Comments Add Comment

माधव समूहका केन्द्रीय सदस्यहरुको आशंका : ओलीले उपयोग मात्रै त गर्दैनन् ?

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका छन् । शुक्रबार दिउँसो भर्चुअल बैठक राखेर नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई बिहीबार ओलीसँग भएको बार्ताबारे ब्रिफिङ गरेका हुन् ।

ओलीसँग वार्ता भएपछि नेता नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो । राजीनामा रोकिएपछि बहुमतको सरकारको सम्भावना टरेर ओली फेरि प्रधानमन्त्री निर्वाचित भएका छन् भने शुक्रबार दिउँसो मन्त्रिपरिषद् गठन गरिसकेका छन् । ओली आफ्नो समूहले राखेको शर्त मान्न तयार भएकैले सहमति जुटेको नेता नेपालको भनाइ थियो ।

‘केपी ओली २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्व स्वीकार्न तयार हुनुभएको छ । तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने बाँकी हो’, नेता नेपालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने । नेता नेपालले राखेको शर्तबारे मात्रै ओलीसँग दुई घण्टा छलफल भएको बताएका छन् । ‘विषयवस्तुमै लामो छलफल भएको छ । र लगभग सहमति जुटेको छ । तर त्यसलाई कार्यदलले टुंग्याउने सहमति भएको छ’, नेता नेपालको भनाइ थियो ।

राजीनामा रोक्नु अगाडि ओलीलाई पठाएको ६ बुँदे शर्तबारे कसरी कार्यान्वयन गर्नेबारे कार्यदलले सहमति जुटाउने पनि ओली र नेपाल बीच सहमति जुटेको बैठकमा जानकारी दिइएको छ । ‘दुई जना (ओली र नेपाल) बीच भएको छलफललाई अझ खुलस्त बनाउन अरु नेताहरुसँग बस्न नेताहरु सिंहदरबार जानु भएको हो’, एक केन्द्रीय सदस्यले भने ।

ओलीसँग भएको वार्ताको ब्रिफिङ सुनेपछि केन्द्रीय सदस्यहरुले नेता नेपालसँग आशंका व्यक्त गरेका थिए । ओलीले यसअघि पनि उपयोगको नीति लिने गरेको भन्दै केही केन्द्रीय सदस्यहरुले धेरै विश्वास गर्न नहुने तर्क गरेका थिए ।

‘केपी ओलीले फेरि बेइमानी र गर्जो टार्न उपयोग गर्न सक्छन् । त्यसबारे सचेत हुनुपर्छ भनेर साथीहरुले कुरा राख्नुभएको थियो’, बैठक सहभागी ती केन्द्रीय सदस्यले भने । तर २ जेठ २०७५ को अवस्थामा पार्टी लैजाने कुरा सकारात्मक भएको नेताहरुको भनाइ थियो ।

‘हाम्रो माग पनि एमालेलाई एकताबद्ध बनाउनु नै हो । अध्यक्ष कमरेड त्यसका लागि तयार हुनुहुन्छ भने राम्रो कुरा हो’, केन्द्रीय सदस्य निरज आचार्यले भने । केन्द्रीय सदस्यहरुलाई बार्ताबारे ब्रिफिङ गरेपछि नेता नेपाल ओलीसँग फेरि वार्ता गर्न सिंहदरबार पुगेका छन् ।

सांसदहरुको राजीनामा रोक्दै एमाले एकतामा जोड दिने निर्णय पनि स्थायी कमिटी सदस्यहरुसँगको छलफलकै आधारमा गरेको बताएका नेपालले ओलीसँग फेरि वार्ता गर्न पनि अन्य नेताहरु सहित जाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment