितिमा बस्नै सकिदैन ।

भनेको प्रचण्डलाई बिदा गर्नुपर्छ भन्ने नारायणकाजीको कुरा थियो ?

संयोजक मैले मागेको छु । तीन चोटी मैले कुरा गरेँ । एक घण्टादेखि डेढ घण्टासम्म मैले भनेँ– तपाईको अनुहार देखाएर चुनावमा जान सकिँदैन । तपाईंले ठाउँ छोड्नुस् मैले भनेको छु । उहाँले नै बोलाएर भनेको उहाँको निवासमा उत्साहजनक ढंगले । तर झलनाथ खनालले भन्नुभएकोे छ कि बामदेव र म छोड्छौं । प्रचण्ड र माधव नेपालले छोड्छन् र तिमी संयोजक हुन्छौ भने हामी आउँछौं । तर प्रचण्डले ठोस जवाफ दिएका छैनन् भन्नुभएको छ ।

अनि के तपाईंले पाउनुहुन्छ कि पाउनुहुन्न त मैले भन्दाखेरि ‘पाउँदिनँ’ ।  किनभने ढाँट्ने चलन छ हाम्रो पार्टीमा । पाउँदिनँ र धेरै चोटी म ढाँटिएको छु । त्यसो भए के हुन्छ त भन्दा यसरी (दुई हातले सोफामा हान्दै) यथास्थितिमा अब रहन सकिँदैन (भन्नुभयो) । मैले भने आँट गर्नुस् तपाईं हाम्रो नेता बन्नुस् । हात मिलाएर छुट्यौं । नयाँ गर्नुपर्छ भन्नुभएको थियो अघिल्लो भेटमा (दुई पटक भेट भयो) ।

उहाँले ताली पिटेर, ल्याप्चे हानेर गर्नुभयो । भनेपछि धोका दिनुभयो ।  डराएको मान्छेले आजको दिन मात्रै सोच्छ भन्ने कुरा प्रमाणित भयो ।

अब तपाईँहरुकै कुरा गरौं । कस्तो पार्टी बनाउनु हुन्छ ?

१२४ वटा पार्टी छन् नेपालमा । हामीले अर्को नाङ्ले पसल खोल्ने होइन अब । खोल्नु पनि हुँदैन । र सधैं मैले उदाहरण दिन्छु– सप्तकोशी वारीपट्टि झन्डै दुई तीन किलोमिटरमा पेडा पसल मात्रै छ । लेखेको छ, बुढो बाजेको असली पेडा पसल ।  कुन असली ? कुन नक्कली छुटाउनै नसकिने भो । अब नेपाली जनतालाई एउटा राजनीतिको दोकान चाहिएको छैन ।

जनताको दुखलाई समाधान गर्ने, जनताको आवाज व्यक्त गर्ने एउटा विचार, एउटा शक्ति र एउटा अभियान चाहिएको छ । हामी त्यो अभियानमा लाग्छौं ।

पार्टी हुँदैन अभियान हुन्छ ?

हामी अभियानमा लाग्छौं ।

त्यो अभियान चाहिँ कस्तो हुन्छ ?

अहिलेसम्म संगठनमा देखिएका विसंगतिहरू हामी तोडिदिन्छौं । वर्षौंसम्म एउटा नेता हुने होइन । चक्रीय प्रणालीमा लान्छौं, लानैपर्छ । सरकारमा जाँदा पार्टी छोड्ने, पार्टीमा जाँदा सरकार छोड्ने । र, डाइरेक्ट डेमोक्रेसी अभ्यास गर्छौं, माथिको कुरा तलबाट भोट लगाउने ।

अब स्वयंसेवक सिस्टममा पार्टीलाई लानुपर्छ । पार्टी सुविधा होइन, सेवा हो भन्ने कुरा स्थापित गर्नु पर्छ ।

संगठनको शैली पनि फेर्नुपर्छ । खानेपानी नपाएर मान्छेहरु बसाइँ जाँदैछ, त्यहाँ गएर हामीले मजदुर संगठन बनाउने अनि अन्तर्राष्ट्रिय दर्शन खुवाउने होइन । खानेपानी समस्या समाधान गर्ने संरचना बनाइदिनु पर्यो ।

जनतालाई चामल चाहिएको छ, हामी खुवाउँछौ राजनीतिक दर्शन । हाम्रो र जनताको कुरा यही मिलेन । हिजो राजतन्त्र फ्याँक्ने बेलामा ठिकै थियो ।

यसरी फ्याँकियो अमेरिकामा, यसरी फ्याँकियो भारतमा, अब हामी यसो गर्नुपर्छ भन्नु ठिकै थियो होला ।

तर गणतन्त्र आइसकेपछि पनि कुरा पुरानै भयो । लोकतन्त्रको कुरा गर्ने अलोकतान्त्रिक भ्रष्ट संरचना बनाउने, भ्रष्टाचारको विरोध गर्ने भ्रष्ट संरचना बनाएपछि कसरी हुन्छ ?

त्यसकारण योसम्म परिवर्तन गरेर लानुपर्छ र विचारमा पनि नयाँ आधारमा नयाँ विचार प्रस्तुत गर्नुपर्छ ।

हिजो भन्दै आउनु भएको कम्युनिष्ट जार्गन र अनुशासनहरुको कुराबाट बाहिर निस्कने हो ?

देखाउने अनुहार एउटा, आचरण अर्को भयो कम्युनिस्टहरुको । जे गर्ने, त्यही बोल्ने हो के अब ।

स्मरण गराउँ– जनयुद्धमा एउटा जनमुक्ति सेनाको बहिनीले लुकेर स्याम्पुले नुहाउँदा कारबाही भयो । तर त्यही पार्टी, जसले नीति फेरेको छैन, फेरियो है भनेको छैन । तर काठमाडौँमा दिनभरि गफ गरेर खाइन्छ, बुद्धनगरमा तीनतले घर ठडाइन्छ । कहाँबाट आयो ?

कहाँबाट आउँदैछ यो ? भन्दिऊ न पैतृक सम्पत्ति हो भने । खुला गरिदिऊ ।

अनि थाहा पाउँछ भनेर मोबाइल पनि सानो बोक्ने, जुत्ता पनि नयाँ नलाउने, किनेको लुगा पनि नधुने यो जीवनशैली छोडदिउँ अब । स्रोत देखिन्छ भने घर बनाओस् क्या अब ।

तपाईंहरुले रोजेको बाटोमा हिँड्दा के लाभ हुन्छ भन्ने ग्यारेन्टी त खोज्लान् नि कार्यकर्ताले ?

साँच्चै शरीरको अंग काटिए जस्तै महसुस भइरहेको छ, मलाई । तर विगत सम्झेर, भावुक भएर हुँदैन रहेछ । देशको हित र स्वार्थ त अर्कै हुँदो रहेछ नि

कि मान्छेमा त्रास छ, कि मान्छेमा आश छ, यतिले घिसारिएको छ । ए बाबा एउटा वडाध्यक्ष जित्न यो भ्रष्ट निर्वाचन प्रणालीमा २५ लाख खर्च गर्नुपर्छ । टिकट लिन चाकडी गर्नुपर्छ । पार्टी राम्रो भए जित्ने हो, नराम्रो भए कसरी जित्ने ? त्यो पनि त छ ।

विज्ञानको कुरा गर्ने लम्पसारवादी व्यवहार हाम्रो हुने भइराखेको छ । अब ब्रान्डको कुरा गर्दा नेता त प्रचण्डै हुन् भन्ने । हो, ब्रान्डको त मलाई कुनै उ (शंका) नै छैन । बाघ त बाघै हुन्छ । तर तन्नेरी अवस्थामा बाघले हरिण मार्थ्यो, त्यही बाघले अर्को समयमा गएर फट्याङ्ग्रा मार्छ क्या । अब हाम्रो नेताहरु फट्याङ्ग्रा मार्नेमा पुग्यो । सामन्ती राजतन्त्रविरुद्ध लडिन्जेल बाघै हो । तर संविधान निर्माण गरेर यता आइसकेपछि फट्याङ्ग्रा मार्ने काममा लाग्नुभयो ।

त्यो फट्याङ्ग्रा मार्नेहरुतिर धेरै मान्छे देखिनुहुन्छ । ग्यारेन्टी त खोज्छन् फेरि पनि मान्छेहरुले …

भ्रम छ नि । जबकि हिजो माधव नेपाल, प्रचण्ड र केपी ओलीको पछाडि कति मान्छे थिए । झापा विद्रोह पाँच जनाले गरेको भन्छ, गर्वका साथ ।

अब यो अचम्मको कुरा हामी यति यान्त्रिक र अधिभूतवादी भयौं । हाम्रो गन्तव्यको कम्पास छैन । घडी हेरेर काम गर्छौं । घडी र कम्पास मिल्नुपर्छ । यहाँ जाने हो, यहाँ पुग्ने हो । तर हामीसँग कुनै क्यालेन्डर छैन ।

अब प्रश्न उठायो अराजक, विदेशी दलाल भन्छ । मोहनविक्रम सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा निर्मल लामामाथि आरोप थियो– मध्यमपन्थी अवसरवाद ।

प्रचण्डले त्यही बेला मध्यमपन्थी अवसर मात्र होइन, सांस्कृतिक विचलनको कुरा मात्रै होइन, यो विचारको विचलन भनेर हस्ताक्षर गरेका थिए । उहाँले प्रश्न उठाउँदा विज्ञान हुने र अर्कोले उठायो भने साम्राज्यवादको गोटी हुने ? दु:खको कुरा हो, यो ।

२६ वर्षमा म सांसद जितेर आएको हो । एकदिन ‘सिंहदरबारमा प्रचण्डले कपाल यताबाट (हातले देखाउँदै) यता घुमाएर आउनुभयो, देब्रेपट्टि’ भनेर समाचार लेख्ने तपाईंहरु नै हो । प्रचण्डले आफ्नो हेयर स्टाइल परिवर्तन गरेको देखेर अब किरणको (मोहन वैद्य) लाइन अंगाल्ने जस्तो देखिन्छ भन्ने छलफल हुन्थ्यो । हाम्रो नेताहरुको कपाल हेरेर समाचार बन्थ्यो । हाम्रो वाईसीएलसँग काठमाडौंका सेलिब्रेटीहरुले भाइटीका लगाउन खोज्थे । हामी हेर्दै–हेर्दै जाँदा कहाँ पुग्यौ ?

हिजो बन्दुक साटेर बिहे गरेको, आज हाम्रो नेताको छोराछोरीको फाइभ स्टारमा बिहे हुन्छ । केक काट्नेमा होडबाजी चल्छ । हिजो हामीले अख्तियार गरेको संस्कृति सरल होस् भन्ने थियो । जन्मदिन मनाउँदा डायरी दिउँ, कलम दिउँ, उसले आफ्नो जीवन लेखोस् ।

हिजो नाकको फुली पनि पार्टीमा बुझाउँथे चेलीहरुले, होलटाइमर हुँदाखेरि । आज करोडौंको सामान मेरो उपहार भन्ने दिन आयो । पार्टी यही हो । यो विचारमा विचलित हो कि होइन ? कि भन्नुपर्‍यो कि हिजो गल्ती बोलिएको थियो भनेर ।

नभनिकन विचलन भयो ?

भनिएन । तर गरिराखिएको छ । माओवादीको त अझै मसिनो कुरा हुँदै होला यति ठूलो मिडियामा । तर मसिनो कुरा ठूलो पनि हुन्छ । सरलतामा विशालता, सानोमा ठूलो पनि हुन्छ ।

म सम्झाउँ– माओवादी पार्टीले रक्सी खाने मान्छेलाई कारबाही गर्थ्यो । घरघरमा गएर रक्सीका जर्किनहरु निकालेर फालिन्थ्यो । ठिक थियो या बेठिक थियो, यसको समीक्षा छुट्टै होला । तर माओवादीहरु अहिले रक्सी खाएर मान्छे नचिनिनेगरी भट्टीमा बसेको हुन्छ ।

बुढी कुट्नेलाई कारबाही गर्थ्यो । सेतो टोपी लगाएर दाउरा बोक्न, ढुंगा बोक्न लगाइन्थ्यो । आज घरघरमा बुढी कुटेर निकालेर अर्को बिहे भइरहेको छ । हामी बिचलन भयौं कि भएनौं ?

अनि जेनजीले जस्तो बिद्रोह त पार्टीभित्र गर्ने बेला भएको थियो । जेनजीले गर्दिएको । केही वर्षपछि हाम्रा छोराछोरीले भन्नेछन्– तिम्रो कायरताले नालायक भयौ, किनकि तिमीले तिम्रो नेतालाई छाडा छोड्यौ, लगाम बिनाको घोडा जस्तै । कहिल्यै खबरदारी गरेनौं ।

आ–आफ्ना निष्कर्ष सहित हिजो साझा सपना देखेका नेताहरू अलग हुँदै हुनुहुन्छ । कस्तो अनुभूति भइरहेको छ ?

यो पार्टीको नाममा जनतासँग भएको यति लामो सम्बन्धले शरीरको अंग काटिए जस्तै हुँदोरहेछ । साँच्चै शरीरको अंग काटिए जस्तै महसुस भइरहेको छ, मलाई । तर विगत सम्झेर, भावुक भएर हुँदैन रहेछ । देशको हित र स्वार्थ त अर्कै हुँदो रहेछ नि ।

भावुक हुने दिन हुँदैन रहेछ देशको निम्ति । तपाईं यहीँ बस्नुपर्छ भन्ने साथीहरुलाई मेरो सगरमाथा जस्तै प्रेम छ । त्यो सम्बन्ध व्यक्तिगत रुपमा रहिरहोस् । म उहाँहरुलाई धोका दिन हिँडेको होइन । मैले हिजो एउटा स्टाटस लेखेको थिएँ– तपाईंहरु हिलोमा हुनुहुन्छ । कमल फुलाउनुस् । हामी त ढुंगाको खानीभित्र छौं । ढुंगाको काप फोरेर निक्लिनु पर्नेछ पिपल जस्तो ।

अब म भन्छु– तपाईंहरु जहाँ बसिराख्नु भएको छ, त्यहाँ विचलन भइसक्यो । अबको राष्ट्रिय अभियानमा निक्लिनुहोस्, जसले भ्रष्टाचारको कठोर विरोध गर्नुपर्छ । जसले साझा दुश्मन हाम्रो गरिबीलाई मान्नुपर्छ ।

गरिबी र अशिक्षालाई अन्त्य गरौं । भ्रष्टाचारलाई नामेट बनाउँ । हामीले गल्ती गरेको भए सार्वजनिक क्षमा माग्न चाहन्छौं । गल्ती गरेको भए हामीलाई पनि हातकडी लागोस् । म पनि मन्त्री भइसकेको मान्छे हो ।

तर बन्दुक बोकेर होइन, मसाल बोकेर होइन, टायर बालेर होइन, आउँदै गरेको निर्वाचनमा सबै नयाँ शक्ति एक ठाउँमा आऔं ।

र एउटा हातमा मतपत्र, अर्को हातमा स्वस्तिक छाप बोकेर जनतालाई विद्रोह गर्ने अपिल गरौं । र, त्यही विद्रोहबाट नयाँ क्रान्ति हुनेछ ।

सगरमाथा र बुद्धको देशबाट एउटा नयाँ सन्देश दिऔं । मेरा पुराना साथीहरुलाई यही अपिल गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?