+
+
Shares

विराटनगर विमानस्थलमा प्रचण्डलाई गाली गरेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २१:५८

१५ मंसिर, विराटनगर । विराटनगर विमानस्थलमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहालमाथि चर्को स्वरमा गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेकपाको विराटनगरमा आयोजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार साँझ एक युवकले प्रचण्डलाई गाली गर्दै बर्बराइरहेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार, मादक पदार्थ सेवन गरेर ती व्यक्तिले प्रचण्डलाई गाली गरेको सूचनापछि पक्राउ गरिएको हो ।

प्रहरीले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन । यद्यपि प्रहरी स्रोतका अनुसार, प्रचण्डसँगै बुद्ध एयरको जहाजमा काठमाडौं जाने तयारीमा रहेका उदयपुरका अनुपबहादुर बस्नेत पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा राखिएको छ ।

भएको के हो ?

विमानस्थलमा प्रचण्डलाई देखेपछि ती व्यक्तिले ‘तपाईं प्रचण्ड होइन ?’ भन्दै प्रश्न गरेका थिए । ती व्यक्तिलाई प्रचण्डले ‘हो’ भनेर जवाफ दिएका थिए । त्यसपछि ती व्यक्तिले ‘मेरो घर जलायौ, केही गर्न सकेनौ’ भनेको प्रहरी स्रोतले बतायो ।

प्रचण्ड आज साँझ ७ बजे काठमाडौं फर्कने टिकट थियो । फ्लाइट डिले हुने भएपछि उनको टिकट ४:२० बाट पौने ७ बजेका लागि टिकट सारिएको थियो ।

प्लेन डिले भएपछि विमानस्थलमा पर्खने क्रममा प्रचण्डमाथि ती व्यक्तिले आफ्नो असन्तुष्टि राखेका थिए ।

नेकपाका नेता तथा तत्कालीन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भने प्रचण्डसँग ती व्यक्तिले चर्को स्वरमा बोलेको मात्रै बताए ।

‘ती व्यक्तिले मेरो घरमा आगो लगायौ भनेपछि पीएसओले साइड लगाएको रहेछ,’ उनले भने, ‘अलिक चर्काे स्वरमा बोलेछन्, दुर्व्यवहार गरेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?