+
+
Shares

‘विमानस्थलमा वाल पेपर च्यातिन्छ, ट्वाइलेट पेपर चोरिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते १८:३१

३ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयले नियमित बजेट खर्चिएर अस्तव्यस्त बनेको एयरपोर्टलाई व्यवस्थित गर्न प्रयास गरिरहेको छ । तर, सुधारका लागि राखिएका तथा सजाइएका वस्तुहरु बिगार्ने, च्यात्ने र जथाभावी फोहोर गरिदिने लगायतका समस्याले विमानस्थल प्रशासन हैरान भएको छ ।

विमानस्थललाई सुधार गर्न सरकारले प्रयास थालेको लामो समय भएको छैन । सुधारका लागि ‘बुटिक एयरपोर्ट’ को अवधारणा ल्याइए पनि त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले छुट्टै बजेट पाइसकेको छैन ।

तत्कालका लागि विमानस्थललाई अव्यवस्थित देखिन नदिन टर्मिनलभित्रका पिल्लरहरुमा वाल पेपर लगाइएको छ, तर छोटो समयमै तीनपटक यी वाल पेपर च्यात्ने काम भइसक्यो ।

‘हामी त पिल्लरमा काठ राख्न चाहान्थ्यौं, तर बजेट पाइसकेका छैनौं । त्यतिन्जेलसम्म पनि विमानस्थलमा सुधारको अनुभति होस् भने वाल पेपर टाँसेका हौं,’ विमानस्थल प्रमुख राजकुमार क्षेत्री भन्छन्, ‘तर, पटक-पटक च्यात्ने काम भइरहेको छ । जसले गरे पनि यस्तो काम नभइदिए हुन्थ्यो ।’

समस्या ‘वाल पेपर’मा मात्रै छैन, विमानस्थलको सफाइमा पनि यात्रुको प्रवृत्ति चुनौती बनेको छ ।

यात्रुहरुले पानी प्रयोग गरेपछि धारा खुल्लै छोडिदिने समस्या पनि विमानस्थलमा ब्याप्त छ । विमानस्थलका एक कर्मचारीका अनुसार शौचालयको प्यानको कम्मोड भाँचिदिने समस्या पनि दोहोरिरहन्छ ।


‘कतिले बेसिनमै खुट्टा चढाएर धोइदिनुहुन्छ । कतिले सफा राख्नुपर्ने ठाउँमै जथाभावी फोहोर पुछ्नुहुन्छ,’ एक कर्मचारीले भन्छन्,’विमानस्थलमा जथाभावी थुक्ने पनि छँदैछन् ।’

ती कर्मचारीका अनुसार कतिपयले त ट्वाइलेट पेपर नै बोकेर हिँडिदिने समस्या पनि छ । यस्तो काम प्रायः नेपाली यात्रुहरुले नै गर्ने गरेको विमानस्थलको सफाइमा खटिने कर्मचारी आरोप लगाउँछन् ।

‘जानी-नजानी यस्तो भएको हुन सक्छ । अब विमानस्थल सफा गर्ने काममा यात्रुले पनि सघाउनुपर्छ,’ विमानस्थलका प्रमुख क्षेत्री भन्छन्,’विमानस्थलको छवी सुधार्न सबैको भूमिका महत्वपूर्ण हुन्छ ।’

उनले आवश्यक बजेट व्यवस्थापन भएपछि विमानस्थललाई दीर्घकालीन रुपमा सुन्दर देखिने गरी व्यवस्थापन गर्ने बताए । विमानस्थललाई बुटिक बनाउने गरी कार्यालयले काम थालिसकेको छ ।

विज्ञापन बोर्डहरु हटाउँदै बैशाखसम्म एयरपोर्टलाई मौलिक स्वरुपको बनाउने लक्ष्य सरकारको छ । विमानस्थलको टर्मिनल भवन निकै पुरानो भइसकेकाले अब भएको भवनलाई व्यवस्थित गर्ने गरी सुधारको प्रयास थालेको क्षेत्री बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?