Comments Add Comment

गोरखाका ग्रामीण सडकको अव्यवस्था

Gramin-Road

१० असोज, गोरखा । गोरखा सदरमुकामदेखि आरुघाट, भच्चेक, बारपाकलगायत विभिन्न ३२ ग्रामीण सडकमा विगत छ महिनादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

गत वैशाखदेखि ग्रामीण सडक अवरुद्ध भएका थिए । छिटो वर्षा भएकाले यसवर्ष ग्रामीण सडक विगतका वर्षको तुलनामा लामो समय अवरुद्ध हुँदा गाउँका जनता हिँड्न बाध्य छन् भने खाद्यान्न, निर्माण सामग्रीको ढुवानी ठप्पजस्तै भएको छ ।

मध्यपहाडी लोकमार्गको आरुघाटदेखि घ्याम्पेसाल खण्डमा हिलैहिलो छ । ट्र्याक्टर, फोरह्लील ट्रक तथा यात्रुबाहक बस सञ्चालन भएका छैनन् ।

सदरमुकामदेखि घ्याम्पेसालसम्मको बाटो पनि हिलोले गर्दा सवारी आवागमनमा समस्या हुँदै आएको छ । “गोरखा सदरमुकाम, बेनीघाट र धादिङका सडक हिलो हुँदा सामान ढुवानी गर्न पाएनौँ” आरुघाटका व्यापारी गणेश श्रेष्ठले गुनासो गरे–“व्यापार चौपट भयो ।”

आरुघाटबाट उत्तरी भेगका विभिन्न १३ गाविसमा दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गरिन्थ्यो । पसलमा सामान नहुँदा बिक्री घटेको श्रेष्ठको भनाइ छ ।

गोरखा–आरुघाट सडक विगत पाँच वर्षअघि १४ करोड लगानी गरी ग्राभेल गरिएको थियो । ती सडक अहिले खाल्डैखाल्डामा रुपान्तरण भइसकेका छन् । यसवर्ष विगत वर्षको तुलनामा धेरै वर्षा हुँदा सडक क्षेत्रमा ठूलो पहिरो झरेको छ ।

त्यस्तै सदरमुकाम, काठमाडौँबाट छुटेका सवारी भच्चेक, हर्मी, बुङ्कोट, नाम्जुङ, बोर्लाङ, घैरुङ, मनकामनालगायत क्षेत्रमा पुग्न सकेका छैनन् । भच्चेकसम्मको सडक सञ्चालन नहुँदा हंसपुर, खरिबोट, केरावारी, मुच्चोकसहित पूर्वी लमजुङको विचौर, दूधपोखरी, इलिमपोखरीका वासिन्दा ठूलो मर्कामा परेका छन् ।

ग्रामीण सडक अवरुद्ध भएपछि भूकम्पपछिको पुनःनिर्माणको काम ठप्प छ । निर्माण सामग्रीको ढुवानी गर्न नसक्दा पहिलो किस्ता बुझेका भूकम्प प्रभावितले पनि घर बनाउने काम थाल्न पाएका छैनन् । “छोप्राक–भच्चेक सडकखण्डमा हिलैहिलो छ” छोप्राकका कालिका पोखरेलले भने – “रातोमाटोमा गाडीका टायर चिप्लिन्छ ।”

साथै सदरमुकामदेखि १२ किमी क्षेत्रभित्र रहेको बुङ्कोट पुग्ने बाटो हिलैहिलो हुँदा सवारी आवागमन हुन सकेको छैन । असार अन्तिममा सडक स्तरोन्नतिको काम गरिँदा ग्राभेल गरिएका सडक पुनः हिलोमा परिणत हुँदा सवारी चल्न नसकेका हुन् ।

सदरमुकामदेखि सौरपानी, ताकुकोट, बारपाक, लाप्राक, गुम्दा, घ्याच्चोक, सिम्जुङ, मुच्चोक, श्रीनाथकोटलगायत क्षेत्रमा विगत छ महिनादेखि यात्रुबाहक बस सञ्चालनमा आउन सकेको छैन । यस्तै क्षेत्र नं १ का ताक्लुङ, घैरुङ, मकैसिङ, मनकामनालगायत गाविसमा पनि ग्रामीण सडक पहिरोले गर्दा अवरुद्ध छ ।

हिन्दूहरुको महान् चाड दशैं-तिहार मुखमा आएका बेला ग्रामीण सडक मर्मत सुरु गरिएको छैन । जिल्लास्थित सडक कार्यालयले ग्रामीण सडक मर्मतका लागि सूचना जारी गरिसकेको भए पनि आकासे पानी अझै नथामिएकाले सडक मर्मतको काम सुरु नभएको हो । ग्रामीण सडक अवरुद्ध हुँदा सयभन्दा बढी सवारी गुडाउन नसकिँदा व्यवसायीलाई दिनहुँ लाखौँ घाटा परेको यातायात व्यवसायी समिति गोरखाले जनाएको छ ।

जिल्लास्थित सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले आउँदो तीन वर्षभित्र १५० किमी सडक कालोपत्रेको योजना रहेको भन्दै कालापत्रे नगरेसम्म ग्रामीण सडक हिउँदमा धुलो र बर्खामा हिलो हुने बताए । बारपाक, आरुघाट, भच्चेकलगायत सडक कालोपत्रे गर्ने योजनामा रहेका छन् ।

स्थानीय विकास अधिकारी नारायण आचार्यले दसैँ अगाडि नै ग्रामीण सडक मर्मत गर्ने बताए । राजनीतिक परामर्श समितिको आइतबारको बैठकले सबै ग्रामीण सडकमा बस चल्न सक्ने बनाउने निर्णय गरेको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment