Comments Add Comment

पर्यटनका लागि हेटौंडामा अन्तर्राष्ट्रिय चित्रकला

chitrakala
४ असोज, हेटौंडा । आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्न हेटौँडामा शनिबारदेखि अन्तर्राट्रिय चित्रकला कार्यशाला सुरु भएको छ ।

हर्नामाडी कला प्रतिष्ठानको आयोजनामा हेटौँडा–२४ हर्नामाडीको गुम्बाडाँडामा चित्रकला कार्यशाला सुरु भएको हो । बुधबारसम्म सञ्चालन हुने कार्यशालामा पाँच देशका अन्तर्राष्ट्रियस्तरका ३३ चित्रकार सहभागी छन् ।

कार्यशालामा चीनबाट डा जियाङ याङ निग्मा, भारतबाट सुरेश के नायर, बङ्गलादेशबाट फहमिदा इनाम काकोली र बेलायतबाट मार्टिन बेञ्जामिन ट्राभर्सका साथै नेपालका शशीविक्रम शाह, वीरेन्द्रप्रताप सिंह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, अशोकमान सिंह, शरद् रञ्जित, जीवन राजोपाध्याय, बुद्धि गुरुङ, केके कर्माचार्य र श्यामलाल श्रेष्ठ सहभागी हुनुहुन्छ ।

त्यसैगरी शङ्करराजसिंह सुवाल, गोविन्दसिंह डङ्गोल, उमाशङ्कर साह, नवीन्द्रराज भण्डारी, गौतम मानन्धर, उत्तम खरेल, मदन चित्रकार, चन्दा श्रेष्ठ, सुनीता राणा, सरोज वज्राचार्य, मुकेश श्रेष्ठ, हर्नामाडीका लक्ष्मण भुजेल सहभागी छन् ।

प्रतिष्ठान अध्यक्ष हर्क रम्तेलले चार वर्षअघि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको गुम्बाडाँडा, मूर्तिबगैँचा क्षेत्रमै कलाकारले खुला रुपमा आफ्ना अनुकूलका स्थान रोजेर चित्र कोर्ने व्यवस्था गरिएको जानकारी दिए ।

तेत्तिस कलाकारले तयार पारेको चित्र प्रदर्शनीका लागि कक्ष पनि निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यशालाको वृत्तचित्र पनि निर्माण गरिने स्थानीयवासी डा तारालाल श्रेष्ठले जानकारी दिए । पर्यावरणीय यरुपमा सुन्दर गुम्बाडाँडालाई विविध कलात्मक सौन्दर्यले सुसम्पन्न कला गाउँका रुपमा परिचित गराउने उद्देश्यले यस प्रकारको कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रम्तेलको भनाइ छ ।

चित्रकलाको अभ्यास भइरहेकै बेला चित्रकारको मनोभावलाई बुझेर साहित्यकारले साहित्य रचना पनि गर्ने साहित्य सङ्गम मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment