+
+
Shares

खोइ चिनी ?

बजारमा चिनी पाउनै गाह्रो छ, पाइहाले पनि मूल्यले आकाश छोएको छ । वैशाखसम्म ९५ रुपैयाँ किलोमा पाइने चिनी अहिले १ सय १० रुपैयाँ हुँदै १ सय ५० रुपैयाँ नाघिसकेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ भदौ ३० गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैं, तिहार र छठअघि बजारमा चिनीको अभाव र मूल्यवृद्धि बढेपछि उपभोक्ताले किलोको १ सय ७० रुपैयाँसम्म तिरेको गुनासो गरेका छन् ।
  • सरकारले १८ भदौमा १ प्रतिशत भन्सार महसुलमा २५ हजार टन चिनी आयात गर्ने स्वीकृति दिएको छ र साल्ट ट्रेडिङले पर्याप्त मौज्दात रहेको जनाएको छ ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा प्रतिकिलो १ सय ९ रुपैयाँ र उपत्यका बाहिर १ सय १० रुपैयाँमा चिनी बिक्री गरिरहेको बताएको छ ।

३० भदौ, काठमाडौं । वर्षभरिमा सबैभन्दा धेरै चिनी खपत हुने समय भनेको दसैं, तिहार र छठ लगायत चाडपर्व हो । तर, चाडपर्व भित्रिसक्दा पनि बजारमा चिनी पाइएन भनेर उपभोक्ताले गुनासो गरेको २ महिना बढी भइसक्यो ।

भान्सामा चिया पकाउनदेखि चाडपर्वका विशेष मिठाई र परिकार बनाउन अत्यावश्यक चिनी अभावले आम उपभोक्तालाई तनाव दिएको छ । बजारमा चिनी पाउनै गाह्रो छ, पाइहाले पनि मूल्यले आकाश छोएको छ ।

वैशाखसम्म ९५ रुपैयाँ किलोमा पाइने चिनी अहिले १ सय १० रुपैयाँ हुँदै १ सय ५० रुपैयाँ नाघिसकेको छ ।

सरकारले भन्सार छुट दिएर भारी परिमाणमा चिनी आयात गर्ने निर्णय गरेको छ भने सरकारी स्वामित्वका संस्थानहरूले आफूसँग पर्याप्त मौज्दात रहेको दाबी गरिरहेका छन् ।

अर्कातिर, आम सर्वसाधारण भने एक किलो चिनी पाउन पसल–पसल भौँतारिनुपर्ने र पाइहाले पनि किलोको १ सय ७० रुपैयाँसम्म तिर्नुपर्ने चरम लुटको सिकार भइरहेको गुनासो गरिरहेका छन् ।

व्यापारीहरूले चिनी लुकाउने, चिनेजानेका ग्राहकलाई मात्र दिने र कालोबजारीको प्रमाण लुकाउन डिजिटल भुक्तानी (अनलाइन पेमेन्ट) समेत अस्वीकार गर्ने गरेको उपभोक्ताको आरोप छ ।

यो आपूर्तिको प्राविधिक समस्यामात्र होइन, बजार अनुगमनमा राज्यको फितलो उपस्थिति र व्यापारीहरूको सिन्डिकेटको उपज हो भन्ने पछिल्ला घटनाक्रमले पनि देखाउँछन् ।

उपभोक्ताको पीडा : पसलेले चिनी छैन मात्रै भन्छन्

बजारमा चिनीको मूल्यले कसरी उपभोक्ताको ढाड सेकिएको छ भन्ने जान्न काठमाडौं उपत्यकाका खुद्रा पसलहरूमा पुग्दा हुन्छ । काठमाडौं टोखाकी प्रतीक्षा खनालले ३–४ दिनअघि मात्रै घर नजिकैको किराना पसलबाट एक किलो चिनी खरिद गर्दा १ सय ७० रुपैयाँ तिर्नुपर्‍यो ।

‘३–४ वटा पसलमा डुलेपछि एउटामा चिनी पाइयो, तर धेरै महँगो पर्‍यो,’ प्रतीक्षाले भनिन्, ‘पसलेले नै चिनी नपाइएको र भएको चिनी पनि महँगो मूल्यमा किन्नुपरेको भन्दै मसँग एक किलोकै १ सय ७० रुपैयाँ लिए, आफूलाई आवश्यक भएकाले बढी मूल्य तिर्न बाध्य भएँ ।’

प्रतीक्षाको जस्तै व्यथा नयाँ बानेश्वरकी अर्की उपभोक्ता राधा कोइरालाको पनि छ । उनले जम्मा १५ दिनको अन्तरालमा चिनीको मूल्यमा आएको अस्वाभाविक वृद्धिले मर्कामा पारेको सुनाइन् ।

‘१५ दिन अगाडि १ किलो चिनी १ सय २० रुपैयाँमा किनेकी थिएँ,’ राधाले भनिन्, ‘तर, हिजो किन्न जाँदा त १ सय ६० रुपैयाँ तिर्नुपर्‍यो, पहिला त पसलेले चिनी नै छैन भनेर भनिरहेका थिए, पछि झिकेर दिए ।’

उनका अनुसार पसलेले कालोबजारी गरेको प्रमाण नबसोस् भनेर क्यास (नगद) मात्र मागेका थिए । ‘पसलेले चिनीको पैसा अनलाइन पेमेन्ट (क्यूआर कोडमार्फत) पनि लिन मानेनन्, क्यासमै भुक्तानी गर्नुपर्छ भने,’ उनले सुनाइन्, ‘क्यूआर बिग्रिएको छ, नगद नै दिनुस् भनेपछि अरू विकल्प पनि भएन ।’

राधाको भान्सामा सामान्य अवस्थामा २०-२५ दिनमा बल्ल १ किलो चिनी खपत हुन्छ । तर, अब दसैं र तिहारमा चिनी धेरै चाहिने भएकाले उनी चिन्तित छिन् ।

‘यस्तै महँगो मूल्य तिरेर किन्नुपर्ने वा पसलमा किन्नै नपाइएर अभाव भइराख्यो भने त कसरी पो चलाउने ?,’ उनले भनिन्, ‘सरकारलाई मेरो एउटै प्रश्न छ- चिनीको मूल्य नियन्त्रण कहिले हुन्छ ? सहज कहिले हुन्छ ?’

शंखमुलमा किराना पसल चलाइरहेका जीवन केसीले सधैं चिनी ल्याउने होसलेस विक्रेताले चिनी नभएको भनेर नपठाएको गुनासो गरे ।

‘होलसेलरले नै आफ्नो गोदाममा चिनी छैन भनेपछि २० दिन त चिनी नै बेच्न पाइएन,’ उनले भने, ‘बल्ल ३ बोराको जोहो गरेको छु ।’

उनले साल्ट ट्रेडिङबाट ३ बोरा चिनी ल्याएको सुनाए । साल्ट ट्रेडिङमा प्रतिकिलो १ सय ५ रुपैयाँमा नै चिनी पाइए पनि त्यसमा ढुवानी खर्च जोड्दा महँगो परेको र आफू पनि महँगोमा बेच्न बाध्य भएको उनको दाबी छ ।

निजी क्षेत्रको दाबी : १५५ रुपैयाँ लागत पर्ने चिनी ल्याउने कसरी ?

चिनी आपूर्ति गर्ने ठूला आयातकर्ताहरूले यसपालि चिनी आयात नगर्ने भएका छन् । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको र तेस्रो मुलुकबाट ल्याउँदा लागत अत्यधिक पर्ने भएकाले निजी क्षेत्रले चिनी ल्याउन नसकेको दाबी गरेको छ ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक प्रमुख चिनी आयातकर्ताले वर्तमान कर नीति र अन्तर्राष्ट्रिय बजार मूल्यका कारण निजी क्षेत्रले चिनी ल्याउनै नसक्ने अवस्था रहेको दाबी गरे ।

सरकारले दिएको १५ प्रतिशत भन्सार छुटले मात्र आयात गर्न सम्भव नभएको उनको तर्क छ ।

‘भारतले निर्यातमा प्रतिबन्ध लगाएको छ, भारत बाहेक तेस्रो देशबाट ल्याउँदा प्रतिटन ६ सय २० अमेरिकी डलरभन्दा बढी पर्छ,’ ती आयातकर्ताले हिसाब सुनाए, ‘नेपाल आइपुग्दाको लागत नै १ सय ५५ रुपैयाँ पर्न आउँछ, १ सय ५५ रुपैयाँ लागत पर्ने चिनी ल्याएर बजारमा सस्तोमा त कसरी बेच्न सकिन्छ त ? अनि कसरी आयात गर्ने ?’

ती आयातकर्ताको भनाइमा अहिलेको संकट टार्न साल्ट ट्रेडिङ बाहेक अरू कसैले सक्दैन । ‘खाद्य कम्पनीले अस्ति ल्यायो, तर महँगो पर्ने भएपछि अब त्यसभन्दा उता ल्याउँदैन, अब ल्याउने भनेको साल्ट ट्रेडिङले नै हो, साल्ट ट्रेडिङले ल्याउन नसके बजारमा ठूलो अभाव हुन्छ नै ।’

पछिल्लो समय बजारमा देखिएको चरम अभाव चाहिँ बाढीपहिरोका कारण बाटो बन्द हुनुले पनि भएको उनको भनाइ छ । ‘अहिले भर्खर बाटो सुरु भएको छ, बाटो बन्दले गर्दा ढुवानी नभएर अभाव भएको हो, अब बाटो खुलेपछि सबै पसलमा चिनी भेटिन्छ,’ उनले दाबी गरे ।

बजारमा कृत्रिम अभाव र मूल्यवृद्धिले सीमा नाघेपछि सरकारले उपभोक्तालाई सुलभ दरमा चिनी उपलब्ध गराउन र बजार नियन्त्रण गर्न भन्दै १८ भदौमा १ प्रतिशत भन्सार महसुलमा २५ हजार टन चिनी आयात गर्न स्वीकृति प्रदान गरेको छ ।

सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यो चिनी ल्याउँदै छन् ।

साल्ट ट्रेडिङ भन्छ : पर्याप्त मौज्दात छ, चाडपर्वमा अभाव हुँदैन

निजी क्षेत्रले हात झिकेको र बजारमा अभावको गुनासो कायमै रहेका बेला साल्ट ट्रेडिङले भने आफूसँग पर्याप्त मौज्दात रहेको र उपभोक्ताले आत्तिनुपर्ने अवस्था नरहेको आश्वासन दिएको छ ।

कर्पोरेसनले हाल उपभोक्तालाई किलोको १ सय ५ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ, जुन बजारको खुद्रा मूल्य (१ सय ७० रुपैयाँ) भन्दा ६५ ले सस्तो हो ।

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार बजारमा चिनी अभाव हुन नदिन कर्पोरेसनले प्रतिपरिवार ४ देखि ६ किलोसम्म चिनी उपलब्ध गराइरहेको छ ।

‘अहिले हामीले १ सय ५ रुपैयाँमा चिनी बिक्री गरिरहेका छौं, उपभोक्तालाई ६ किलोसम्म दिइरहेका छौं, त्यस्तो कडा रोकतोक गरेका छैनौं,’ प्रवक्ता राजभण्डारीले भने, ‘उद्योग मन्त्रालयबाट चाडपर्व लक्षित बजारका लागि के निर्देशन आउँछ, त्यसपछि सोही अनुसार थप व्यवस्थापन गर्ने छौं ।’

राजभण्डारीका अनुसार हाल साल्ट ट्रेडिङसँग देशभरि करिब ६ हजारदेखि १० हजार टन चिनी मौज्दात छ । कर्पोरेसनले काठमाडौंमा मात्र नभई वीरगञ्ज, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज लगायत पूर्वदेखि पश्चिमसम्मका शाखाबाट चिनी बिक्री  गरिरहेको छ ।

‘आन्तरिक बजारबाट १२ हजार टन चिनी खरिद गर्ने लक्ष्य राखिएकोमा ५० प्रतिशत अर्थात् करिब ६ हजार टन नेपाली चिनी कर्पोरेसनले उठाइसकेको छ,’ उनले भने ।

यसका साथै, भारतबाट आयात गर्न लागिएको २२ हजार ५ सय टन चिनी पनि आउने क्रममा रहेको उनले जानकारी दिए । ‘भारतबाट २५ सय टन चिनी आइसकेको छ र भन्सारबाट छुट्दै छ,’ उनले भने, ‘अर्को २५ सय टन पनि विराटनगर नाका हुँदै आउँदै छ भने ७ हजार ५ सय टन पाइपलाइनमा छ ।’

पछिल्लो समय बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा काठमाडौंमा ठूला मालवाहक गाडी आउन नसकेको उनले स्वीकारे । ‘अहिले बाटोको कारणले ठूलो क्षमताको गाडी आउन सकेको छैन, तर १० टन क्षमताका साना गाडीबाट हामीले चिनी ल्याइरहेका छौं,’ उनले भने, ‘आगामी १ असोजदेखि बाटो खुल्ने भन्ने छ, त्यसपछि आपूर्ति व्यवस्था अझ थप सहज हुन्छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि बजारमा सहुलियत दरमा चिनी उपलब्ध गराइरहेको बताएको छ । कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार हाल कम्पनीसँग करिब १२ हजार क्विन्टल चिनी मौज्दात छ ।

‘हामीसँग करिब १२ हजार क्विन्टल चिनी मौज्दात छ, भारतबाट १ हजार क्विन्टल चिनी आइसकेको छ,’ मिश्रले भने, ‘यसबाहेक हामीले स्वदेशी उद्योग र मिलहरूबाट पनि नियमित चिनी ल्याइरहेका छौं र उपभोक्तालाई बिक्री गरिरहेका छौं ।’

कम्पनीले धेरैभन्दा धेरै उपभोक्तालाई सहुलियत दरको चिनी पुगोस् भन्ने उद्देश्यले कोटा निर्धारण गरेको छ । मिश्रका अनुसार काठमाडौं उपत्यकामा प्रतिव्यक्ति २ किलो र उपत्यका बाहिर सहजता हेरेर २ देखि ४ किलोसम्म चिनी वितरण भइरहेको छ ।

‘हामीले काठमाडौंमा प्रतिकिलो १ सय ९ रुपैयाँमा चिनी बिक्री गरिरहेका छौं, उपत्यका बाहिर भने देशैभरि दुर्गममा समेत ढुवानी खर्चसहित प्रतिकिलो १ सय १० रुपैयाँमा बेचिरहेका छौं,’ उनले भने ।

मन्त्रिपरिषद्ले निर्णय गरेको १ प्रतिशत भन्सार महसुलको चिनीको खरिद प्रक्रिया अगाडि बढिसकेको पनि मिश्रको भनाइ छ ।

‘त्यो चिनी ल्याउने विषयमा प्रक्रियामै छौं, खरिद प्रक्रिया अगाडि बढिसकेको हुनाले दसैंतिहार अगाडि नै त्यो चिनी आउन चाहिँ आउँछ,’ उनले दाबी गरे ।

कोटा बढेपछि बजार सामान्य हुने अपेक्षा

साल्ट ट्रेडिङले चिनी आपूर्ति बढाएपछि खुद्रा व्यापारीलाई चिनी बेच्ने थोक विक्रेता (होलसेलर) हरूले पनि राहत महसुस भएको बताएका छन् ।

बालाजुका चिनी थोक विक्रेता ईश्वर श्रेष्ठका अनुसार साल्ट ट्रेडिङले आजैदेखि थोक विक्रेतालाई दिने चिनीको मात्रा (कोटा) बढाएको छ । अबको केही दिनमै बजार अभाव हट्ने उनको दाबी छ ।

‘अहिले चिनी बिस्तारै सहज हुँदै आएको छ, साल्ट ट्रेडिङले आजदेखि अलिकति परिमाण बढाइदिएको छ,’ श्रेष्ठले भने, ‘यसले गर्दा अबको दुई–चार दिनमा बजार आफैं नियन्त्रण भइहाल्छ ।’

श्रेष्ठका अनुसार हाल निजी क्षेत्र र साल्ट ट्रेडिङको चिनीको मूल्यमा ठूलो अन्तर छ । निजी क्षेत्रबाट खरिद गर्दा थोक विक्रेतालाई नै प्रतिकिलो १ सय २८ देखि १ सय ३० रुपैयाँसम्म परिरहेको छ ।

नीति कार्यान्वयन र अनुगमनमा खोट

माथिका सबै तथ्य र भनाइ विश्लेषण गर्दा चिनीको यो संकट जति प्राविधिक हो, त्योभन्दा धेरै गुणा बढी ‘कृत्रिम’ हो ।

सरकारी आउटलेट (बिक्री केन्द्र) हरू सीमित छन् । सबै उपभोक्ता जागिर र काम छाडेर २ किलो चिनीका लागि साल्ट ट्रेडिङ वा खाद्यको कार्यालयमा दिनभरि लाइन बस्न सक्दैनन् । उनीहरूको पहुँच भनेको आफ्नै टोलको किराना पसलमा हो । त्यही किराना पसलमा उपभोक्ता १ सय ७० रुपैयाँसम्म चिनीको मूल्य तिर्न बाध्य छन् र व्यापारीले चर्को मूल्य असुलेर खुलेआम राज्यलाई चुनौती दिइरहेका छन् ।

यसको अर्थ हो, राज्यको बजार अनुगमन संयन्त्र पूर्णरूपमा असफल भएको छ । गोदाममा चिनी लुकाएर ‘छैन’ भन्ने र पछि कालोबजारी गर्दै महँगोमा बेच्ने व्यापारीहरूलाई कारबाहीको दायरामा नल्याएसम्म समस्या समाधान हुँदैन ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?