+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

ताप्लेजुङको अलैंची अमेरिका, युरोपदेखि गल्फ बजारसम्म

नेपाली किसानले सकीनसकी फलाएको अलैंचीलाई आफ्नो उत्पादनको रुपमा विभिन्न देश निर्यात गरेर भारतले नाम र दाम कमाइरहेको छ ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८२ मंसिर १५ गते ९:०७

१५ मंसिर, तापेथोक (ताप्लेजुङ) । फक्ताङ्लुङ, तापेथोकका सुकबहादुर ताप्मादेन अलैंची टिपेर भट्टीमा सेकाउन १५ जना स्थानीय कामदार लिएर लेकतिर जान खोज्दा भेटिए । उनले मंसिरे जाडो छल्न तोङ्बा, सामल तुमल र बाक्लो ओड्ने ओच्छ्याउनेको जोहो गरिसकेका थिए ।

तापेथोक बजारदेखि करिब एक घण्टाको उकालो छिचोलेपछि ताप्मादेनको अलैंची बगान पुगिन्छ । उनले खाम्थाक क्षेत्रको निङ्याङ्बा, बुल्बुले र सल्लेरीमा करिब ३ सय रोपनीमा अलैंची लगाएका छन् ।

अलैंची टिप्न र भट्टीमा सेकाएर जिल्ला सदरमुकाम फुङ्लिङ पुर्‍याउन उनलाई निकै हतारो छ । यस्तो चटारोको कारण हो, उनको आशा अनुरुपको भाउ । अलैंचीको मोल कुन बेला घडबढ हुन्छ थाहा हुँदैन, सुनको भाउ जस्तै । यो वर्ष भने फुङ्लिङ पुर्‍याउँदा प्रतिमन सरदर एक लाख रुपैयाँँ हात पर्नेमा उनी ढुक्क छन् ।

औल अर्थात तमोर (स्थानीय मुन्धुमी भाषामा इम्बिरि याङ्धाङ्वा) किनार छेउछाउका बगानबाट उनले १५ मन टिपेर फुङ्लिङका व्यापारीलाई बेच्न भण्डारण गरिसकेका छन् । ताप्मादेन भन्छन्, ‘अलिक औल तिर एक महिना अघि नै टिप्न योग्य हुने भएकाले करिब १५ मन जति अलैंची टिपेर भन्डारण गरिसकें । अब लेकतिरको बगानको पालो छ ।’

यो वर्ष कम्तिमा ३५ मन अलैंची बेच्ने योजना रहेको ताप्मादेन बताउँछन् । राम्रो व्यवस्थापन र सिंचाइको सुविधा हुने हो भने ३ सय रोपनीबाट ५० देखि १०० मनसम्म उत्पादन गर्न सकिने उनी बताउँछन् ।

तापेथोक क्षेत्रमा वार्षिक ३० मन भन्दा बढी उत्पादन गर्ने कयौ अलैंची किसान छन् । फक्ताङलुङ–५, तापेथोकस्थित खाम्थाकका रामबहादुर तुम्बाहाङ्फे, सोही वडाका सुदिप थक्लुङ, सङगम्बोका राजीव ताप्मादेन, वेताङ्गोका हेमबहादुर ताप्मादेन लगायत किसानले व्यावसायिक अलैंची खेती गरेर वार्षिक ३० मनदेखि ५० मनसम्म उत्पादन गर्दै आएका छन् ।

अलैंची किसान फक्ताङ्लुङ, तापेथोकका सुकबहादुर ताप्मादेन

ताप्लेजुङकै मैवाखोला–४, ताम्राङका दातेम्बा शेर्पाले २३ वर्षदेखि १०–१५ रोपनीमा अलैंची खेती गर्दै आएका छन् । यसवर्ष उत्पादन भएको पाँच मन प्रतिमन ९५ हजार रुपैयाँँका दरले  बेचीसकेका छन् ।

मैवाखोला गाउँपालिकाको कार्यालय रहेको साँघु बजारमा भेटिएका मैवाखेला–४ बस्ने ६० वर्षीय प्रेमबहादुर तामाङले आफूले ०४२ सालदेखि अलैंची खेती शुरु गरेको बताए । उनले पनि ११ रोपनीमा अलैंची लगाएका छन् । सय रुपैयाँँ केजी अलैंचीको मूल्य हुँदा उनले १० मनसम्म उत्पादन गरेका थिए । यसपटक भने दुई मन मात्र उत्पादन भएको बताए ।

उनका छिमेकी रत्नबहादुर तामाङ, पवित्र तामाङलगायतले भने वर्षमा सरदर ३० मन भन्दा बढी उत्पादन गर्ने गरेका छन् । ताप्लेजुङमा रामसाई र गोल्साइ, रामला, चिवेरामसाई र भोर्लाङ् जातका अलैंची उत्पादन हुन्छ ।

अलैंचीमा पनि बिचौलिया

तापेथोकका ताप्मादेन जस्तै ३ सय रोपनीमा अलैंची खेती गर्ने किसान ताप्लेजुङमा धेरै छन् । तर ती किसानहरूले सोझै झापाको बिर्तामोड वा काकडभिट्टा नाका पुर्‍याउन सक्दैनन्,  भारतीय व्यापारीहरूसँग सम्पर्क, सम्बन्ध बनाउने टाढाको कुरा भयो । जिल्लाका व्यापारीहरू नै विचौलियाका रुपमा देखिएको उनी बताउँछन् ।

विचौलियाबाट आजित भएका ताप्मादेनले केही वर्ष अघि एकजना भारतीय व्यापारीसँग सम्पर्क गरेका रहेछन् । उनका अनुसार ती व्यापारीले ‘नेपाल (ताप्लेजुङ) आएर अलैंची लान्छु’ भनेका थिए । ती भारतीय व्यापारीको प्रस्ताव आफूले फुङ्लिङका अलैंची व्यावसायी महासंघका एक पदाधिकारीलाई सुनाउँदा नकारात्मक प्रतिक्रिया पाए ।  ‘महासंघका ती पदाधिकारीले त मलाई तपाइँले ठूलो गल्ती गर्नुभयो है, धन्न काम (व्यापार) शुरू गर्नु भएनछ पो भन्नुभयो’ ताप्मादेन भन्छन् ।

सुकेको अलैंची

यस्तै सोचाइ र व्यवहारले गर्दा ताप्लेजुङका किसानले आफ्नो उत्पादन सीधै बिर्तामोड वा काँकडभिट्टा पुर्‍याउन नसकेको तामाङको निश्कर्ष छ ।

उता फक्ताङ्लुङ–४, सङ्साबुका ८२ वर्षीय तीलनाथ माबोहाङले सङ्साबुको सिवुचे, तरेली, काभ्राबोटे र बिहिबारेमा अलैंचीका ६ वटा बगान छन् । तर सबै बगान अधियाँमा दिएका छन् । गतवर्ष उनको बगानबाट सय मन अलैंची उत्पादन भएको थियो । अधियाँमा ५० मन उनको भागमा पर्‍यो । यो वर्ष भने ३० मन मात्र आफ्नो भागमा पर्ने अनुमान गरेका छन् ।

२०५० सालदेखि अलैंची खेती गर्दै आएका माबोहाङलाई भाउ बुझ्नै धौ–धौ पर्छ । तापेथोकको तम्मर किनारस्थित छिरुवानीमा बस्दै आएका उनी भन्छन्, ‘अलैंचीको भाउ कति पुग्यो कसैले भन्दैनन् । न व्यापारीले सुनाउँछ । फोन गरेर सोध्दा पनि भाउ भन्दैनन् ।’

कहाँ जान्छ अलैंची ?   

अंग्रेजीमा लार्ज कार्डमम  भनिने अलैंचीको वैज्ञानिक नाम अमोमुम सुबुल्याटुम हो । चिनियाँ सीमाबाट पहिलो पटक सन् १८६५ मा इलाममा रोपिएको अलैंची विस्तारै पूर्वी पहाडी जिल्लाहरू पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा परम्परागत खेतीको रुपमा फैलिएको जानकारहरू बताउँछन् ।

सुरुमा अलैंचीको व्यावसायिक खेती नगरेर स्थानीय बासिन्दाले शौख वा रहरको रुपमा आफ्नो खेर गएका सिम र ढाँडजंगलमा दुई/चार बोट लगाउने गर्थे । सरकारले पूर्वका केही जिल्लालाई कागजी रुपमै सही अलैंची खेतीका लागि उपयुक्त क्षेत्र भनेर चिन्हित पनि गर्‍यो । तर ठोस रणनीति बनाएन ।

अलैंची बगान

अढाइ दशक अघि व्यापारी र केही किसान मिलेर अलैंचीको व्यावसायिक खेती शुरू गरेपछि चर्चा पाउन थाल्यो । त्यसको केही वर्षदेखि नेपालबाट भारतीय बजारमा अलैंची निर्यात हुन थाल्यो । कुनै समय प्रतिमन तीन हजार रुपैयाँँमा बिक्री हुन गाह्रो हुने अलैंचीको मूल्य ५० हजार प्रतिमन हुँदै एक लाख रुपैयाँँ पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग रहेको थाहा पाएर पनि सरकारले भारतीय बजारको विकल्पमा कुनै ठोस योजना र नीति बनाउन सकेन वा चाहेन । सरकारले स्पष्ट नीति नल्याउँदा नेपाल (ताप्लेजुङ)को अलैंची भारतले आफ्नो उत्पादनको रुपमा ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँछ ।

सन्  २०२३–०२४ मा भारतले एक हजार २८१ टन अलैंची निर्यात गरेको थियो ।  भारतले युएई, साउदी अरब, कुबेत, बाङ्लादेश, क्यानाडा, पाकिस्तान, मलेसिया, अमेरिका, बेलायत जस्ता देशमा निर्यात भएको देखिन्छ ।

ती मुलुकहरुमा अलैंचीको सुगन्ध र स्वादलाई परम्परागत प्रतिष्ठाको रुपमा लिइने जानकारहरू बताउँछन् ।  जानकारहरूका अनुसार औपचारिक कार्यक्रम, शुभकामना आदानप्रदान, विवाह, धार्मिक भेलामा बढी प्रयोग हुन्छ । अलैंचीको कफी चिया, पाचनशक्ति बढाउने औषधी बनाउन, सुगन्धित तेल निकालेर उच्च मूल्यमा बिक्री गर्न, अत्तर पर्फ्युम बनाउन, खाद्य मिठाइमा मिसाएर खानका लागि अलैंची प्रयोग गरिने उनीहरु बताउँछन् ।

कसले मूल्य निर्धारण गर्छ ? 

अलैंची व्यावसायी महासंघका कोशी प्रदेश संयोजक बालमणि बराल भारतीय बजार र व्यापारीले नेपालको अलैंचीको मूल्य निर्धारण गर्छ भन्नेमा सहमत छैनन् । उनले भने, ‘हामीले भारतीय बजार र व्यापारीलाई किन दोष दिने ? माग बढ्दा मूल्य बढ्ने हो, माग घटे मूल्य पनि घट्ने हो ।’

अलैंची व्यावसायी महासंघका कोशी प्रदेश संयोजक बालमणि बराल

उनी दोष नेपाल सरकारमै रहेको बताउँछन् । सरकारकै कारण किसान आफैंंले अलैंचीको मूल्य निर्धारण गर्न नसकेको उनको आरोप छ । उनी भन्छन्, ‘भारत हुँदै अन्तर्राष्ट्रिय बजार जाने अलैंचीका लागि ताप्लेजुङमै प्रशोधन केन्द्र, लेबलिङ, ब्राण्डिङ्, प्याकेजिङ, ग्रेडिङ्, पोलिसिङ गर्ने आधुनिक प्रविधि भित्राउने हैसियत भएको सरकार हामीले अहिलेसम्म पाउन सकेनौं । न त भारतीय बजारको विकल्प नै खोज्न सक्यौं ।’

त्यसो गर्न सक्दा प्रतिमन साढे दुईदेखि तीन लाख रुपैयाँँमा बेच्न सकिने बराल बताउँछन् ।

एक तथ्याङ्कअनुसार कोशी प्रदेशमा ७ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा झापाको काँकडभिट्टा नाका भएर ७ अर्ब ६७ करोड रुपैयाँँको नेपाली अलैंची भारतीय बजारमा निर्यात भएको मेची भन्सार कार्यालयको अभिलेख छ । यसमा ताप्लेजुङको योगदान सबैभन्दा बढी छ ।

भदौ अन्तिम र असोजदेखि टिप्ने सिजन शुरू भएपनि लेकाली बगानमा ढिलो पाक्ने भएकाले मंसिर अन्तिमसम्म अलैंची टिपेर भट्टिमा सुकाएर किसानले व्यापारीलाई बिक्री गर्ने गरेका छन् । हाल किसानहरूले उत्पादन गरेका अलैंचीलाई परम्परागत शैलीमा ग्रेडिङ गर्दै ठूला दानाको रुपमा ग्रेडिङ गरेको ‘उच्च गुणस्तर’को अलैंची प्रतिमन (४० किलो) को मूल्य एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको छ । दोश्रो गुणस्तरको कैंची कट (पुच्छर काटेको) अलैंचीले एक लाख एक हजार रुपैयाँ र चालु अलैंची ९८ हजार रुपैयाँको आसपास मूल्य पाइरहेको छ ।

२०६७ मा केही दिनका लागि प्रतिमन एक लाख दुई हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य २०७१ मा एक लाख पाँच हजार रुपैयाँँ सम्म पुगेको थियो । त्यसपछि फेरि ओरालो लाग्यो ।

कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ७ हजार सात सय ६३ मेट्रिक टन अलैंची उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा घटेर ७ हजार पाँच सय ८२ मेट्रिक टन उत्पादन भएको सरकारी तथ्याङ्कले देखाउँछ । पहाडी क्षेत्रमा किसानहरूले बर्सेनि अलैंचीको विरुवा रोपिरहेको र खेती विस्तार गरिरहेको देखिएपनि सरकारी तथ्याङ्कले भने उत्पादनमा थोरै–थोरै ह्रास आएको देखाएको छ ।

जोखिम जति किसानको भागमा

बाजेको पालामा रोपेको अलैंचीले अझैसम्म उत्पादन गरिरहेको देखिरहेका अलैंची किसानका लागि पछिल्लो समयमा आर्थिक उपार्जन गर्ने गतिलो माध्यम त बनेको छ तर जोखिम पनि उतिकै छ । अलैंची खेती प्राय पानी बग्ने भिरालो जमिन, ढुङ्ग्यान र पहाडी खोला खोल्सीका किनारमा सप्रेका देखिन्छन् । बाढी पहिरो त त्यस्तो जमिनमा आउने नै भयो ।

दशक यता नेपाली अलैंचीले उच्च मूल्य पाएको त छ तर कुनै पनि बेला ह्वात्तै घट्ने पो हो कि भन्ने चिन्ता भने किसानहरूमा छ ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमले वैदेशिक रोजगारपछि अलैंचीले स्थानीयको आर्थिक विकासमा मद्दत पुर्‍याएको बताउँछन् । उनी भन्छन्, ‘अलैंचीको आम्दानीले पक्की घर बनाएका छन् । नानीहरूलाई महंगा स्कुल कलेजमा पढाउन सकेका छन् । तर अलैंचीलाई खतरनाक रोग लाग्यो वा महामारीले छोप्यो भने त्यसपछि के होला भन्ने चिन्ता लागेको छ । किनकी अलैंची बाहेक अर्को नगदे बाली किसानहरूले आफ्नो खेतबारीमा लगाएकै छैनन् ।’

अध्यक्ष बनेम किसानहरूलाई अलैंची बाहेकका विकल्पमा पनि पालिकाले सहयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘प्रयोगको रुपमा सुन्तला, एभोकाडो जस्ता विरुवा पनि लगाउँदै गर्नुपर्छ भनेर भन्दै आएको छु ।’

रोगव्याधी मात्र होइन बजार पनि अर्को जोखिम हो । भारतीय बजार र उतैका व्यापारीमा निर्भर नेपाली अलैंचीको बजार स्थिर नभएकाले विकल्प खोज्नु पर्ने वनेमको सुझाव छ ।

यो वर्ष (मंसिर) मा प्रतिमन एक लाख रुपैयाँ आसपास पुगेको छ । अर्को वर्ष अलैंची लगाउँदा जोखिम छ भन्नेमा पनि विचार गर्नुपर्ने उनले बताए । बनेम भन्छन्, ‘भारतले कुनै बहाना बनाएर नेपाली अलैंची काकडभिट्टा नाकामै रोक्यो भने के गर्ने ? भारतीय व्यापारीहरूले नेपाली उत्पादनमाथि यस्ता धेरै काण्डहरू मचाएको विगतका उदाहरण पनि छन् ।’

‘ताप्लेजुङका ६१ मध्ये ६० वडामा अलैंचीको व्यावसायिक खेती’

नेपाल अलैंची व्यावसायी महासंघका कोशी प्रदेश संयोजक बालमणी बराल  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बस्छन् । उनी सबैभन्दा बढी अलैंची उत्पादन ताप्लेजुङमा भइरहेको बताउँछन् । फुङ्लिङ्स्थित घरैमा हार्डवेयर पसल समेत संचालन गर्दै आएका बरालले भने, ‘नेपालको ७७ जिल्ला मध्ये ४८ जिल्लामा अहिले अलैंची खेती हुन्छ । ती मध्ये ताप्लेजुङले मात्र ४८ प्रतिशत उत्पादनमा हुन्छ ।’

ताप्लेजुङका फुङ्लिङ नगरपालिका र आठराई त्रिबेणी, सिद्धिङ्वा, फक्ताङ्लुङ, मिक्वाखोला, मेरिङ्देन, पाथीभरा याङ्वरक र सिरिजङ्घा  गाउँपालिकाका ६१ वडा  छन् । बरालका अनुसार ताप्लेजुङको फक्ताङलुङ पालिकाको उच्च हिमाली भेग ओलाङचुङ्गोला बाहेक ६० वटै वडामा अलैंचीको व्यावसायिक खेती हुँदै आएको छ ।

२०१८ सालमा इलामस्थित जोगमाइमा अलैंची रोपिएको इतिहास छ । जोगमाईमा अलैंची सिक्किमबाट ल्याएर रोपिएको बताइन्छ । अहिले इलाममा भन्दा कैयौगुणा बढी ताप्लेजुङमा अलैंचीको खेती हुँदै आएको छ । पछिल्लो समयमा ताप्लेजुङका लेलेप, तापेथोक, युखावु (इखाबु), खेजेनिम, नाल्बु मामाङ्खे, याम्फुदेन, सङ्साबु, मैवाखोला, मिक्वाखेला र लिङ्खिम, तावा, सुरुम्खिम, तेल्लोक सिगैचा, हाङ्देवा, लिम्बुदेन, सांवा, लिवाङ, खोक्लिङ लगायत क्षेत्रमा अलैंची उत्पादन बढी हुने गरेको किसानहरुले बताउदै आएका छन् ।

ताप्लेजुङमा वार्षिक सरदर २५ सय (६२ हजार ५ सय मन) देखि ३ हजार मेट्रिक टन (७५ हजार मन) अलैंची उत्पादन हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । तर मूल्यमा स्थिरता नभएकाले कम मूल्य हुँदा वार्षिक दुई अर्ब रुपैयाँको कारोबार हन्छ भने मूल्य प्रतिमन एकलाख रुपैयाँको हाराहारीमा पुगेकाबेला करिव ६ अर्ब २५ करोड रुपैयाँ बराबरको कच्चामालको रुपमा अलैंची उत्पादन हुने गरेको छ ।

सबै तस्वीरहरू– प्रदीप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?