+
+
Shares

मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री बालेन तथा परराष्ट्रमन्त्री शिशिर खनाल अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । भ्रमण सकेर काठकाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

जनार्दन बराल जनार्दन बराल
२०८३ असोज ७ गते २२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले नोभेम्बरको तेस्रो साता भारत भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
  • न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच साइडलाइन वार्तामा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो।
  • नेपाल र भारतबीच ४० भन्दा बढी दुईदेशीय संयन्त्र सक्रिय बनाएर सहकार्य सघन बनाउने सहमति न्यूयोर्कमा भएको छ।

७ असोज, न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।

त्यसबेला प्रधानमन्त्री शाहले उपयुक्त समयमा आफूले भारत भ्रमण गर्ने जानकारी दिएका थिए ।

‘ठ्याक्कै मिति तय भइसकेको छैन तर नोभेम्बरको तेस्रो साताका लागि भ्रमण तय भएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

प्रधानमन्त्री बालेन तथा परराष्ट्रमन्त्री शिशिर खनाल अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो भ्रमण सकेर काठकाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइन वार्ता भएको थियो । सो वार्ताका क्रममा पनि प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा छलफल भएको स्रोतले बतायो । त्यसक्रममा भारत भ्रमणका एजेन्डबारे सामान्य छलफल भए पनि ठोस कुराकानी नभएको स्रोत बताउँछ ।

‘दुई परराष्ट्रमन्त्रीको यो बैठक कर्टेसी कल हो त्यसो हुँदा विस्तृतमा कुराकानी भएको छैन । तर प्रतिनिधमण्डल स्वदेश फर्केपछि तीव्र रुपमा तयारी अघि बढ्छ,’ स्रोतले भन्यो ।

आफूले भारत भ्रमण गर्दा कुनै न कुनै उल्लेखनीय उपलब्धि होस् भन्ने चाहना प्रधानमन्त्रीको रहेको स्रोत बताउँछ । ‘लामो समयदेखिको सीमा विवाद छ । भैरहवा विमानस्थलका लागि भारतीय पक्षको अनुमतिको विषय अड्किएको छ, यीमध्ये कुनै न कुनै विषयमा सहमित भएर पदचाप बनोस् भन्ने प्रधानमन्त्रीको चाहना छ,’ स्रोतले भन्यो ।

‘भारत भ्रमण चाँडै गर्ने विषयमा विगतमा पनि दुवै पक्षको सहमति रहे पनि समय तय हुन सकेको थिएन । तर अब भने करिब करिब मिति नै तय भएको छ,’ स्रोतले बतायो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसअघि साउनको दोस्रो साता प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका थिए ।

भ्रमणकै विषयलाई लिएर प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले असार अन्तिमतिर भारतको अनौपचारिक भ्रमण गरेको खुलेको थियो ।

गत चैतमा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रधानमन्त्री बालेनले एक वर्ष आफूले विदेश भ्रमण नगर्ने बताएका थिए । सुरुमा उनले संयुक्त राष्ट्र संघको महासभामा पनि भाग नलिने जनाएका थिए ।

तर भोटेकोशीमा आएको बाढी ठूलो विनास ल्याएपछि उनले जलवायु न्यायको विषय बलियोसँग प्रस्तुत गर्ने भन्दै उनी न्युयोर्क आएका छन् । त्यसलगत्तै उनले भारत भ्रमण गर्ने भएका हुन् ।

वर्तमान सरकार बनेलगत्तै परराष्ट्रमन्त्री खनालले गरेको मौरिसस भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग भारत भ्रमणको सैद्धान्तिक सहमति भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमै भारत भ्रमणको निम्तो दिएका थिए । त्यसको जवाफ फर्काउँदा नै प्रधानमन्त्री शाहले आफू ‘उचित समयमा भारतको भ्रमण गर्ने’ उल्लेख गरेका थिए ।

सोहीअनुसार दुई मन्त्रीबीच भएको छलफलमा भ्रमणको मिति तय गर्नुअघि नेपालको नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेकोबारे जानकारी गराएका थिए ।

नेपालले दुई देशको सम्बन्धका प्राथमिकताहरू निर्धारण गरेपछि दुई देशबीच विभिन्न संयन्त्रमार्फत वार्ता तथा छलफल गर्ने र उच्चस्तरीय भ्रमणको तयारी पनि गर्ने नेपालको प्रस्ताव थियो । सो विषयलाई भारतीय विदेशमन्त्री जयशंकरले पनि सकारात्मक लिएका खनालले जानकारी दिएका थिए । यसबीचमा दुई देशबीच निरन्तर भएको सकारात्मक छलफलपछि भ्रमणबारे ठोस उपलब्धि भएको स्रोतले बतायो ।

नेपाल र भारतबीच ४० वटाभन्दा धेरै विभिन्न दुईदेशीय संयन्त्रहरू छन् । ती संयन्त्रहरूलाई सक्रिय बनाएर दुई देशबीचको सहकार्यलाई सघन बनाउने सहमति न्यूयोर्कमा मंगलवार दुई मन्त्रीबीच बनेको पनि स्रोतले जनायो ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?