News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका खुद्रा फलफूल पसलमा केरा प्रतिदर्जन १ सय रुपैयाँमा बिक्री भइरहेको छ, आपूर्ति बढेकाले व्यापार सुस्त भएको व्यवसायीले बताएका छन्।
- नेपाल फलफूल थोक व्यवसायी संघले चाडपर्व सुरु भएपछि माग बढेर केरा फेरि महँगो हुने र यो महँगी छठसम्म रहने बताएको छ।
- नेपाल केरा उत्पादक महासंघले देश केरा उत्पादनमा आत्मनिर्भर भएको र तीजपछि किसानले जी–नाइन र चिनी चम्पा ४० देखि ६० रुपैयाँ दर्जनमा बेचिरहेको जनाएको छ।
७ असोज, काठमाडौं । काठमाडौंका खुद्रा फलफूल पसल अगाडि हिजोआज सेतो बोर्डमा ठूला अक्षरमा लेखिएको देख्न सकिन्छ- ‘केरा प्रतिदर्जन १०० !’
केही महिनाअघि यिनै पसलमा एक दर्जन केराको भाउ सोध्दा तर्सिएर हिँड्ने उपभोक्ता अहिले यस्ता बोर्ड देखेर मुसुक्क हाँस्दै पसलभित्र छिर्न थालेका छन् ।
मंगलबार साँझ नयाँ बानेश्वरस्थित एक फलफूल तथा तरकारी पसलमा झोला बोकेर आइपुगिन् गृहिणी अनिता शर्मा । उनले पसल बाहिरको बोर्ड हेरिन्, अनि पहेँलपुर भएर पाकेका केरा नियालिन् ।
मूल्य पढेर पनि अलि पत्यार नलागे झैं उनले पसलेलाई सोधिन्, ‘यो बोर्डमा सय रुपैयाँ लेखिएको छ, पक्का सय रुपैयाँ नै हो ?’
पसलेले हाँस्दै जवाफ दिए, ‘जुन छाने पनि सय रुपैयाँ, त्योभन्दा एक रुपैयाँ बढी पर्दैन, ढुक्कले लानुस् ।’
त्यसपछि उनले २ दर्जन केरा किनिन् ।
‘केही महिनाअघि यही केरा दर्जनको ३ सय ५० देखि ४ सय रुपैयाँ तिरियो,’ उनले भनिन्, ‘१ सयमै किन्ने बेच्ने दिन पनि आउने रहेछ ।’
बजारमा स्वदेशमै उत्पादित केरा एकैचोटि उच्च मात्रामा भित्रिँदा यतिबेला व्यापार नै सस्तो बनेको व्यवसायीले बताएका छन् ।
थोकमा आपूर्ति बढे पनि चाडपर्व सुरु भइनसकेकाले खुद्रा बजारमा ग्राहक चहलपहल कम छ । नयाँ बानेश्वरका खुद्रा फलफूल व्यवसायी शनि साहले अहिले केराको व्यापार सुस्त रहेको बताए ।
‘थोक बजारमा केरा छ्यापछ्याप्ती छ, केरा छिट्टै पाक्ने र बिग्रने फल भएकाले कुहिएर फाल्नुपर्ने डरले हामी सस्तोमै बेचिरहेका छौं,’ साहले भने, ‘अहिले त मुस्किलले १ सयदेखि १ सय २० रुपैयाँ दर्जनमा बेचिरहेका छौं ।’
घटस्थापना लागेपछि व्यापार बढ्ने र थोकमा नै महँगो तिर्नुपर्ने हुँदा उपभोक्तालाई पनि अहिलेभन्दा महँगो पर्न जाने उनको भनाइ छ ।
आपूर्ति उच्च हुँदा व्यापार सुस्त
बजारमा देशका धेरै जिल्लाबाट एकैचोटि ठूलो परिमाणमा केरा भित्रिँदा यतिबेला केरा व्यापार सुस्त बनेको र खुद्रा व्यापारीले खासै किन्न नखोजेको थोक व्यवसायी बताउँछन् ।
नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार बजारमा केरा आपूर्ति उच्च हुँदा खपत कम छ । केरा फालाफल भएर बिक्न छाडेको उनको भनाइ छ ।

राजधानीको मुख्य फलफूल बजार कुलेश्वरमा अहिले दैनिक ठूलो परिमाणमा केरा भित्रिरहेको छ । ‘सबैतिरबाट एकैचोटि केरा भित्रिएको छ, जसले गर्दा बजार केराले भरिभराउ भएको छ,’ अध्यक्ष बानियाँले अनलाइनखबरसँग भने, ‘अहिले कुलेश्वर बजारमा मात्रै दैनिक ५० देखि सय वटासम्म साना ट्रक/गाडीमा केरा भित्रिरहेको छ ।’
उच्च आपूर्तिका कारण अहिले बजारमा केराको मूल्य स्थिर र तुलनात्मक रूपमा सामान्य रहेको उनी बताउँछन् । बानियाँका अनुसार खुद्रा बजारमा अहिले गुणस्तर हेरेर १ सय ५० रुपैयाँसम्ममा केरा बिक्री भइरहेको छ ।
त्यसैगरी थोक बजारमा पनि गुणस्तरकै आधारमा कार्टुनको ९ सयदेखि १ हजार २ सय र क्रेटको ९ सयदेखि १ हजार रुपैयाँसम्म केराको कारोबार भइरहेको उनले जानकारी दिए ।
तर, आपूर्तिको यो चाप र सुस्त व्यापार धेरै दिन नरहने बानियाँको भनाइ छ । सोह्र श्राद्ध सकिएर दसैं सुरु हुनेबित्तिकै केराको माग ह्वात्तै बढ्ने र त्यसपछि मूल्य पनि आकासिने उनले बताए ।
‘सबैतिरबाट एकैचोटि आएकाले सोह्र श्राद्धसम्म खासै बिक्री हुँदैन,’ अध्यक्ष बानियाँले भने, ‘तर, घटस्थापनादेखि बिक्री सुरु हुन्छ र माग बढेपछि फेरि केरा महँगो पर्छ, यो महँगी छठ पर्वसम्मै कायम रहन्छ ।’
चाडपर्वमा फलफूलको माग अत्यधिक हुने भएकाले अहिले आपूर्ति उच्च भएर सुस्त रहेको बजार घटस्थापना लगत्तै तातिने व्यवसायीको आकलन छ ।
चाडपर्वमा पनि उपभोक्ताले सस्तोमा केरा पाउँछन् : उत्पादक
नेपाल केरा उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर बनेको र स्वदेशमै व्यावसायिक केरा खेतीको व्यापक विस्तार भएसँगै अब भारतबाट केरा आयात गर्नुपर्ने अवस्था अन्त्य भएका कारण उपभोक्ताले अब सस्तो मूल्यमै केरा खान पाउने केरा उत्पादकहरूले दाबी गरेका छन् ।

केरा उत्पादन बढेसँगै बजारमा केराको मूल्यसमेत सस्तिएको र नजिकिँदै गरेका दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा उपभोक्ताले सस्तो मूल्यमै पर्याप्त केरा पाउने नेपाल केरा उत्पादक महासंघले बताएको छ ।
महासंघ अध्यक्ष विष्णुहरि पन्तका अनुसार अहिले देशका विभिन्न जिल्लामा केराको उत्पादन उल्लेख्य बढेको छ ।
‘अब नेपाललाई चाहिने केरा देशमै उत्पादन भइसक्यो, उत्पादन बढेसँगै मूल्य पनि घटेको छ,’ अध्यक्ष पन्तले भने, ‘कुनै पनि व्यापारीले मलाई केरा चाहियो भन्दा नपाउने अवस्था अब छैन, बाह्रै महिना पुग्ने केरा नेपालमै उत्पादन भइरहेको छ ।’
मूल्य घटेर ४० देखि ६० रुपैयाँ दर्जन
अध्यक्ष पन्तका अनुसार तीज अघिसम्म बगानबाटै प्रतिदर्जन ८० देखि १ सय रुपैयाँसम्म बिक्री भइरहेको केराको मूल्य अहिले भारी मात्रामा घटेको छ ।
हाल किसानले बगानबाट जी–नाइन र चिनी चम्पा जातका केरा प्रतिदर्जन ४० देखि ६० रुपैयाँको बीचमा बिक्री गरिरहेका छन् ।
‘जी–नाइन र चिनी चम्पा केराको मूल्य लगभग एउटै छ, यो मूल्य किसान र उपभोक्ता दुवैका लागि चित्तबुझ्दो छ,’ पन्तले भने ।
यद्यपि, बजारमा मालभोग केराको उत्पादन भने कम रहेकाले यसको मूल्य बगानमै प्रतिदर्जन ८० देखि १ सय रुपैयाँसम्म रहेको उनले बताए ।
महासंघका अनुसार यो सस्तो मूल्य दसैं, तिहार, छठ हुँदै माघ–फागुनसम्मै कायम रहने छ । चैत लागेपछि भने ‘अफ–सिजन’ सुरु हुने भएकाले मूल्यमा केही वृद्धि हुन सक्ने छ ।
यी हुन् केरा उत्पादनका पकेट क्षेत्र
पछिल्लो समय नेपालका तराई र भित्री मधेसका जिल्लामा एउटै किसानले ५० देखि १ सय बिघासम्म क्षेत्रफलमा व्यावसायिक केरा खेती गरिरहेका छन् ।
अध्यक्ष पन्तका अनुसार हाल नवलपरासी (पश्चिम सुस्ता), कञ्चनपुर, कैलाली, चितवन, बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, बारा, रौतहट र सर्लाहीमा व्यापक रूपमा केरा उत्पादन भइरहेको छ ।
नेपाल केरामा आत्मनिर्भर हुनुमा सरकारले लिएको कूटनीतिक र व्यावहारिक नीतिको ठूलो हात रहेको महासंघले जनाएको छ । सरकारले केरा आयातमा लागु गरेको ‘बायो सेक्युरिटी’ (जैविक सुरक्षा) नीतिका कारण बाहिरबाट आउने केरा रोकिएपछि नेपाली किसानले त्यसलाई ठूलो अवसरका रूपमा लिएका थिए ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले पानामा टीआर–४ भाइरसको उच्च जोखिमका कारण गत वर्ष असोजदेखि नै स्वदेशी केरा खेती जोगाउन भन्दै भारतबाट हुने आयातमा कडा मापदण्ड लागु गरेको थियो । त्यसपछि नेपाली बजारमा स्वेदेशी केरा नआउँदा अभाव नै भएकाले उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका थिए ।
‘सरकारले बायो सेक्युरिटीको हिसाबमा काम गरेपछि केरा आयातमा रोक लाग्यो, किसानले यसलाई अवसरका रूपमा लिएर आफ्नो मिहिनेतले उत्पादन बढाए,’ अध्यक्ष पन्तले भने, ‘सरकारले सही नीति लिने र किसानले मिहिनेत गर्ने हो भने के गर्न सकिँदैन र ? यो देशकै लागि गौरव गर्न लायक कुरा भएको छ ।’
अर्को वर्षदेखि निर्यात गर्ने दाबी
नेपालमा केराको गुणस्तर र परिमाण दुवैमा सुधार आएको महासंघको भनाइ छ । यही गतिमा उत्पादन बढ्दै गए आगामी वर्षदेखि नेपालले केरा निर्यात गर्न सुरु गर्ने अध्यक्ष पन्तले दाबी गरे ।
‘हामीले अहिले गुणस्तर र परिमाण दुवैमा ध्यान दिएका छौं, यही रूपले जाने हो भने ठ्याक्कै एक वर्षपछि यतिखेरको सिजनमा हामीले केरा निर्यात गर्नुपर्ने अवस्था आउँछ,’ पन्तले दाबी गरे ।
चितवनमा सुपरजोन क्षेत्रमा १ हजार ८ सय ५० हेक्टरमा केरा खेती हुँदै आएको महासंघ तथ्यांक छ । नेपालमा मालभोग, जी–नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ ।
गत वर्ष फागुनमा सरकारले गरेको अध्ययन अनुसार सन् १९९० को दशकयता नेपालमा केरा खेतीको क्षेत्रफल र उत्पादनमा ६ देखि ७ गुणाले वृद्धि भएको छ । करिब ५ हजार हेक्टरभन्दा कम क्षेत्रफलबाट सुरु भएको केरा खेती अहिले लगभग १७ हजार हेक्टरमा विस्तार भएको छ ।
तस्विरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4