Comments Add Comment

संक्रमित अस्पतालको आँगनमै, प्रधानमन्त्री भन्छन् : बेडको खासै कमी छैन

३१ वैशाख, काठमाडौं । कोरोना महामारीले विकराल रुप लिंदै गर्दा अस्पतालहरु गम्भीर बिरामीले भरिएका छन् । आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त धेरै पर भइसक्यो, अस्पतालको प्रांगणमा बसेर अक्सिजनसमेत पाउन सकेका छैनन् । अक्सिजन अभावकै कारण हरेक दिन मानिसले मृत्युवरण गर्नु परेको छ ।

शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुग्दा धेरै बिरामी बेडको पर्खाइमा देखिए । अस्पताल भवनको पिंढीमा राखिएका बेड, बेञ्चीमा सुतेर संक्रमितहरु अक्सिजन लिइरहेका छन् । कति बेड पाइन्छ ? कुनै निश्चित छैन ।

शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालको कोभिड वार्ड बाहिर रहेका संक्रमित, जो अस्पतालभित्र वेड पाइने आशमा यसरी नै दिन काटिरहेका छन् । तस्वीरः शंकर गिरी/अनलाइनखबर

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था यो भन्दा फरक छैन । आईसीयू, वार्ड र इमर्जेन्सी भरिएपछि बाहिर आँगनमै जस्ताको छानाको ओत लागेर संक्रमितहरु बसिरहेका छन् । ग्यारेजमा थपेका १० बेड क्षणभरमै भरिए । बेड पाउने आशमा आउने कोरोना संक्रमण भएका गम्भीर बिरामीहरुलाई राख्ने ठाउँ नभएकै कारण फर्काउनु परेको त्यहाँका चिकित्सकहरु बताउँछन् ।

शुक्रबार साँझ शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी बाहिर रहेका संक्रमित, जो अस्पतालभित्र वेड पाइने आशमा यसरी नै दिन काटिरहेका छन् । तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

तर देशको कार्यकारी प्रधानमन्त्री केपी ओलीको दाबी छ, बेडको खासै अभाव छैन । सुविधासम्पन्न अस्पतालमा जाने इच्छा राखेका कारण खासखास अस्पतालमा बिरामीहरु केन्द्रित हुने र अरु ठाउँहरुमा बेडहरु रिक्त रहने पनि स्थिति छ ।

महामारीका कारण हरेक दिन केही समय मानिसले मृत्युवरण गरिरहँदा राजनीतिक दलहरु सत्ताको खेलमा जुटेका थिए । वैकल्पिक सरकार गठन गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमाको प्रयासलाई विफल पार्दै एमाले अध्यक्ष ओली बिहीबार तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।

उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिए । २५ सदस्यीय मन्त्रिमण्डल बनाए । प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरुले सिंहदरबारमा आएर पदभार ग्रहण गरे ।

प्रधानमन्त्री ओलीले शुक्रबार नै ललितपुरको गोदावरीमा निर्माण गरिएको सभाहलको उद्घाटन पनि गरेका छन् । दुवै कार्यक्रममा कोरोना महामारीबारे बोलेका प्रधानमन्त्री ओलीकाे दाबी छ, अस्पतालमा बेडहरुकाे खासै कमी छैन ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले भनेका छन् :

पदभार ग्रहण गरेपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीरः रासस

हामीसँग अस्पतालमा बेडहरुको खासै कमी छैन । तर अस्पतालका बेड एकातिर बिरामीहरु अर्कोतिर पर्ने अवस्था छ । बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने इच्छा सबैको हुन्छ, ताकि बाँच्न सकियोस् । त्यसकारणले गर्दा खासखास अस्पतालहरुमा मानिस केन्द्रित हुने, बिरामीहरु केन्द्रित हुने र अरु ठाउँहरुमा बेडहरु रिक्त रहने पनि स्थिति छ ।

सबै ठाउँमा बेडको उपलब्धता, बेड मात्र होइन अक्सिजनसहितका बेडहरु, त्यो मात्र होइन आवश्यक उपकरणसहित बेडहरु, चिकित्सक, नर्स र अरु स्वास्थ्यकर्मीसहित अस्पतालको प्रबन्ध गर्ने काममा लागेका छौं । अक्सिजनको अभाव पूर्ति गर्न देशभित्रका प्लान्टहरुलाई सम्पूर्ण क्षमतामा सञ्चालन गर्ने र देशबाहिरबाट लिक्विड अक्सिजन सकेसम्म छिटो उपलब्ध गराउने प्रयासहरु अगाडि बढाइएको छ ।

सभाहलको उद्घाटन कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले महामारीबारे बोलेका छन् । महामारीको पूर्व तयारी नहुने भएकाले अस्पतालको क्षमताभन्दा बाहिर करिडोर, पेटीको प्रयोग गर्नुपर्ने अवस्था आउने बताए । ‘कोभिडको प्रकोप बढिरहेका बेला अस्पतालमा उपचार सम्भव नभएर घरमै, सडकमा पाल टाँगेर अक्सिजन लगायतका सुविधा उपलब्ध गराउनुपर्ने जस्ता कुरा विकसित देशहरुमा देखेका छौं’ उनले भनेका छन् ।

यतिबेला हामी कोभिडविरुद्धको लडाइँमा केन्द्रित भइरहेका छौं । त्यसको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भएका छौं । यो एउटा महामारी हो, त्यसकारण यसको पूर्वतयारी पहिले नै हामीसँग हस्पिटल, उपकरण जस्ता कुरा थिएन । स्वाभाविक हो । महामारीजस्तो कुराको कहीं पनि पूर्व तयारी हुँदो रहेनछ । एक हजार बेडको हस्पिटल छ भने महामारीले १० हजार मान्छेलाई बिमारी परिदिन्छ ।

त्यसकारण अस्पतालको क्षमताभन्दा बाहिर करिडोर वा पेटीहरुको प्रयोग गर्नुपर्ने अनेक प्रकारका समस्याहरु कहिले कहिले बाहिर पाल टाँग्नुपर्ने …। हामीले युरोप अमेरिकाका कतिपय देशहरुमा कोभिडको प्रकोप बढिरहेका बेला अस्पतालमा उपचार सम्भव नभएर घरमै, सडकमा पाल टाँगेर अक्सिजन लगायतका सुविधा उपलब्ध गराउनुपर्ने जस्ता देखेका छौं । हामी त्यो हुन नदिन यहाँ तीव्रताका साथ कोशिश गरिरहेका छौं । जसरी हामी तयारी गर्दैछौं, त्योभन्दा छिटो गतिमा कोभिड बढिरहेको छ । र, हामी कोभिडलाई नियन्त्रण गर्न त्योभन्दा तीव्र गतिमा आफ्ना प्रयत्नहरुलाई केन्द्रित गर्ने नीतिका साथ अगाडि बढिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment