+
+
Shares

बजारमा महँगी मार : असारमा ५.१४ प्रतिशत पुग्यो मूल्यवृद्धि, थोकमा झनै उच्च

तथ्यांक अनुसार २०८३ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । जबकि, अघिल्लो वर्ष असारमा यस्तो मुद्रास्फीति जम्मा २.२० प्रतिशतमात्र थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष २.२० प्रतिशत थियो ।
  • आव २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रह्यो, जबकि गैरखाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति ४.२१ प्रतिशत पुग्यो ।
  • त्यसै अवधिमा वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत पुगेको छ, र राष्ट्र बैंकले नेपालमा असारको मुद्रास्फीति भारतको ४.४५ प्रतिशतभन्दा बढी देखाएको छ ।

१० भदौ, काठमाडौं । उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको मूल्य दोब्बर बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बजारमा महँगी ह्वात्तै बढेको पाइएको छ ।

बुधबार सार्वजनिक गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांक अनुसार आव अन्तिम महिना (असार) मा उपभोक्ता मुद्रास्फीति तीव्र रूपमा उकालो लागेको हो ।

तथ्यांक अनुसार २०८३ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ । जबकि, अघिल्लो वर्ष असारमा यस्तो मुद्रास्फीति जम्मा २.२० प्रतिशतमात्र थियो । यसले पछिल्लो समय बजारमा उपभोक्ताले चर्को मूल्यवृद्धि खेप्नुपरेको प्रस्ट देखाउँछ ।

यद्यपि, असारमा महँगी बढे पनि समग्र आव २०८२/८३ को ‘वार्षिक औसत’ उपभोक्ता मुद्रास्फीति भने ३.०८ प्रतिशत छ । जुन अघिल्लो वर्ष ४.०६ प्रतिशत थियो ।

गैरखाद्य वस्तु र सेवा क्षेत्रमा चर्को मूल्यवृद्धि

समीक्षा वर्षमा खाद्यभन्दा गैरखाद्य वस्तु र सेवा क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति अघिल्लो वर्षको ३.७१ प्रतिशतबाट बढेर ४.२१ प्रतिशत पुगेको छ । असारको मात्रै तथ्यांक हेर्ने हो भने यो समूहको महँगी ५.०८ प्रतिशत पुगेको छ ।

यस समूह अन्तर्गत ‘विविध वस्तु तथा सेवा’ को मूल्य सर्वाधिक १७.६१ प्रतिशतले आकाशिएको छ । यसैगरी शिक्षामा ७.०४ प्रतिशत, यातायात ५.८० र कपडा तथा जुत्ताचप्पलमा ५.५६ प्रतिशत मूल्य बढेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलको मूल्य सबैभन्दा बढी १०.०५ प्रतिशत बढेको छ भने फलफूल ७.०९ र गैरमदिराजन्य पेय पदार्थ ३.२८ प्रतिशत महँगिएको छ ।

यद्यपि, तरकारी ३.९५ प्रतिशत, मरमसला ३.६६ र दाल तथा गेडागुडीको ३.४१ प्रतिशत मूल्य घटेका कारण समग्र खाद्य समूहको औसत मूल्यवृद्धि १.०४ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

तर, असारमै मात्र हेर्दा खाद्य समूहको महँगी पनि ५.२५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १.१९ प्रतिशत ऋणात्मक थियो ।

थोक मूल्यवृद्धिमा भारी उछाल

उपभोक्ता मात्र नभई उत्पादक र व्यापारीको तहमा हुने ‘थोक मूल्यवृद्धि’ पनि उच्च दरले बढेको छ । २०८२/८३ मा वार्षिक औसत थोक मुद्रास्फीति अघिल्लो वर्षको ३.८४ प्रतिशतबाट बढेर ४.२७ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष असारमा जम्मा १.०५ प्रतिशत रहेको बिन्दुगत थोक मुद्रास्फीति यो असारमा बढेर ६.६७ प्रतिशत पुगेको छ ।

भौगोलिक क्षेत्रगत आधारमा हेर्दा ग्रामीण क्षेत्रमा २.६५ प्रतिशतको तुलनामा सहरी क्षेत्रमा ३.२२ प्रतिशत महँगी बढी देखिएको छ । क्षेत्रगत रूपमा सबैभन्दा बढी महँगी तराईमा ३.२८ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१६ प्रतिशत छ ।

प्रदेशगत हेर्दा कोशी र मधेस प्रदेशका बासिन्दाले सबैभन्दा धेरै महँगी खेपेका छन् । वार्षिक औसतका आधारमा कोशीमा ३.७७ र मधेसमा ३.६५ प्रतिशत मूल्यवृद्धि छ ।

असार महिनाको मात्रै तथ्यांक हेर्दा मधेस प्रदेशमा मूल्यवृद्धि झन्डै ६ प्रतिशत (५.९४ प्रतिशत) पुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने मूल्यवृद्धि सबैभन्दा कम २.०५ प्रतिशत छ ।

नेपालको महँगी भारतभन्दा बढी

राष्ट्र बैंकको तथ्यांकले नेपालको मूल्यवृद्धि छिमेकी भारतको भन्दा उच्च रहेको देखाएको छ । २०८३ असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत रहँदा सन् २०२६ जुलाईमा भारतको यस्तो मुद्रास्फीति ४.४५ प्रतिशतमात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?