News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि घाइते र प्रभावितको उपचारका लागि रगतको आवश्यकता बढ्न सक्ने देखिएको छ।
- परोपकार प्रसूति तथा स्त्री अस्पतालका इन्चार्ज परशुराम दाहालले विपद्को बेला नजिकको रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न स्वस्थ नागरिकलाई आग्रह गरेका छन् ।
- उनले एकपटकको रक्तदानबाट करिब एक युनिट रगत संकलन हुने र त्यो प्रशोधनपछि विभिन्न रक्तघटक बनाएर धेरै बिरामीलाई उपयोग गर्न सकिने बताए ।
रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि घाइते तथा प्रभावितको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने देखिएको छ । प्राकृतिक विपद्का बेला एकैपटक धेरै घाइतेको उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले रक्तसञ्चार केन्द्रहरूमा पर्याप्त रगत मौज्दात राख्नु चुनौतीपूर्ण हुन्छ ।
यस्तो अवस्थामा स्वस्थ नागरिकले रक्तदान गर्नु किन आवश्यक छ ? कहाँ गएर रक्तदान गर्न सकिन्छ ? एकपटक दिएको रगत कति व्यक्तिका लागि उपयोगी हुन्छ र विपद्का बेला रक्तसञ्चार व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा परोपकार प्रसूति तथा स्त्री अस्पतालको रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज परशुराम दाहालसँग अनलाइनखबरकर्मी सुमित्रा लुईंटेलले गरेको कुराकानी:
रसुवामा आएको बाढीपछि धेरै रगत चाहिन सक्ने देखिन्छ । यस्तो विपद्का बेला रक्तदान किन महत्त्वपूर्ण हुन्छ ?
प्राकृतिक विपद्का बेला रक्तदानको औचित्य सामान्य अवस्थाभन्दा अझ बढी हुन्छ । बाढी, पहिरो, दुर्घटना वा अन्य विपद्का कारण एकैपटक धेरै मानिस घाइते हुन सक्छन् । कतिपय अवस्थामा ठूलो मानवीय क्षति पनि हुन सक्छ । यस्तो बेला अस्पतालमा अचानक रगतको माग बढ्छ ।
त्यसैले हामीले सामान्य अवस्थाभन्दा एक कदम अगाडि बसेर तयारी गर्नुपर्छ । रक्तदाता, समाजसेवी, अभियन्ता, राजनीतिकर्मी, सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्छ ।
विपद् प्रभावित क्षेत्रमा मानिसहरू आफैं जोखिममा रहेका हुन सक्छन् । त्यसैले काठमाडौं वा अन्य सुरक्षित तथा नजिकका क्षेत्रमा रहेका स्वस्थ नागरिकले आफ्नो नजिकको रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरिदिँदा प्रभावित बिरामीको उपचारमा ठूलो सहयोग पुग्छ ।
विपद्को समयमा रगतको माग बढ्नुको प्रमुख कारण के हो ?
विपद्का बेला घाइतेको संख्या एकैपटक बढ्न सक्छ । दुर्घटना वा चोटपटकका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै, सुत्केरी महिला, गम्भीर बिरामी तथा नियमित रूपमा रगत आवश्यक पर्ने बिरामीको उपचार पनि रोकिँदैन ।
त्यसैले विपद्का बेला हामीले तत्कालको मात्र होइन, त्यसपछि आउन सक्ने आवश्यकतालाई पनि हेर्नुपर्छ । अहिले नै रक्तदान गरेर रगतको मौज्दात सुरक्षित राख्न सकियो भने भोलि अचानक ठूलो माग आउँदा बिरामीको उपचारमा सहज हुन्छ ।
हामीले यसअघि पनि विभिन्न जोखिमपूर्ण परिस्थितिमा रगत व्यवस्थापन गर्दै आएका छौं । डेंगु फैलिएको समयमा पनि रगतको माग बढ्न सक्ने भएकाले हामीले निरन्तर रक्तदान अभियान सञ्चालन गरेका थियौं । त्यतिबेला पर्याप्त रगत मौज्दात भएका कारण ठूलो समस्या आएन । अहिले पनि विपद्को अवस्थालाई ध्यानमा राखेर त्यही किसिमको तयारी र समन्वय आवश्यक छ ।
यस्तो बेला रक्तदान गर्न कहाँ जाने ?
काठमाडौं उपत्यकामा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न रक्तसञ्चार केन्द्रहरू छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गर्न सकिन्छ ।
त्यस्तै, ठूला सरकारी तथा निजी अस्पतालहरूमा पनि समय–समयमा रक्तदान कार्यक्रम सञ्चालन भइरहेका हुन्छन् । अस्पताल वा रक्तसञ्चार केन्द्रले रक्तदानका लागि आह्वान गरिरहेको अवस्थामा त्यहाँ गएर रक्तदान गर्न सकिन्छ ।
तर विपद्को समयमा रक्तदान कहाँ गर्ने भन्ने विषयमा सम्बन्धित स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र तथा अस्पतालहरूले पनि स्पष्ट सूचना प्रवाह गर्नुपर्छ । कुन ठाउँमा कति रगत आवश्यक छ र कहाँ गएर रक्तदान गर्ने भन्ने जानकारी समयमै सार्वजनिक गरिनुपर्छ ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको भूमिका पनि यसमा महत्वपूर्ण हुन्छ । सही ठाउँ, सही समय र वास्तविक आवश्यकताबारे सूचना प्रवाह गर्न सकियो भने रक्तदाता र बिरामीबीचको समन्वय सहज हुन्छ ।
यहाँंले व्यक्तिगत रूपमा पनि रक्तदान गर्न र अरूलाई प्रेरित गर्न सामाजिक सञ्जालबाट आह्वान गर्दै आउनुभएको छ । अहिलेको अवस्थामा यस्तो आह्वानको महत्त्व के छ ?
म आफैं पनि नियमित रक्तदाता हुँ । सामाजिक सञ्जाललाई मैले व्यक्तिगत विषयका लागि मात्र होइन, सामाजिक कामका लागि पनि प्रयोग गर्दै आएको छु । विशेषगरी रक्तदान कार्यक्रम र रक्तदानसम्बन्धी सचेतना फैलाउने काम गर्दै आएको छु ।
बिरामीहरूले हामीमाथि विश्वास गर्नुभएको छ । रक्तदाताहरूले दिएको रगत बिरामीमै प्रयोग गरेर त्यो विश्वासलाई कायम राख्नुपर्छ । अहिलेको जोखिमपूर्ण अवस्थामा सबैले मिलेर रक्तदान गर्नुभयो भने बिरामीलाई ठूलो सहयोग हुन्छ ।
अहिले हामीमध्ये धेरैजना प्रत्यक्ष रूपमा विपद्को जोखिममा नहुन सक्छौं । काठमाडौं वा अन्य सुरक्षित क्षेत्रमा रहेका स्वस्थ नागरिकले आफू सक्रिय भएर रक्तदान गर्न सक्छन् । कसैलाई व्यक्तिगत रूपमा रगत आवश्यक परेको सूचना सामाजिक सञ्जालबाट आएको छ भने त्यसलाई पनि गम्भीरतापूर्वक लिएर सम्भव भएसम्म रक्तदान गर्नुपर्छ ।
एउटा विरामीको जीवन बचाउन सक्नु नै ठूलो मानवीय काम हो । अहिलेको पीडामा हामीले पूर्ण रूपमा मलम लगाउन नसके पनि रगत दिएर कसैको जीवन बचाउन सकिन्छ ।
संघीय सरकार मात्र होइन स्थानीय तह र सामाजिक अभियन्ताहरूको भूमिका कस्तो देख्नुहुन्छ ?
स्वाभाविक रुपमा विपद्को समयमा सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । स्थानीय तह, रेडक्रस, रक्तसञ्चार केन्द्र, अस्पताल, स्वास्थ्यकर्मी, समाजसेवी, राजनीतिकर्मी, अभियन्ता र सञ्चारमाध्यम सबैले मिलेर काम गर्नुपर्छ ।
पालिकाहरूले आफ्ना क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गर्न सक्छन् । समाजसेवी तथा अभियन्ताहरूले स्वस्थ नागरिकलाई रक्तदानका लागि प्रेरित गर्न सक्छन् । राजनीतिक तथा सामाजिक नेतृत्वले पनि आफ्ना समर्थक तथा समुदायलाई रक्तदानका लागि परिचालन गर्न सक्छ ।
सबै पक्षको एउटा–एउटा पाइला जोडियो भने ठूलो सहयोग हुन्छ । विपद्को समयमा सानो सहयोग पनि बिरामीका लागि निकै महत्वपूर्ण हुन सक्छ ।
अस्पताल र सरकारी निकायबीच प्रभावकारी समन्वय अपरीहार्य छ ? अस्पताल, रक्तसञ्चार केन्द्र र सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्नुपर्छ । हाम्रो अस्पतालमा पनि जोखिमपूर्ण अवस्थामा आवश्यक परे केही रगत छुट्याएर व्यवस्थापन गर्न सकिने गरी तयारी हुँदै आएको छ ।
हामीले विगतमा पनि विभिन्न जोखिमका समयमा रगत व्यवस्थापन गर्दै आएका छौं । अहिले पनि अस्पतालभित्र रक्तदान भइरहेको छ । आवश्यकता र अवस्थाअनुसार अन्य अस्पताल तथा सम्बन्धित निकायसँग समन्वय गरेर रगत व्यवस्थापन गर्न सकिन्छ ।
विपद्का बेला एउटा अस्पतालमा मात्र सबै भार पर्न नदिई उपलब्ध रगतको अवस्था हेरेर विभिन्न रक्तसञ्चार केन्द्रबीच समन्वय गर्न सकियो भने उपचारमा सहज हुन्छ ।
कस्ता व्यक्ति रक्तदानका लागि योग्य हुन्छन् ?
सामान्यतया योग्य रक्तदाताले एकपटकमा करिब एक युनिट रगत दिन सक्छन् । करिब ४५ देखि ६० किलोग्राम तौल भएका योग्य रक्तदाताबाट करिब ३८५ मिलिलिटरसम्म रगत संकलन गर्न सकिन्छ । ६० किलोग्रामभन्दा बढी तौल भएका योग्य रक्तदाताबाट करिब ४८५ मिलिलिटरसम्म रगत संकलन गर्न सकिने व्यवस्था हुन्छ ।
तर रक्तदान गर्नुअघि व्यक्तिको स्वास्थ्य अवस्था, उमेर, तौल, रक्तचाप, हिमोग्लोबिनलगायत आवश्यक स्वास्थ्य परीक्षण गरिन्छ । सबै मापदण्ड पूरा गरेको स्वस्थ व्यक्तिले मात्र रक्तदान गर्नुपर्छ ।
एक व्यक्तिले दिएको रगतबाट कति बिरामीलाई सहयोग पुग्न सक्छ ?
रक्तदानबाट प्राप्त रगतलाई आवश्यकता र प्रशोधनको अवस्थाअनुसार विभिन्न रक्तघटकमा छुट्याउन सकिन्छ । विशेषगरी पर्याप्त मात्रामा रगत संकलन भएको अवस्थामा त्यसबाट प्याक्ड रेड ब्लड सेल, प्लाज्मा र प्लेटलेट जस्ता रक्तघटक तयार गर्न सकिन्छ ।
यसले एउटै रक्तदाताबाट प्राप्त रगतलाई आवश्यकताअनुसार फरक–फरक बिरामीको उपचारमा उपयोग गर्न सम्भव बनाउँछ । त्यसैले रक्तदान भनेको केवल एक व्यक्तिलाई रगत दिनु मात्र होइन, सही तरिकाले प्रशोधन र प्रयोग हुँदा धेरै बिरामीका लागि उपयोगी हुन सक्ने महत्वपूर्ण मानवीय सहयोग हो ।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
सामान्यतया स्वस्थ वयस्क व्यक्ति रक्तदानका लागि योग्य हुन सक्छन् । तर उमेर, तौल, स्वास्थ्य अवस्था, हिमोग्लोबिनको मात्रा र अन्य आवश्यक मापदण्ड पूरा भएको हुनुपर्छ ।
रक्तदान गर्नुअघि रक्तसञ्चार केन्द्रमा स्वास्थ्य परीक्षण गरिन्छ । कुनै संक्रमणजन्य रोग वा रक्तदान गर्न नमिल्ने स्वास्थ्य अवस्था भएको व्यक्तिले रक्तदान गर्नु हुँदैन । त्यसैले आफू स्वस्थ छु भन्ने मात्र आधारमा नभई सम्बन्धित रक्तसञ्चार केन्द्रले गरेको परीक्षण र चिकित्सकीय मापदण्डअनुसार रक्तदान गर्नुपर्छ ।
अहिलेको अवस्थामा रक्तदातालाई तपाईंको मुख्य आग्रह के छ ?
अहिलेको अवस्थामा हामीले अलि बढी संवेदनशील भएर सोच्नुपर्छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्ले ठूलो क्षति पुर्याउन सक्छ । यस्तो अवस्थामा प्रभावित परिवारले भोगिरहेको पीडा हामीले पूर्ण रूपमा कम गर्न नसके पनि बिरामीको उपचारका लागि आवश्यक रगत उपलब्ध गराएर सहयोग गर्न सक्छौं ।
जोखिममा नपरेका र स्वस्थ नागरिकले आफ्नो नजिकको रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरिदिनुहोस् । कसैलाई तत्काल रगत आवश्यक परेको सूचना आयो भने पनि सम्बन्धित रक्तसञ्चार केन्द्र वा आधिकारिक निकायसँग समन्वय गरेर सहयोग गर्नुहोस् ।
रगतको आवश्यकता परेको बेला मात्र रक्तदान गर्ने होइन, सम्भावित जोखिमलाई ध्यानमा राखेर अहिले नै रक्तदान गर्नु बुद्धिमानी हुन्छ । आज हामीले दिएको रगत भोलि कसैको जीवन बचाउने माध्यम बन्न सक्छ ।
अन्त्यमा, सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुन्छ भन्नुभयो, किन ?
विपद्को समयमा सही सूचना सबैभन्दा महत्वपूर्ण हुन्छ । कहाँ रगत आवश्यक छ, कुन रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न सकिन्छ, कुन रक्तसमूहको आवश्यकता छ भन्ने जानकारी समयमै सर्वसाधारणसम्म पुर्याउन सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ ।
राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले रक्तदानका लागि सकारात्मक सन्देश दिन सके धेरै स्वस्थ नागरिक रक्तदानका लागि अघि आउन सक्छन् । अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट सही र आधिकारिक सूचना प्रवाह गर्न सकियो भने रक्तदाता र बिरामीलाई ठूलो सहयोग पुग्छ ।
अहिले देशलाई सहयोग चाहिएको समय हो । सबैले आफ्नो ठाउँबाट एउटा–एउटा पाइला चालौं । स्वस्थ नागरिकले रक्तदान गरौं, सम्बन्धित निकायले समन्वय गरौं र सञ्चारमाध्यमले सही सूचना प्रवाह गरौं । कसैको जीवन बचाउन सकिने अवस्थामा हामीले गर्न सक्ने सबैभन्दा ठूलो मानवीय सहयोगमध्ये रक्तदान पनि एक हो ।
प्रतिक्रिया 4