+
+
Shares

विपत्तिपछि दैनिक उपभोग्य वस्तुमा महँगी

बाढी र कटानका कारण उपत्यका भित्रिने मुख्य सडकहरू भासिँदा र मालवाहक गाडी बाटैमा रोकिँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित भएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ भदौ १७ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी र त्रिशूलीको बाढीपछि नागढुंगा–मुग्लिन र नागढुंगा–नौबिसे सडक भासिँदा काठमाडौंको आपूर्ति प्रणाली प्रभावित भएको छ ।
  • आपूर्ति अवरुद्ध भएपछि काठमाडौंमा चामल, चिनी, खानेतेल, तरकारी र फलफूलको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।
  • सडक अवरुद्धसँगै उपत्यकामा खाना पकाउने ग्यासको अभाव चुलिएको छ, र मन्त्रालयले १६ टोलीमध्ये १० टोली बजार अनुगमनमा खटाएको छ ।

१७ भदौ, काठमाडौं । १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा पर्न थालेको छ ।

बाढी र कटानका कारण उपत्यका भित्रिने मुख्य सडकहरू भासिँदा र मालवाहक गाडी बाटैमा रोकिँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित भएको छ ।

यही कारण बजारमा खाद्यान्न, खानेतेल, हरियो तरकारी, फलफूल लगायत दैनिक अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ ।

काठमाडौं उपत्यकाको ‘लाइफलाइन’ मानिने नागढुंगा-मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभिरमा त्रिशूलीको बाढीले सडक कटान गरेर भासिएको छ ।

त्यस्तै बुधबार बिहान मात्रै नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत नागढुंगा नजिकैको पातले वनमा सडक भासिएपछि कृष्णभिर यताबाट चल्ने यातायात पनि पूर्णरूपमा प्रभावित भएको छ ।

आइतबारदेखि नै मालवाहक सवारी काठमाडौं भित्रिन र बाहिरिन नपाउँदा बजारमा सामान आपूर्ति प्रभावित भएको हो । उपभोक्ताले बजारमा अभाव हुने हो कि भनेर खाद्यान्नको जोहो गर्न थालिसकेका छन् ।

चामल, तेल र चिनीको भाउ अचाक्ली वृद्धि

बाटो बन्द भएको बहानामा थोक (होलसेल) व्यापारीले भइरहेको सामान पनि लुकाउन थालेपछि खुद्रा बजारमा महँगी बढेको उपभोक्ताले आरोप लगाएका छन् ।

तर, खुद्रा व्यापारीहरू भने ढुवानी भाडा महँगो भएपछि समस्या भएको दाबी गर्छन् । नयाँ बानेश्वरका एक किराना व्यापारीका अनुसार केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा पाइने चिनीको मूल्य अहिले १ सय ४० रुपैयाँ पुगेको छ ।

‘होलसेलमा चिनी नै छैन भन्छन्, सर्टेज भइसक्यो,’ ती व्यापारीले भने, ‘महँगो भएर किन्न नसकिने अवस्था आएपछि मैले बेच्नै छाडेँ, महँगो भनेर उपभोक्ता नै रिसाउन थालेपछि ल्याएको छैन ।’

त्यस्तै चामल र खानेतेलको मूल्यमा पनि अचाक्ली वृद्धि भएको छ । बजारमा सबैथरी चामलको मूल्य प्रतिबोरा कम्तीमा २ सयदेखि ३ सय रुपैयाँसम्म बढेको छ । पहिले २ हजार ४ सय रुपैयाँ पर्ने २० किलोको जिरा मसिनो चामलको मूल्य अहिले २ हजार ६ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।

सनफ्लावर तेलको मूल्य ब्रान्ड अनुसार प्रतिलिटर ३ सयदेखि ३ सय ५० रुपैयाँ र तोरीको तेल ४ सय रुपैयाँ हाराहारी पुगेको व्यापारीको दाबी छ । दाल र गेडागुडीको मूल्य भने अहिलेसम्म बढिसकेको छैन, तर बाटो खुल्ने समय लम्बिँदै गए त्यसको मूल्य पनि बढ्ने व्यापारीहरू बताउँछन् ।

थोक व्यापारीले बिल नदिँदा चिनी बेच्न गाह्रो भयो : खुद्रा व्यापार संघ

नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खानेतेल, चामल, लगायत वस्तुको मूल्य पहिलेदेखि नै महँगो नै रहेको र देशमा अप्रत्याशित आएको विपत्तिले झनै असर पार्न थालेको छ ।

बाढीपहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा तत्काल खाद्यान्न अभाव नरहेको संघले जनाएको छ । यद्यपि, केही दिनपछि बजारमा यसको असर अझै चुलिन सक्ने र विशेषगरी थोक व्यापारीले सही बिल नदिँदा चिनीको व्यापारमै समस्या आएको संघको भनाइ छ ।

संघका महासचिव अमुलकाजी तुलाधरले खुद्रा व्यापारीहरूसँग १५ दिनदेखि एक महिना अगाडिसम्मको मौज्दात (स्टक) रहेकाले अहिले बजारमा अभावको अवस्था नरहेको बताएका छन् । नयाँ सामान खरिद गर्न जाँदा मात्रै बजारको वास्तविक अवस्था थाहा हुने उनको भनाइ छ ।

‘अब एक सातापछि के हुन्छ भनेर अझै विस्तृतमा थाहा हुन्छ,’ महासचिव तुलाधारले भने, ‘अहिले त हामीसँग खुद्रा स्तरमा १५ दिन अगाडि, महिना दिन अगाडिको सामानहरू नै बाँकी छ, कोही एक–दुई जनाको ५/१० प्रतिशतको सिद्धिएको हुन सक्छ, तर सबैको हिजोको आजै सिद्धिँदैन, बजारमा हामीले व्यापार गरिरहेकै छौं ।’

बजारमा सामानको पूर्ण अभाव नभए पनि सामान महँगो भएको गुनासो भने आउन थालेको तुलाधरले स्वीकार गरे । विशेषगरी चिनीमा ठूला थोक व्यापारीले खरिदको सही बिल नदिँदा खुद्रा व्यापारी ठूलो मारमा परेका छन् । उनले थोक व्यापारीले बिल नदिए खुद्रा व्यापारीले चिनी बेच्नै छाड्ने अवस्था आउन सक्ने बताए ।

‘चिनीको मूल्यवृद्धि भयो भन्ने धेरै गुनासो छ, थोक व्यापारीले नै चिनीको सही बिल दिँदैनन्,’ उनले भने, ‘खुद्रा व्यापारको स्तरमा हामीले प्यान बिल दिनुपर्छ, तर ठूला व्यापारीहरूले सही मूल्यको बिल दिँदैनन्, सही मूल्यको बिल नलिई हामीले बिल काट्न सक्दैनौं ।’

सही मूल्यको बिल नदिए खुद्रा व्यापारीहरूले पनि व्यापार गर्न छाड्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । उनले अहिले बजारमा खानेतेल पुरानै मूल्यमा बिक्री भइरहेको दाबी गरे । खुद्रा व्यापारीले कम्पनीले तोकेको अधिकतम खुद्रा मूल्य (एमआरपी) भित्रै रहेर व्यापार गरिरहेको उनले बताए । बाढीपहिरोपछि तेलको मूल्य बढे/नबढेको बारे नयाँ सामान लिन गएपछि मात्रै थाहा हुने उनको तर्क छ ।

‘ढुवानी महँगिदा बजारमा असर परेको हो’

हालैको विपद्पछि बजारमा चामलको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेको गुनासो आइरहँदा उद्योगीहरू आफूहरूले मूल्य नबढाएको दाबी गर्छन् ।

नेपाल चामल, तेल, दाल उद्योग संघ सदस्य विभोर अग्रवालले उद्योगबाट पुरानै मूल्यमा चामल गइरहेको तर सडक अवरोधका कारण ढुवानी भाडा बढ्दा त्यसको असर बजारमा परेको बताए ।

अग्रवालले चामलको कच्चापदार्थ धानको मूल्य नबढेकाले उद्योगले चामलको भाउ नबढाएको दाबी गरे ।

‘चामलको मूल्य बढेको छैन, हामीले पूरानै मूल्यमा बजार पठाइरहेका छौं,’ अग्रवालले भने, ‘अहिले विराटनगरबाट काठमाडौं आउने ढुवानी राम्रो तरिकाले हुन सकेको छैन, वैकल्पिक मार्गको प्रयोगमा ढुवानी भाडा अत्यधिक बढेको छ ।’

भाडा बढ्दाको असर उपभोक्तालाई

अग्रवालका अनुसार विराटनगरबाट काठमाडौं सामान ल्याउँदा पहिले र अहिलेको भाडामा ठूलो अन्तर आएको छ । ठूला मालवाहक गाडी नपाउँदा साना गाडी प्रयोग गर्नुपरेको र त्यसले ढुवानी लागत झनै बढाएको उनले बताए ।

‘पहिला विराटनगरबाट काठमाडौं १ सय ५ रुपैयाँको भाडामा आइराखेको थियो भने, त्यो अहिले १ सय ५० परेको छ, ठूलो गाडी आउनै सकेको छैन, साना गाडीमा भाडा ५० रुपैयाँ महँगो भइराखेको छ,’ उनले भने, ‘यो ढुवानीको भाडा त आखिरमा डिलरले तिर्नुपर्छ, डिलरले तिरेकोमा ग्राहकले तिर्नुपर्छ ।’

सबैभन्दा धेरै खपत हुने २५ किलोको जिरा मसिनो चामलको उद्योगको मूल्य अहिले पनि २ हजार ५ सय ५० रुपैयाँ नै रहेको उनको भनाइ छ ।

ढुवानी भाडा जोडेर नयाँ बिल काट्दा उद्योगले नै भाउ बढाएको जस्तो देखिने भएपछि अहिले उद्योगीहरूले ‘एक्स–फ्याक्ट्री’ (कारखानाकै मूल्यमा) बिल काट्न थालेको अग्रवालले बताए । उनले डिलरहरूलाई आफैं गाडीको व्यवस्था गरेर सामान लैजान आग्रह गरिएको बताए ।

पुरानो स्टकमा भाउ बढाउनु गलत

कतिपय डिलर र पसलहरूले पुरानै मौज्दात (स्टक) को सामानलाई पनि विपद्को मौका छोपेर महँगोमा बेचिरहेकोतर्फ इङ्गित गर्दै अग्रवालले त्यसो गर्नु गलत भएको बताए ।

‘डिलर वा पसलवालासँग पुरानो स्टक छ भने त उनीहरूले पुरानै मूल्यमा बजारलाई दिनुपर्छ नि, पुरानो स्टकमा मूल्य बढाएर लिन्छ भने त्यो त गलत हुन्छ,’ अग्रवालले भने, ‘यसमा त सरकारले अनुगमन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ ।’

स्याउ र लसुन छोइसक्नु छैन

खाद्यान्नमात्र होइन, हरियो तरकारी र फलफूलको मूल्य पनि छोइसक्नु छैन । कालीमाटी फलफूल तथा तरकारी बजारमै सामान आयात प्रभावित भएको भन्दै खुद्रा व्यापारीहरूले महँगोमा बेच्न बाध्य भएको बताएका छन् ।

बुद्धनगरका तरकारी व्यापारी देव रानाले पहिरोले बाटो बन्द हुँदा बजारमा पर्याप्त तरकारी नभित्रिएको र नजिकैका जिल्लाबाट भित्रिएको थोरै परिमाणको तरकारीको मूल्य ह्वात्तै बढेको सुनाए ।

‘एक किलो स्कुसकै मूल्य ७० रुपैयाँसम्म पर्न गएको छ,’ उनले भने, ‘कालीमाटी लगायत अन्य बजारमा धेरै तरकारी नआएकाले पनि महँगो पर्न गएको हो ।’

फाइल फाेटाे

नयाँ बानेश्वरका एक फलफूल तथा तरकारी व्यापारीका अनुसार भारतबाट आउने प्याज प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ भने चिनियाँ लसुन ३ सय ५० रुपैयाँ पुगेको छ । बाढीले चिनियाँ नाका बन्द भएको र भारतबाट आउने बाटो पनि अवरुद्ध हुँदा आलुको मूल्य पनि बढ्दै उनले बताए ।

‘चीनबाट आउने लसुनदेखि स्याउसम्म सबैको भाउ होलसेलमै बढिसकेको छ,’ उनले भने, ‘केही होलसेल व्यापारीले स्टकमा भएको सामान पनि महँगोमा बेच्न थालेका छन् ।’

उनले स्याउ र अनारको मूल्य पनि बढेको बताए । उनका अनुसार स्याउको मूल्य कार्टुनमै २ हजारदेखि २ हजार २ सयसम्म बढेको छ । पहिला ४ हजार ५ सयमा पाइने एक कार्टुन (२० किलो) स्याउको मूल्य अहिले ७ हजार २ सयदेखि ७ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको उनको गुनासो छ ।

‘पहिले सस्तो रहेको स्याउ अहिले किलोकै ४ सय ५० रुपैयाँ पुगेको छ,’ ती व्यापारीले भने, ‘होलसेलबाट कार्टुनमै सामान ल्याउन पनि माल नआएर गाह्रो छ ।’

त्यस्तै अनारको मूल्य किलोको ३ सय ५० बाट बढेर ४ सय रुपैइँ पुगेको छ भने केरा दर्जनकै २ सयदेखि २ सय ५० रुपैयाँ पुगेको छ ।

ग्यास अभाव उस्तै

सडक अवरुद्ध हुँदा उपत्यकामा खाना पकाउने ग्याससमेत चरम अभाव सुरु भइसकेको छ । पहिलेदेखि नै अभाव रहेको ग्यास राजमार्ग अवरुद्ध हुँदा अझै चुलिँदै गएको छ । डिपोहरूमा ग्यास नभएको भन्दै उपभोक्ता रित्तो सिलिन्डर बोकेर भौँतारिन बाध्य छन् ।

काठमाडौं उपत्यकाका प्रत्येक डिलरमा ग्यासको लाइन लागेको छ । अहिले नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास ल्याउन लागेको छ ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार सुरुमा तराईबाट ग्यास ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको छ । तराईबाट ग्यास आएपछि अत्यावश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गरिने उनले बताएका छन् ।

निगमले ग्यास अभाव हुन नदिन हाललाई व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरण पूर्णरूपमा रोक्न विक्रेताहरूलाई निर्देशन दिएको छ ।

निर्णय अनुसार विशेषगरी विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम र अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि खुलेका सेन्टरहरूलाई आवश्यकता अनुसार प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने भनिए पनि उपभोक्ता आश्वस्त हुन सकेका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न र ठूला गोदाममै गएर अनुगमन गर्न निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग छलफल गरी विपद्का बेला बजारमा मनलाग्दी मूल्य बढाउने प्रवृत्ति देखिन सक्ने भन्दै अनुगमनलाई थप प्रभावकारी बनाउन मन्त्री गौरीकुमारी यादवले निर्देशन दिएकी थिइन् । बजार अनुगमनलाई विशेष प्राथमिकता साथ अघि बढाउन मन्त्रालयले १६ वटा अनुगमन टोली गठन गरेको छ ।

बजार नियन्त्रण गर्न १० टोली खटाएका छौं : मन्त्रालय

उद्योग मन्त्रालयले बजार अनुगमनका लागि गठन गरेका १६ वटा टोलीमध्ये हालसम्म १० वटा टोली परिचालन भइसकेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बजार अनुगमनको काम भइरहेको र त्यसको प्रारम्भिक रिपोर्ट मन्त्रालयमा आउन थालेको बताए । बाँकी टोली पनि छिट्टै बजार खटिने तयारीमा रहेको उनको भनाइ छ ।

नियमित अनुगमन अतिरिक्त उपभोक्ताबाट आएका गुनासाका आधारमा पनि टोलीले काम गरिरहेको मन्त्रालयले जनाएको छ । विशेषगरी बजारमा खाना पकाउने ग्यास अभाव भएको गुनासो आएपछि टोलीले त्यसको निगरानी गरिरहेको छ ।

‘अनुगमन भएर रिपोर्ट आइराखेको छ, अहिलेसम्म १० वटा टोली परिचालन भएका छन्, अरू टोली तयारी गर्दै हुनुहुन्छ,’ मन्त्रालयका प्रवक्ता सुवेदीले भने, ‘कतिपय ठाउँमा गुनासोको आधारमा पनि अनुगमन हुन्छ, कैफियत भेटिएको ठाउँमा कारबाही पनि भइरहेको छ ।’

चिनी, चामल र खानेतेल तरकारी लगायत विषयमा पनि अनुगमन टोलीले बजारमा गएर निगरानी गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?