Comments Add Comment

जब पदममायाले हात थाप्नु पर्‍यो …

Padam-maya

१६ असोज, रामेछाप । जीवनभर नेपाली कांग्रेसको सेवामा खटेकी पदममाया कार्की ८५ वर्षको उमेर अर्कासँग हात थापेर खानु पर्ने अवस्थामा पुगेकी छिन् । प्रजातन्त्रका सेनानी भक्तबहादुर कार्कीकी पत्नी पदमयायाले यो दिन आउला भन्ने सोचेकी पनि थिइनन् । तर, अहिले उनी तिनै दिन काटिरहेकी छिन् ।

उनको घरमा न खाने अन्न छ , न पकाउने भाँडो । माटोको एउटा कुलिन, पानी भर्नको लागि तीनचारवटा खाने तेलका ग्यालिन, अनि पानी तताउने थोत्रो दिउरे । अहिले उनको सम्पत्ति भनेको यही हो । भएको घर पनि भूकम्पले भत्काएपछि उनी घरबार विहीन बनेकी छिन् ।

रामेछापको तिल्पुङ गाविस २ की पदममायाका पति भक्तबहादुर १९७७ सालमा तिल्पुङमा जम्मिएर १९९५ सालमा नेपाली सेनामा भर्ना भएका थिए । सेनाको हवदार भएका उनी नेपाली काँग्रेसले सशस्त्र आन्दोलन गरेपछि नेपाली सेनाबाट विद्रोह गरेर मुक्ति सेनमा लागेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि उनलाई सरकारी सेनामा नै जमदारको जागिर दिइएको थयो । तर, पछि २००८ सालमा के आइसिँह काण्डमा उनलाई नोकरीबाट वर्खास्त गरियो । २०१७ सालमा प्रजातन्त्र माथि प्रतिवन्ध लागेपछि उनी फेरि कांग्रेसकै राजनितिमा लागे ।

भक्तबहादुर भूमिगत हुँदा पदममायाले भूमिगत बसेका कांग्रेसका नेता कार्यकर्ताहरुलाई जंगलजंगलमा मासुभात बोकेर पुर्‍याइन् । पद्मशंकर अधिकारी, बेनीबहादुर कार्की लगायतका नेताहरुलाई आफूले घरमा भात पकाएर जंगलमा लगि खुवाएको उनलाई याद छ ।

‘भात त कति बोकेँ कति । तीन चार वटा कुखुरा काटेर पकाई डोकाभरी बोकेर जंगल जंगल पुर्‍याए । अहिले ती मध्ये कति मरिसके होलान् । केही ज्युँदै पनि छन् होला, तर, खै कसैले हेरेनन्’, उनले भनिन् ।

पार्टी राजनीतिमा लागेपछि आर्थिक अवस्था कमजोर भएको कारण भक्तबहादुरले आफ्नो भएको जग्गाजमिन बेच्दै खाँदै गरे । निसन्तान भएका उनले बहुदलीयत व्यवस्था पुनस्र्थापना भएपछि सोचे जस्तो भएन । त्यसपछि पार्टी राजनीतिको सक्रिय जीवन छाडी उनी धार्मिक काममा लागे । सोही क्रममा उनको मृत्यु भयो ।

पतिको मृत्यु पछि पदममाया एक्लै भइन् । हात चलुन्जेल आफंैले पकाएर खाइन् । अहिले उनीसँग न खेति उब्जाउने जग्गा छ, न काम गर्ने र पकाई तुल्याई खाने हात गोडा दरा छन् ।

छिमेकीहरुले ल्याइदिएको खानेकुरा खाएर शास धानिरहेकी छिन् । ‘भएको जग्गा जमिन बुढा छँदै बेच्दै खाँदै गरियो । रातदिन पार्टीकै काममा दौडदा भएको सम्पत्ती सकियो । अहिले हातगाडा बसेपछि सबै पराई भए, उनले दुखेसो पोखिन् ।

‘अहिले विहान तल्लो घरबाट पकाएर खानेकुरा ल्याइदिन्छन्, साँझ भतिजाको घरबाट पकाएर ल्याइदिन्छन्’ उनले अघि भनिन् ।

Padam-maya-1

उनको अवस्थाबारे अनलाइनखबरमा समाचार आएपछि काठमाडौँको जोरपाटीका कुमार लामाले १० हजार दशैं खर्च पठाएका छन्, जुन एमाले नेता देवशंकर पौडेलले आइतबार पदममायाको हातमा पुर्‍याए ।

भूकम्पले भत्किएको घरमा पाल हालेर बसेकी उनले पैसा हातमा लिँदै यस पटकको दशै सोही पैसाले मजाले मनाउने बताइन् । यो पैसाले के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मज्ााले खान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment