१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले विभिन्न कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।
अहिलेसम्म सर्वोच्च जलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
सर्वोच्च अदालत आगजनी र तोडफोडको अनुसन्धान अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेका छन् । दुई कार्यालयको संयुक्त टोली बनाएर अहिले काम भइरहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्य बताउँछन् ।
‘परिसर र हाम्रो कार्यालयबाट संयुक्त रुपमा एउटा टिम नै बनाएर काम गरेका छौं । सार्वजनिक भएको फोटो, भिडियो तथा सीसीक्यामेराको फुटेजको सहयोगमा काम भइरहेको छ,’ एसपी आचार्यले भने ।
अहिलेसम्म यो प्रकरणमा पाँच जना पक्राउ परेका छन् । जसमध्ये दुई जना यसअघि नै हातहतियार तथा आपराधि उपद्रवको कसुरमा पक्राउ परेका व्यक्तिहरू हुन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार समेत पठाइसकेको छ ।
जसमा काभ्रेको मन्डनदेउपुर घर भएका २३ वर्षीय एलेक्स नेपाली भनिने कुमार पराजुली र ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट भनिने राजु परियार छन् । उनीहरू जेनजी घटनामै यसअघि पक्राउ परेर आपराधिक उपद्रवको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति हुन् ।
सर्वोच्च जलाउन समेत उनीहरूको भूमिका देखिएपछि अहिले सर्वोच्च आगजनी तथा तोडफोड गरेको आरोपमा पनि अनुसन्धान अघि बढाइएको छ ।
एलेक्सलाई १२ कात्तिकमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनीबाट जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको थियो । लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट भएको थियो । एलेक्स गल्कोपाखामा रहेको एक बारका म्यानेजर समेत हुन् ।
त्यस्तै अहिले सर्वोच्च जलाएको आरोपमा अनुसन्धान अघि बढाइएको सम्राट त ज्यान मार्ने उद्योगसहित आठ मुद्दा चलेका व्यक्ति हुन् । उनले सर्वोच्चमै रहेको प्रहरीको एसएलआर बन्दुक लुटेर सिंहदरबार अघि कक गरेको भिडियो, फोटो समेत भाइरल बनेको थियो ।
त्यस्तै सर्वोच्च जलाएको आरोपमा अहिले झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीया ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ परिसर भद्रकालीको हिरासतमा छन् ।
उनीहरूविरुद्ध आपराधिक अपराधको कसुरमा अनुसधान अघि बढाइएको छ । उनीहरूले पनि जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ । सार्वजनिक भिडियो, फोटोको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सुशील यसअघि लागुऔषधमा मुद्दा चलेका व्यक्ति हुन् ।
त्यस्तै सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनले जलाएको भिडियो, फोटो भने प्रहरीले प्राप्त गरेको छैन । उक्सावट अभिव्यक्ति दिएर सर्वोच्च जलाउन मतियारको भूमिका निभाएको प्रहरीले बताएको छ ।
सर्वोच्च अदालत आगजनी र तोडफोड भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको छ । सर्वोच्च अदालत जल्दा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।
प्रतिक्रिया 4