Comments Add Comment

बिरामीसँग मञ्जुरीनामा– अक्सिजन नपाएर मृत्यु भए अस्पताललाई दोष दिन्न

२९ वैशाख, काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहितको उपचार दिन असमर्थ हुने सूचना जारी गर्‍यो ।

उक्त सूचना जारी गर्दा आईसीयू र एचडीयूमा गरी ९० जना कोभिडका बिरामी उपचाररत थिए । मौज्दात रहेको अक्सिजन तीन चार घण्टाभित्र सकिने अवस्था रहेको भन्दै बिरामी र बिरामीका आफन्तलाई आ–आफ्नो व्यवस्था गर्न भन्यो ।

पहुँच भएका बिरामीका आफन्तले अक्सिजन सिलिण्डरको जोहो गरे । तर पहुँच नभएका बिरामी र आफन्तले केही सोच्नै सकेनन् । सबै अस्पतालमा अक्सिजनको हाहाकार बारे उनीहरु जानकार नै थिए ।

बिरामी अन्यत्र लैजान नसक्ने बिरामीका आफन्तसँग अस्पतालले मृत्यु भएमा अस्पताललाई कुनै दोषारोपण नगर्ने सम्झौतामा हस्ताक्षर गरायो ।

अक्सिजन नपाएरै बिरामीले मृत्यवरण गर्नुपरे अस्पताल, डाक्टर, नर्स वा अन्य कुनै कर्मचारीलाई दोष दिनेछैन भन्दै उनीहरुले सहीछाप गरेर अस्पतालको जिम्मा लगाएका छन् ।

अक्सिजन अभावमा बिरामीले ज्यान नै गुमाउने जोखिम रहेका कारण सूचना जारी गरेर समयमै बिरामीलाई स्थानन्तरण गर्न भनेको अस्पतालका जनसम्पर्क अधिकारी सुनील गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘अस्पतालमा दैनिक ७ सय सिलिण्डिर अक्सिजन खपत हुन्छ । तर माग अनुसार आपूर्ति हुन सकिरहेको छैन । मौज्दात रहेको अक्सिजनले केही घण्टा मात्र धान्न सक्ने अवस्था छ । यस्तो अवस्थामा अस्पतालले निरन्तर उपचार दिन सक्ने अवस्था नै रहेन । त्यही भएर सूचना जारी गर्नुपर्ने अवस्था आएको हो ।’

‘उद्योगले समयमै अक्सिजन आपूर्ति नगरिदिँदा बुटवलस्थित कोरोना विशेष अस्पतालमा पाँच जना संक्रमितले ज्यान गुमाइसकेका छन्,’ उनले भने, ‘फेरि त्यही दुर्घटना यहाँ पनि दोहोरिन सक्ने अवस्था छ । त्यसैले बेलैमा बिरामी र बिरामीका आफन्तलाई सजग गराएका हौं ।’

बिरामी र बिरामीका आफन्त स्वयंले अक्सिजन अभावमा हुन सक्ने जोखिम वहन गर्न आफूहरु तयार रहेको भन्दै अस्पताल प्रशासनसँग मञ्जुरीनामा गरेको उनले बताए ।
‘बिरामी र बिरामीका आफन्त स्वयंले मञ्जुरीनामा तयार गरेर अस्पताल प्रशासनसँग सम्झौता गरेको हो,’ गुरुङले भने, ‘अस्पताल प्रशासनले सम्झौता गर्न बाध्य पारेको भने होइन ।’

अस्पतालले सूचना जारी गरेपछि केही बिरामीका आफन्तले अक्सिजन सिलिण्डरको जोहो आफैंले गरेको उनले बताए ।

उनका अनुसार अस्पतालमा कोभिडका ९० जनासहित करिब दुई सय जना बिरामी उपचाररत छन् ।

‘कोभिडका बिरामीसहित १८० जना जतिलाई अक्सिजन सपोर्टमा राखेर उपचार गराइरहेका छौं । तीन वटा उद्योगबाट ४२० सिलिण्डर अक्सिजन आपूर्ति गर्ने सहमति स्थानीय प्रशासनसहित सरोकारवाला निकायसँग भएको थियो,’ उनले भने, ‘तर आज उद्योगले ६७ सिलिण्डर अक्सिजन मात्र उपलब्ध गराएको छ । अनि तपाईं आफैं भन्नुस् कसरी संक्रमितको उपचार गर्ने ?’

अस्पतालको समन्वयमा पोखराबाट १०० सिलिण्डर ल्याएकाले केही राहत मिलेको उनको भनाइ छ ।

यहाँका उद्योग र पोखराबाट ल्याइएको अक्सिजनले करिब ४ घण्टा धान्ने भन्दै उनले चितवनबाट अक्सिजन आइपुगेन भने मध्यरातिदेखि समस्या हुने बताए ।

माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडिदेखि नयाँ बिरामी भर्ना बन्द गरेको तर उपचाररत बिरामीलाई नै अक्सिजन पुर्‍याउन नसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment