Comments Add Comment

फेवातालमा अब नेपाली झन्डाको पनि छाया, एक करोड लगानी

फेवातालमा माछापुच्छ्रेको छायाँ । अब नेपाली झण्डाको पनि छायाँ देखाउने योजना सरकारले बनाएको छ ।

१७ साउन, पोखरा ।
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,
पोखरा त साँच्चिकैको पोखरा नै रैछ ।

गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’को कालजयी गीत हो, यो । गीतले भनेजस्तै साँच्चिकै पोखरा ड्यामसाइडबाट फेवातालमा कुमारी हिमाल माछापुच्छ्रेको छायाँ देखिन्छ । फेवातालमा देखिने माछापुच्छ्रेको छायाँको बिम्बलाई टिपेर थुप्रै गीत, कविता बनेका छन् । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ’ यो अर्को प्रकाश श्रेष्ठको चर्चित गीत हो ।

फेवातालमा माछापुच्छ्रेको छायाँ र यसको बिम्बबारे केही प्रचार भए पनि यो अझै पर्यटकीय गन्तब्य बन्न सकिरहेको छैन । अब भने प्रदेश सरकारले यसलाई अझै विशेषता थपेर ब्रान्डिङ गर्दै पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने भएको छ ।

पोखरा महानगरपालिकासँगको समन्वयमा प्रदेश सरकारले फेवाको माछापुच्छ्रे छायाँमा नेपाली झन्डा राखेर पर्यटकीय आकर्षण बढाउने योजना अगाडि सारेको हो । फेवातालमा माछापुच्छ्रे छायाँमाथि अब नेपाली झन्डा पनि देखिने गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

सरकारले ड्यामसाइड पार्कलाई झन्डा पार्कको रुपमा विकास गर्ने योजना बनाएको छ । अहिलेसम्म फेवातालमा परेको माछापुच्छ्रे छायाँसँगै फोटो खिचेर जान सकिन्थ्यो भने अब फेवाको माछापुच्छ्रे छायाँमात्रै होइन नेपालको झन्डा पनि फोटोमा कैद हुनेछ । ‘पोखरा नेपाल’ लेखिएको नेपाली झन्डा पनि माछापुच्छ्रे छायाँसँगै देखाइने छ ।

एक करोड लगानी

झन्डा पार्कको रुपमा विकास गर्न एक सय मिटर अग्लो झन्डा त्यहाँ राखिने छ । र त्यो झन्डाको छायाँ माछापुच्छ्रेको शिरमा हुनेछ । झन्डा पार्क बनाउने योजनाका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले आधा-आधा खर्च व्यहोर्ने गरी एक करोड रुपैयाँ छुट्याइएको छ ।

‘फेवातालमा देखिने माछापुच्छ्रे छायाँलाई थप आकर्षक र ब्रान्डिङ गरी बढीभन्दा बढी पर्यटक भित्राएर प्रदेशको समृद्धि हाँसिल गर्ने हाम्रो योजना हो,’ सरकारका प्रवक्ता बस्नेतले भने, ‘प्रदेश सरकारले समृद्धिको पहिलो आधार पर्यटनलाई नै मानेको छ ।’

पोखरा महानगरपालिकासँगको सहकार्यमा निर्माण हुने यो योजनालाई मन्त्रिपरिषदले पारित गरिसकेको छ । यो योजनाको सम्भाव्यता अध्ययन पनि भइसकेको छ । ‘प्राविधिक अध्ययन र धेरै विचार गरेर यो योजना अगाडि सारेका हौं,’ प्रवक्ता बस्नेतले भने, ‘यो योजनाले पर्यटकीय महत्वका साथै राष्ट्रियताको पनि भावना जागृत गराउने छ ।’

झण्डा पार्कको निर्माण तथा झण्डा नै राख्दा पनि पर्यावरणलाई नबिगि्रने तरिकाले काम गरिने पोखरा महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले यसको टेन्डर आहृवानको तयारीसमेत गरिरहेको छ ।

धेरै पर्यटक भित्राउने लक्ष्य

प्रदेश सरकारले भएका पर्यटकीय गन्तव्यलाई थप परिस्कृत गर्ने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने र धरैभन्दा धेरै पर्यटक भित्राउने लक्ष्य राखेको छ । गण्डकी प्रदेश सरकारले पर्यटनलाई नै पहिलो समृद्धिको आधार मानेर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्य राखिरहँदा २०२२ भित्र गण्डकी सरकारले पनि सोही संख्यामै पर्यटक भित्राउने महत्वाकांक्षी लक्ष्य राखेको छ । प्रदेशको लक्ष्य प्राप्तिका लागि यस्तै पर्यटकीय गन्तव्य महत्वपूर्ण रहने प्रवक्ता बस्नेत बताउँछन् ।

त्योभन्दा अगाडि २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा मनाइँदै छ । त्यसका लागि नीति तथा कार्यक्रममार्फत नै जोड दिएको छ ।

पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्न ‘अतिथिदेवो भवः’ अभियान निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्ने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment