+
+
Shares

ट्रम्प-सी वार्ता: के-के छन् एजेन्डा, बाँकी विश्वलाई पनि किन महत्त्वपूर्ण छ?

चिनियाँ नेता सी जिनपिङले बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहुप्रतीक्षित वार्ता गर्दैछन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ नेता सी जिनपिङले बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार तनाव, एआई र ताइवानलगायत विषयमा वार्ता गर्दैछन्।
  • ट्रम्पले बुधबार सी र उनकी पत्नी पेङ लियुआनलाई जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा रेड कार्पेटसहित व्यक्तिगत रूपमा स्वागत गरेका छन्।
  • दुवै देशले ११ महिने व्यापारिक युद्धविराम जनवरी १० सम्म लम्ब्याएका छन् र वार्ताअघि तनाव तत्कालका लागि टारेका छन्।

७ असोज, काठमाडौं । चिनियाँ नेता सी जिनपिङले बिहीबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहुप्रतीक्षित वार्ता गर्दैछन्। दुवै पक्ष व्यापारिक तनाव कम गर्न र आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीबारे छलफल गर्न तयार देखिएका छन्।

बुधबार साँझ ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा सी र उनकी पत्नी पेङ लियुआनलाई रेड कार्पेटसहित दुर्लभ स्वागत गरेका थिए। पछिल्लो ६ दशकमा कुनै पनि अमेरिकी राष्ट्रपतिले विदेशी पाहुनालाई विमानस्थलमै पुगेर यसरी व्यक्तिगत रूपमा स्वागत गरेका थिएनन्।

यसअघि चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले राष्ट्रपति सी र पेङका साथमा उनका नजिकका सल्लाहकार काइ ची र विदेशमन्त्री वाङ यी पनि अमेरिका भ्रमणमा रहेको जनाएको थियो।

ह्वाइट हाउसले बिहीबार तय भएको यस वार्ताले ‘दुई देशबीचको सम्बन्धमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा’ साबित हुने बताएको छ।

सीको यो राजकीय भ्रमणमा इरानमाथिको अमेरिका-इजरायल युद्ध, ट्रम्पले लगाएको ट्यारिफको प्रभाव र चीनले आफ्नै भूभाग दाबी गर्दै आएको ताइवानमाथिको युद्धको खतराजस्ता तनावका धेरै विषयमा छलफल हुने सम्भावना छ।

वासिङ्टनमा सीको तालिका कस्तो छ?

ट्रम्पले सीलाई जोइन्ट बेस एन्ड्रयुजमा स्वागत गरिसकेका छन्। तर मुख्य कार्यक्रम बिहीबार बिहान हुनेछ, जहाँ सीलाई ह्वाइट हाउसमा मिलिटरी फ्लाई-ओभर र करिब ५०० सैनिकसहितको राजकीय सम्मान दिइनेछ।

दिउँसो दुई नेताबीच वार्ता भएपछि, ट्रम्पले ह्वाइट हाउसमा सीको सम्मानमा स्टेट डिनर अर्थात् राजकीय रात्रिभोज आयोजना गर्नेछन्। यस कार्यक्रममा दुवै देशको बजारका लागि महत्त्वपूर्ण मानिएका कम्पनीका प्रमुखहरू जस्तै: एप्पलका टिम कुक, एनभिडियाका जेन्सन हुवाङ र ओपनएआईका साम अल्टम्यान सहभागी हुने अपेक्षा गरिएको छ।

शुक्रबार बिहान दुवै राष्ट्रपतिका दम्पतीले ह्वाइट हाउसमा चिया पिउने र त्यसपछि नेसनल आर्काइभ्सको भ्रमण गर्दै यो भ्रमणको समापन गर्नेछन्। भ्रमणको अन्त्यमा संयुक्त पत्रकार सम्मेलन वा वक्तव्य जारी गर्नुको साटो, दुवै देशले आ-आफ्ना नागरिकलाई लक्षित गर्दै छुट्टाछुट्टै घोषणाहरू गर्ने अपेक्षा गरिएको छ।

वार्ताका एजेन्डामा के-के छन्?

बिहीबारको मुख्य बैठकअघि नै दुवै पक्षले व्यापार युद्धको सङ्कटलाई तत्कालका लागि टारेका छन्। नोभेम्बरमा सकिन लागेको ११ महिने व्यापारिक युद्धविरामलाई आगामी जनवरी १० सम्म लम्ब्याइएको छ, जसले गर्दा दुवै देशका वार्ता टोलीलाई फराकिलो सम्झौता गर्न थप समय मिलेको छ।

छलफलमा इरानमाथिको अमेरिका-इजरायल युद्धले पनि प्रमुख स्थान पाउने सम्भावना छ। बेइजिङले तेहरानसँग नजिकको सम्बन्ध राख्दै आएको छ, तर सीसँगको भेटले ट्रम्पलाई यो द्वन्द्वको गतिरोध तोड्न मद्दत गर्छ वा गर्दैन भन्ने अझै स्पष्ट छैन।

वासिङ्टनले बेइजिङलाई तेहरानमाथिको आफ्नो प्रभाव प्रयोग गरोस् भन्ने चाहन सक्छ, तर ट्रम्पले अहिलेसम्म चीनको मद्दत माग्न आवश्यक नदेखेको अडान राख्दै आएका छन्।

दुई देशबीच आर्टिफिसियल इन्टेलिजेन्स विकासको प्रतिस्पर्धाबारे पनि कुराकानी हुनेछ। एआईको विकासमा उनीहरूबीच कडा प्रतिस्पर्धा भए पनि बढ्दो खतराबारे दुवै पक्ष सचेत छन्।

अमेरिकाले चीनसँग एउटा नयाँ नोटिफिकेसन संयन्त्र प्रस्ताव गरेको छ, जसअन्तर्गत राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने गम्भीर एआई घटनाहरूबारे एक-अर्कालाई सतर्क गराइनेछ।

यस्तै, चीनले ताइवानको मुद्दा पनि उठाउने अपेक्षा गरिएको छ। गत डिसेम्बरमा ट्रम्प प्रशासनले ताइवानलाई हालसम्मकै सबैभन्दा ठूलो ११ अर्ब डलरबराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको थियो, तर करिब १४ अर्ब डलरको दोस्रो प्याकेज भने महिनौँदेखि रोकिएको छ।

ट्रम्पले यो हतियार बिक्रीलाई धेरै राम्रो वार्ताको अस्त्रका रूपमा वर्णन गरेका छन्।

सन् २०२५ मा चीनमा ‘अन्डरग्राउन्ड’ चर्चहरूमाथिको कारबाहीका क्रममा जेल परेका चिनियाँ नागरिक पास्चर एज्रा जिनलाई गत जुलाईमा रिहा गराउन सफल भएपछि, ट्रम्पले चीनमा बन्दी बनाइएका केही अमेरिकी र अन्य व्यक्तिहरूको रिहाइको माग गर्ने अपेक्षा पनि गरिएको छ। ट्रम्पले गत मे महिनामा सीसँग पास्चरको मुद्दा उठाएका थिए।

ट्रम्प र सीबीचको सम्बन्ध कस्तो छ?

विमानस्थलमै पुगेर सीलाई व्यक्तिगत रूपमा स्वागत गर्ने ट्रम्पको निर्णयले अमेरिकी राष्ट्रपति चिनियाँ नेतालाई सम्मान गर्न कतिसम्म तत्पर छन् भन्ने देखाउँछ। एउटा टिभी अन्तर्वार्तामा मेलानिया ट्रम्पले आफ्ना पतिले सीलाई उनीहरूबीच ‘धेरै राम्रो सम्बन्ध’ भएका कारण स्वागत गर्ने निर्णय गरेको बताएकी थिइन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘उहाँ हाम्रो भूमिमा आउँदै हुनुहुन्छ र हामीले उहाँहरूलाई अधिकतम सम्मानका साथ स्वागत गर्नुपर्छ।’

यस्तो सौहार्दपूर्ण भनाइ भए तापनि, जनवरी २०२५ मा ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएलगत्तै सुरु भएको व्यापार युद्धले दुई नेताबीचको सम्बन्धमा तिक्तता ल्याएको थियो। अमेरिकी राष्ट्रपतिले फेन्टानाइल र अध्यागमनको चिन्तालाई लिएर चिनियाँ सामानमा १० प्रतिशत भन्सार लगाएका थिए।

त्यसको जवाफमा चीनले अमेरिकी कोइला, तरल प्राकृतिक ग्यास, कच्चा तेल र अटोमोबाइल्समा कर लगाउनुका साथै रक्षा उपकरण र स्वच्छ ऊर्जा उत्पादनका लागि आवश्यक पाँच रेयर-अर्थ धातुहरूको निर्यातमा रोक लगाएको थियो।

दुवै पक्षले द्रुत गतिमा तनाव बढाउँदा ट्यारिफ तीन अङ्क (१००% प्लस) मा पुगेको थियो र बेइजिङले आफ्ना नागरिकलाई अमेरिका भ्रमण नगर्न चेतावनीसमेत दिएको थियो। चीनले गत वर्षको अन्त्यतिर थप सात रेयर-अर्थ धातुहरूको निर्यातमा प्रतिबन्ध लगाउने धम्की पनि दिएको थियो।

अक्टोबर २०२५ मा दक्षिण कोरियामा भएको वार्तामा ट्रम्प र सीले व्यापार युद्धविराम गरेपछि उक्त धम्की रोकिएको थियो।

यस वर्षको मे महिनामा ट्रम्पले चीन भ्रमण गर्दा दुवै देशले बोर्ड अफ ट्रेड एन्ड इन्भेस्टमेन्ट बनाउने घोषणा गरेका थिए भने सीले बोइङ जेट र अमेरिकी कृषि उत्पादन खरिद गर्न सहमति जनाएका थिए।

तर, त्यसयता ट्रम्पले जबर्जस्ती श्रमबाट उत्पादित सामानको आयात रोक्न नसकेको आरोप लगाउँदै चीनसहित ६० व्यापारिक साझेदार देशका सामानहरूमा नयाँ १२.५ प्रतिशत ट्यारिफ लगाएका छन्।

यो शिखर सम्मेलन किन महत्त्वपूर्ण छ?

तनाव मत्थर भइरहेको भनिएको समयमा ह्वाइट हाउसमा हुने बिहीबारको भेट यी दुई नेताबीच एक वर्षभन्दा कम अवधिमा भएको तेस्रो प्रत्यक्ष वार्ता हो। दुवै पक्षले एक-अर्काको परीक्षण जारी राखे पनि तनावलाई थप बढ्न नदिने प्रयास गरिरहेका छन्।

ट्रम्पको चीन भ्रमणका क्रममा, दुवै पक्ष ‘रणनीतिक स्थिरतासहितको रचनात्मक चीन-अमेरिका सम्बन्ध’ मा सहमत भएका थिए। यो भेटघाटले दुवै देशका आ-आफ्ना प्रतिस्पर्धी स्वार्थहरूबीच यस्तो अडान टिक्न सक्छ कि सक्दैन भन्ने कुराको थप परीक्षण गर्नेछ।

यसले विशिष्ट क्षेत्रहरूमा ट्यारिफ कम गर्ने, लागुऔषध ओसारपसार नियन्त्रणमा सहयोग गर्ने र सैन्य संवाद विस्तार गर्ने सम्झौताहरू गराउन सक्छ। साथै, यसले द्विपक्षीय सम्बन्धको स्थिर र दीर्घकालीन विकासको बाटो तय गर्न र सहकार्यलाई मुख्य आधार बनाउन पनि मद्दत गर्न सक्छ। (अल जजिराबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?