Comments Add Comment

दशैंमा यात्रा गर्दै हुनुहुन्छ ? नछुटाउनुस् ९ औषधि

medicine१७ असोज, काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैं सुरु भइसकेको छ । यो बेला असंख्य मानिस परिवारसँग चाड मनाउन आ-आफ्ना घर पुग्छन् भने कतिपय घुमघाममा निस्कनछन् ।

लामो दूरीको यात्रा गर्दा हामी आफूलाई चाहिने धेरै सरसामानको झिटिगुन्टा कस्छौं । तर, सामान्य जस्तो लागेर कतिपय कुरामा ध्यान दिँदैनौं ।

लामो यात्रामा हामीले ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरामध्ये हाम्रो स्वास्थ्य पनि एक हो । स्वास्थ्य जति राम्रो भयो, हाम्रो यात्रा पनि त्यति नै सहज हुन्छ ।

यात्रामा स्वास्थ्यमा केही समस्या देखिए औषधि पसल पायक ठाउँमा नहुन सक्छ । त्यसैले यात्राको दौरान कुनै समस्या नहोस् भनेर हामीले केही अत्यावश्यक औषधि साथमै बोक्न सक्छौं । यात्रामा निस्किँदा स्वास्थ्यमा समस्या देखिए हाम्रो यस्तो पूर्वतयारी बुद्धिमानी हुन सक्छ ।

आउनुस्, यात्रामा निस्किनु अघि तपाईंले साथमै राख्नुपर्ने औषधिबारे हामी जानकारी दिँदै छौंः

१. पखाला लागेमाः मेट्रोनिडाजोल, जीवनजल, इलेक्ट्रोवियन

यात्राका क्रममा यदि तपाईंलाई पखाला लागेमा त्यसलाई तत्काल रोक्न तथा पेटको दुखाइ कम गर्न ‘मेट्रोनिडाजोल’ जस्ता औषधि उपयोगी हुन्छ । यो औषधिको एक चक्की सेवनले पनि तपाइर्ंको ९० प्रतिशत समस्या समाधान हुन सक्छ ।

पखाला लाग्दा जीवनजल तथा इलेक्ट्रोवियन सेवन गर्दा शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन र तागत पनि दिन्छ ।

२. वान्ता भएमाः ओन्डेम

धेरैजसो मानिसलाई लामो दूरीको यात्रा तय गर्दा वाकवाकी लाग्ने र बान्ता हुने गर्छ । त्यो अवस्था आउन नदिन ‘ओन्डेम’ नामक औषधिको प्रयोग उचित हुन्छ । यो औषधि यात्रा सुरु गर्नुभन्दा करिब आधा घण्टा अघि नै एक चक्की सेवन गरेमा बान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

३. एलर्जी भएमाः सेट्रिजिन

बसको यात्रा गर्दा कसैकसैलाई खानपानका कारण शरीरमा एलर्जी हुने गर्छ । त्यस बेला तत्काल औषधि नभएमा यात्रा कष्टकर बन्न सक्छ । त्यसैले यात्रा गर्दा ‘सेट्रििजन’ औषधि साथमा राख्नुभयो भने तपाईंको यात्रा सुखमय बन्न सक्छ ।

४. पेट दुखेमाः बुस्कोपान

यात्राका क्रममा हामी धेरै कुरा खाने गर्छौ । कहिलेकाहीँ दुषित पानी तथा खानाका कारण हामीलाई पेट दुख्न सक्छ  । त्यस्तो बेला नजिकै अस्पताल वा औषधि पसल नभेटिएमा तपाईंले झन् बढी दुखाइ सहनुपर्ने हुन्छ । यसबाट बच्न तथा तथा यदि पेट दुखिहालेमा त्यसबाट राहत पाउन तपाई बुस्कोपान, कोलिवान जस्ता औषधि साथमा बोक्न सक्नुहुन्छ । यो औषधि दिनमा तीन पटक खाए दुखाइ कम गर्न सकिन्छ ।

५. ग्याष्ट्रिक भएमः डाइजिन

लामो दूरीको यात्रा गर्दा कहिलेकाहीँ गाडी बिगि्रएर वा बाटोको खराबीले बीच बाटोमै अलपत्र पर्ने अवस्था आइपर्छ । त्यसबेला शरीरले अन्न-पानी नपाउँदा ग्याष्ट्रिकको समस्या बढ्ने गर्छ ।

कसैकसैलाई ग्यास्टि्रकको कारण टाउको दुख्ने, बान्ता हुने लगायतको समस्या देखापर्छ । त्यसबाट बच्न एसिलक, डाइजिन प्रयोग उचित मानिन्छ । यदि ग्यास्टि्रकको समस्या धेरै भएमा ओमीप्राजोल प्रयोग गर्न सकिनेछ । तर, यस्ता औषधिहरुको प्रयोग गर्दा चिकित्सकको सुझावमा लिनु उपयुक्त हुनेछ ।

६. टाउको वा जिउ दुखेमाः फ्लेक्जोन वा सिटामोल

यात्रा गर्दा कहिलेकाहीँ तपाईर्ंलाई ज्वरो आउन तथा टाउको दुख्न सक्छ । अझ कहिलेकाहीँ लामो यात्राले शरीरमा पीडा हुन सक्छ । त्यस्तो बेला फ्लेक्जोन, बु्रसेट, सिटामोल लाभदायक हुन्छ । यसबाहेक निम्स, निमोलिड लगायत पनि प्रयोग गर्न सकिनेछ ।

७. चोटपटक लागेमाः ह्याण्डी प्लाष्ट, ब्याण्डेज

लामो दूरीको यात्रा गर्दा वा घरमा काम गर्ने क्रममा शरीरमा घाउचोट लाग्न सक्छ । त्यस्तो बेला झट्ट औषधि पसल पुग्न सम्भव हुँदैन । यदि तपाईले ह्याण्डी प्लाष्ट, ब्याण्डेज बोक्नु भयो भने आफैंले प्राथमिक उपचार गर्न सक्नु हुनेछ । यसका साथै कपास तथा गज बोक्न सक्नु हुनेछ ।

८. नियमित औषधि

तपाईंले दैनिक खाँदै आएको औषधि बोक्न पनि नभुल्नुहोला । किनकि यी औषधि यात्रामा मात्र नभएर तपाईं त्यस ठाउँमा बसुन्जेल चाहिन्छ । दुर्गम ठाउँमा जाँदै हुनुहुन्छ भने तपाईंले प्रयोग गरिरहेको औषधि त्यहाँ नपाइन पनि सक्छ ।

त्यसैले आफूलाई आवश्यक पर्ने औषधि अहिले नै खरिद गर्नुभएमा तपाईंको यात्रा थप सुखमय तथा सरल बन्न सक्छ । यस्तो औषधि बोक्दा आफ्नोे यात्रा अवधि भन्दा केही दिन बढीलाई पुग्ने बोक्नु उपयुक्त हुनेछ ।

९. धुलो धुवाँबाट बच्नः मास्क

धुवाँ, धूलो, रुघाखोकी, क्षयरोग, भाइरल इन्फ्लुएञ्जा लगायत विभिन्न खाले श्वासप्रश्वास रोगबाट बच्न मास्कको प्रयोग उचित मानिन्छ । खासगरी, भिडभाडको ठाउँमा जाँदा तथा लामो दूरीको यात्रा गर्दा यसले तपाइर्ंलाई विभिन्न रोगबाट बचाउन सक्छ ।

यी कुरालाई पनि ध्यान दिनुहोस्

यात्रामा निस्किनुअघि के औषधि बोक्ने भन्ने कुरा तपाईं कस्तो ठाउँमा जाँदै हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । हैजाग्रस्त क्षेत्रमा जाँदै हुनुहुन्छ भने त्यही अनुसारको र मलेरिया, डेंगु प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ भने त्यसै अनुसारको औषधिको तयारी गर्नुपर्ने हुन्छ ।

यात्रामा निस्किँदा आवश्यक औषधिको व्यवस्था मिलाउँदा म्याद सकिएको छ कि छैन भनेर राम्रोसँग यकिन गर्नुहोस् । यस्तै, औषधि सेवनको मात्रा तथा खाने समयबारे पनि जानकारी लिनुहोस् ।

(वरिष्ठ जनरल फिजिसियन डि.पी. सिंहसँगको कुराकानीमा आधारित । उनी वीर अस्पतालका पूर्व चिकित्सक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment