Comments Add Comment

भारतसँग नेपाली व्यापारः राणाकालमा नाफा, गणतन्त्रमा घाटा

प्रचण्डको भारत भ्रमणमा समीक्षा गर्न जरुरी

Nepal-India

२९ भदौ, काठमाडौं । आजभन्दा १०२ वर्षअघि नेपालले भारतलाई १ करोड ५९ लाख ३६ हजार रुपैयाँको चामल बेच्थ्यो । त्यस वर्ष भारतसँग नेपालले २ करोड ४ लाख ८० हजार रुपैयाँको सामान किनेको थियो भने भारतलाई ४ करोड २५ लाख रुपैयाँ बराबरको सामान बेचेको थियो ।

तर, गत आर्थिक वर्ष ०७२/०७३ मा हामीले भारतसँग २२ अर्ब रुपैयाँको चामल किन्यौं । त्यतिमात्र होइन, चामलसँगै चाहिने तरकारी ८ अर्ब, सवा अर्बके नून, १ अर्बको मासू र अर्ब बढीको दूध किन्यौं । ३५ करोडको चिनी र ६ करोडको चिया किन्यौं । अढाई अर्बका जिउँदा जनावार किन्यौं ।

त्यस्तै, ६३ अर्बको सवारी साधन, ६६ अर्बको पेट्रोलियम पदार्थ, सवा १२ अर्बको विद्युतीय सामाग्री किन्यौं । यतिसम्म कि हामीले उपयोग गर्ने अधिकांश वस्तु भारतबाटै आउँछन् ।

गत वर्ष हामीले भारतबाट कूल ४ खर्ब ७७ अर्ब २१ करोड रुपैयाँको सामान किनेका छौं, भारतलाई जम्मा ३९ अर्ब ४९ अर्ब रुपैयाँको सामान बेचेका छौं । भारतसँगको नेपालको व्यापार घाटा ४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ ।

भारतबाट भएको कृषि वस्तुका आयात हेरेर हामीलाई नेपाल कृषि प्रधान देश हो भन्न लाज लाग्नुपर्ने हो । तर पनि हामी भनिरहन्छौं- नेपाल कृषि प्रधान देश हो । हामीले देशभित्र कृषि उत्पादन गरेर पर्याप्त उपयोग गरेर पनि भारतलाई अर्बौका कृषि उत्पादन बेच्न सक्ने संभावना छ । हामीले आन्तरिक उत्पादन बढाउन नसक्दा कृषिजन्य वस्तुहरुमा समेत भारतको भर पर्नुपरेको छ ।

राणाकालमा नेपालबाट ठूलो परिमाणमा धान चामल भारतमा निर्यात हुन्थ्यो । धान चामल निर्यातले व्यापार सन्तुलन मात्रै गर्दैनथ्यो । भारतसँगको नेपालको व्यापारलाई बचतमा पनि राखेको थियो । आजभन्दा ४६ वर्षअघि अर्थात् सन् १९७० को दशकसम्म नेपाल धान चामल निर्यातमा विश्वकै चौथो मुलुक रहेको थियो ।

निर्यात घटेको घट्यै छ भने आयात बढेको बढ्यै छ । जसकारण पछिल्ला वर्षहरुमा भारतसँगको व्यापार घाटा चुलिँदै गएको हो । पाँच वर्षअघि अढाई खर्ब रुपैयाँ रहेको व्यापार घाटा गत वर्ष ४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ ।

भारतसँगको नेपालको व्यापार घाटा बजेटको ४० प्रतिशतभन्दा बढी हो । अन्य देशसँगको सहित जोड्ने हो भने त नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब बढी छ । कहालीलाग्दो व्यापार घाटा नै मुलुकको विद्यमान चुनौति हो ।

व्यापारमा भारतीय हस्तक्षेप बढिरहेको अवस्थाले प्रष्टसँग यो संकेत गर्छ कि नेपालमा भारतको राजनीतिक हस्तक्षेप पनि बढिरहेको छ । त्यसैले जबसम्म व्यापार घाटा घटाएर भारतसँग बचतको व्यापार गर्ने स्थितिमा हामी पुग्दैनौं तबसम्म राजनीतिक हस्तक्षेप रोकिने छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा वर्षौंदेखि ओझेलमा पर्दै आएका आर्थिक/सामाजिक मुद्दाहरुलाई प्राथमिकताका साथ उठाउनुपर्ने टड्कारो आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् ।

मुरारकाका अनुसार चुलिएको व्यापार घाटालाई कम गर्दै बचतको व्यापार सुरु गर्नका लागि नेपालले ठूलो लगानी भित्र्याउनु नै अहिलेको मुख्य चुनौति हो । तिनै भारतीयहरुको लगानी नेपालमा भित्र्याएर भारतसँगको व्यापार बचतमा लैजान सक्ने अवसर प्रधानमन्त्री प्रचण्डसँग छ ।

‘आयात प्रतिस्थापन गर्ने र निर्यात सहजीकरण गर्नुपर्छ,’ मुरारकाले भने- ‘मुलुकको उत्पादन बढाउनका लागि भारत लगायतका देशबाट ठूलो लगानी ल्याउनुपर्छ ।’

नेपालमा हुने कूल वस्तु आयातमध्ये ६४ प्रतिशत भारतबाटै आउँछ । त्यतिमात्रै होइन, भारतमा भएका नीतिगत परिवर्तनहरुले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले भारतमा महंगी बढ्दा नेपालमा पनि महंगी बढ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment