१३ असोज, काठमाडौं । भारत र पाकिस्तानवीच युद्ध भइहाल्यो भने कसले जित्ला ? धेरैको अनुमान हुन सक्छ, ठूलो र शक्तिशाली देश भएकाले भारतले पाकिस्तानलाई कच्याक-कुचुक पारिदिन सक्छ । भारतसँग बढी हतियार र आणविक अस्त्र भएकाले पाकिस्तान सहजै परास्त हुन सक्छ । तर, स्थिति भारतले सोचेजस्तो सजिलो छैन ।
अमेरिकामाथि कुनै देशबाट आतंकवादी हमला भयो भने अमेरिकाले आँखा चिम्लेर उक्त देशमाथि धावा बोल्ने गरेको छ । तर, भारतले त्यसो गर्न सकेको छैन । उरीमा जस्तै पठानकोटमा आतंकवादी हमला हुँदा भारतले पाकिस्तानविरुद्ध केही पनि गर्न सकेन, किन ? यस्ता प्रश्नमाथि अहिले भारतीय सञ्चार माध्यममा सघन बहस भइरहेको छ ।
आणविक युद्ध भए विश्वले कति मूल्य चुकाउनुपर्ला ?
राज्यसभाका भाजपा नेता सुब्रह्ण्यम स्वामीले भनेका थिए, यदि पाकिस्तानी आणविक आक्रमण गर्यो भने १० करोड भारतीय मारिनेछन् । तर, भारतको प्रतिकार गर्दा सिंगो पाकिस्तान नै सकिनेछ ।
तर, स्वामीले जे भने पनि भारत र पाकिस्तानको आणविक युद्ध दुई देशका लागि मात्र नभएर विश्वकै लागि निकै महंगो पर्नेछ । र, विस्फोट, जलेर र रेडिएसनका कारण एक सातामै दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने संख्याभन्दा आधा मानिसको मृत्यु हुनेछ ।
साथै यो संख्या सन् २००६ देखि २०१५ सम्म भारतमा भएको आतंकवादी आक्रमणमा मारिएका सैनिक र गैरसैनिक मानिसको संख्याको २२२१ गुणा हुनेछ । यो अमेरिकाको रुटगर्स, कोलोराडो बोल्डर र क्लालिफोर्निया विश्वविद्यालयले संयुक्त रुपमा सन् २००७ मा गरेको अध्ययनले देखाएको इण्डिया स्पेन्डले जनाएको छ ।
भारत र पाकिस्तानबीच आणविक युद्ध भएमा त्यसका कारण हावापानीमा हुने परिर्वतनले विश्वभर दुई अर्ब मानिस भोकमरिको शिकार हुने अन्तराष्ट्रिय आणविक युद्ध रोकथामका लागि संगठित चिकित्सकहरुको एक समूहले २०१३ मा प्रक्षेपण गरेका थियो ।
सन् २०१५ को तथ्यांकअनुसार पाकिस्तानसँग ११० देखि १३० आणविक क्षेप्यास्त्रहरु छन् । र, भारतसँग १२० आणविक क्षेप्यास्त्र रहेको अनुमान छ ।
भारतले गर्न सक्ने पाँच काम
भारत र पाकिस्तानवीच तनाव बढ्दै गइरहेका बेला बिहीबार भारतले पाकिस्तानमाथि ‘सर्जिकल स्ट्राइक’ गरेको जनाएको छ । पाकिस्तानले आफ्ना दुई सैनिकहरु मारिएको जनाएको छ । तर, यसलाई ‘सर्जिकल स्ट्राइक’ मान्न नसकिने पाकिस्तानको भनाइ छ ।
यो स्थितिमा भारतले अब पाकिस्तानमा के-कस्तो कारवाही गर्न सक्छ ? यसबारे भारतीय विश्लेषकहरुले विभिन्न ५ वटा विकल्प अघि सारेका छन्ः
१. सर्जिकल स्ट्राइकः सर्जिकल स्ट्राइक भनेको त्यस्तो फौजी कारवाही हो, जहाँ सेनाको सानोभन्दा सानो टुकडीको माध्यमबाट दुश्मन रहेको स्थान वा अड्डामा हमला गरिन्छ र दुश्मनमाथि क्षति पुर्याइन्छ ।
यस्तो सर्जिकल स्ट्राइकमा जनधनको क्षति हुँदैन र आक्रमणकारीले पनि खासै क्षति व्यहोर्दैन । पाकिस्तानमा लुकेर बसेका ओसामा विन लादेनलाई अमेरिकाले यही ‘सर्जिकल स्ट्राइक’ मार्फत मारेको थियो । उसले जीपीएसमार्फत ओसामा बसेको ठाउँ ट्रयाक गरेको थियो ।
तर, के भारतले पाकिस्तानमा लुकेका भनिएका आतंककारीहरुलाई यसैगरी सर्जिकल स्ट्राइकमार्फत् नै निमिट्यान्न पार्न सक्ला ? भारतीय रक्षा विशेषज्ञ एसआर सिन्होले भारतीय सञ्चार माध्यमलाई दिएको प्रतिक्रियालाई आधार मान्ने हो भने पाकिस्तानमा सर्जिकल स्ट्राइकबाट लक्ष हासिल गर्न भारतलाई सम्भव छैन । सिन्होका अनुसार १० जना आतंककारी मारेर भारतलाई केही पनि उपलब्धि हुँदैन ।
२. हट परस्युटः पाकिस्तानमाथि गरिने भारतीय कारवाहीको अर्को विकल्प हो हट परस्युट । यो कारवाहीमा पनि सीमा पार गएर आक्रमण गरिन्छ । तर, यसमा सर्जिकल स्ट्राइक भन्दा धेरै सैनिकहरुको टुकडी सहभागी हुन्छ ।
अघिल्लो साल म्यानमारमा लुकेर बसेका आतंककारीहरुलाई भारतले म्यानमारमै प्रवेश गरेर ‘हट परस्युट’ कारवाही गरेको थियो । मणिपुरमा आफ्ना १८ सैनिक मारिएपछि भारतले म्यानमारमा प्रवेश गरेर ‘हट परस्युट’ गरेको हो ।
तर, यो अप्रेसनमा भारतीय सेनालाई म्यानमारको सरकारले सहयोग गरेको थियो । र, त्यहाँका जनताको पनि भारतीय सैनिकलाई समर्थन थियो ।
जहाँसम्म पाकिस्तानमाथि हट परस्युट अप्रेसनको कुरा छ, यसमा न त पाकिस्तान सरकारले भारतीय सेनालाई सहयोग गर्ने छ, न त पाकिस्तानी जनताले नै साथ दिनेछन् । यो अवस्थामा पाकिस्तानभित्र छिरेर भारतले हट परस्युट गर्न सक्ने अवस्था नरहेको रक्षा मामिलाका जानकारहरुको तर्क छ ।
३. क्रस बोर्डर स्ट्राइकः ‘क्रस बोर्डर स्ट्राइक’ भनेको सीमाना पार नगरी आफ्नै भूमिबाट दुश्मनमाथि गरिने आक्रमण हो । भारतले पाकिस्तानमाथि यसरी हमला गर्यो भने उसमाथि अन्तरराष्ट्रिय आलोचना हुन सक्ने विज्ञहरुको तर्क छ ।
यसबारे भारतीय पूर्वसैनिक जनरल अशोक मेहताले त्यहाँको मिडियालाई भनेका छन्- ‘त्यसरी हमला गर्ने, तर कहाँ गर्ने ? मलाई लाग्दैन कि यसबाट केही हुन्छ ।’
यद्यपि भारत सरकारले आफ्नो सेनालाई युद्धका लागि राजनीतिक अधिकार हस्तान्तरण गरिसकेको अवस्था छ । अब भारतीय सेनाले पाकिस्तानमाथि जुनसुकै प्रकारको विकल्प पनि प्रयोग गर्न सक्छ । भलै, त्यो सैन्य कारवाही वस्तुसम्मत होस् या नहोस् ।
४. सेल्फ डिफेन्स र कूटनीतिक पहलः भारत पाक मामिलाका जानकारहरुले भारतले आफ्नो आत्मरक्षा गर्दै कूटनीतिक प्रयासबाट पाकिस्तानलाई अलग-थलग र कमजोर पार्नुपर्ने सुझाएका छन् । र, उनीहरुको दाबी छ कि भारतले यो प्रयास थालिसकेको छ ।
हालै संयुक्त राष्ट्र संघको फोरममा भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पाकिस्तानको विरोधमा आजाव उठाएकी छिन् । भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनमा पाकिस्तान नजाने घोषणा गरेका छन् । र, यसलाई बंगलादेश, भुटान र अफगानिस्तानले भारतलाई साथ दिएका छन् ।
अब भारतले पाकिस्तानको विरोधमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा कुरा उठाउनुपर्ने र आर्थिक नाकाबन्दीसमेत लगाउनुपर्ने सुझावसमेत मोदी सरकारलाई भारतका सुरक्षा एवं परराष्ट्रविदहरुले दिन थालेका छन् ।
५. कास्मिरमा अभियानः भारतीय विश्लेषकहरुले अब पाकिस्तानलाई अलगथलग पार्न विश्वमञ्चमा मात्रै नभएर कास्मिरमा समेत आतंकवाद विरोधी अभियान चलाउने । सुझाव दिएका छन् । यो अभियान केही समयदेखि रोकिएको भारतीयहरुको भनाइ छ । पाकिस्तानले भने यो अभियानलाई कास्मिरी जनतामाथिको दमन बताउने गरेको छ ।
निश्कर्षमा भारतले पाकिस्ताविरुद्ध सैन्य क्षेत्रबाट ‘सर्जिकल स्ट्राइक’ लगायतका कारवाहीहरु अघि बढाउने र राजनीतिक तहबाट पाकिस्तानलाई विश्व समुदायमा एक्ल्याउने दुबै रणनीति अख्तियार गर्न खाजेको देखिन्छ । उसले यसमा राष्ट्र संघको मञ्चदेखि कास्मिर र बलुचिस्तानको कार्डसमेत खेल्ने रणनीति लिएको सहजै अनुमान लगाउन सकिन्छ ।
तर, अर्को एउटा समस्या समाधानको विधि पनि छ, जसलाई भारतले प्रयोग गर्न चाहेको छैन । त्यो हो, पाकिस्तान सरकारसँग सम्वाद र वार्ता गरेर आतंकवादीमाथि साझा कारवाही अगाडि बढाउने । पाकिस्तानप्रति भारतको अति नकारात्मक भावना बढेकाले यो सम्भावना लगभग शून्यजस्तै छ ।
आफ्नो सपथ ग्रहणमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बोलाउने नरेन्द्र मोदी यो ठाउँसम्म आइपुग्दा गंगा र सिन्धु नदीमा धेरै पानी बगिसकेको छ ।