+
+
Shares

चीनको सिनोभ्याक खोप ‘निकै प्रभावकारी’ देखिएको अध्ययनको निष्कर्ष

९८ प्रतिशतलाई मृत्युबाट र ९६ प्रतिशतलाई अस्पताल भर्ना हुनबाट जोगायो !

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते ७:३६

३० वैशाख, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अहिले इन्डोनेशियाका स्वास्थ्यकर्मीहरूले लगाइरहेका छन् ।

उनीहरूमा केही विवादसमेत देखिए पनि चिनियाँ खोपबारे क्लिनिकल परीक्षणको तुलनामा निकै राम्रो नतिजा देखिएको छ । यसले चिनियाँ खोपको पर्खाइमा रहेका मुलुकका नागरिक उत्साहित बनेका छन् । चिनियाँ खोप क्लिनिकल परीक्षणको क्रममा पश्चिमा मुलुकको कोरोना खोपभन्दा निकै कम प्रभावकारी देखिएको थियो ।

इन्डोनेशियाको राजधानी शहर जकार्तामा गत जनवरीदेखि मार्चसम्मको अवधिमा एक लाख २८ हजारभन्दा धेरै चिनियाँ खोप लगाएका मानिसमा नियमित अध्ययन गरिएको थियो । सो अध्ययनका क्रममा सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि खोपले ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो । बुधबार इन्डोनेशियाको स्वास्थ्य मन्त्रालयका अधिकारी पन्ड्जी देवान्त्राले यो अध्ययनमा चिनियाँ खोप निकै प्रभावकारी पाइएको बताए ।

देवान्त्राका अनुसार ९४ प्रतिशत कर्मचारी लक्षणसहितको संक्रमणबाट बचेका थिए । यो नतिजा सो खोपको क्लिनिकल परीक्षणमा पाइएको भन्दा निकै राम्रो हो । यसअघि इन्डोनेशियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सडिकिनले २५ हजार ३७४ मानिसको सानो समूहमा गरिएको अध्ययनमा पनि उक्त खोपको प्रभावकारिता सोही अनुसार रहेको पाइएको बताएका थिए ।

‘हामीले अस्पताल भर्ना हुने र मृत्यु हुने स्वास्थ्यकर्मीको संख्यामा धेरै धेरै कमी आएको देखेका छौं’, सडिकिनले बताए । अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टमा यो खोपको प्रभावकारिता कस्तो रहन्छ भन्ने थाहा हुनसकेको छैन । यद्यपि इन्डोनेशियामा अहिलेसम्म कोरोना भेरियन्टको संक्रमण भने फैलिएको छैन ।

ब्राजिलमा यो खोपको परीक्षणमा यसको प्रभावकारिता पहिलो चरणमा बनेका सबै कोरोना खोपको भन्दा कम पाइएको थियो । ब्राजिलमा ठूलो समूहमा गरिएको क्लिनिकल परीक्षणमा यो खोप ५० प्रतिशतभन्दा केही मात्र बढी प्रभावकारी पाइएको थियो ।

चीनको राजधानी बेइजिङस्थित सिनोभ्याकका प्रवक्ताले इन्डोनेशियामा अहिले देखिएको नतिजाबारे विस्तृत जानकारी विना कुनै प्रतिक्रिया नदिने बताए । इन्डोनेशियामा गरिएको यो अध्ययनमा कोरोना खोप लगाएका र नलगाएका मानिसबीच तुलना गरेर प्रभावकारिता निकालिएको थियो । यो अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष थियो ।

छुट्टै एक अन्तर्वार्तामा सिनोभ्याकका सीईओ यिन वेइडोङले आफ्नो कोरोना खोपले क्लिनिकल परीक्षणको तुलनामा राम्रो नतिजा देखाइरहेको बताए ।

सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो ।

यो उदाहरणले सिनोभ्याकको कोरोना खोपले अहिले जारी महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने देखाएको छ । विश्वका गरीब मुलुकमा अधिकांश मानिसले कोरोना खोप नपाउँदासम्म यो महामारीको अन्त्य हुँदैन । गरीब मुलुकले छिट्टै कोरोना खोप पाउने अवस्था पनि छैन ।

इन्डोनेशियाका स्वास्थ्यकर्मीहरूको अध्ययनको नतिजा र अर्को ब्राजिलको ४५ हजार मानिसको बसोबास रहेको शहरमा गरिएको अध्ययनमा संक्रमित र मृत्यु हुनेको संख्यामा निरन्तर कमी आइरहेको पाइएको छ ।

यद्यपि चिलीमा भने करीब एकतिहाई मानिसमा कोरोना खोप लगाइसकिएको छ । एक करोड ९० लाख जनसंख्या रहेको यो मुलुक विश्वमा सबैभन्दा तीव्र गतिमा कोरोना खोप मानिसलाई लगाउने मुलुकमध्येको एक हो । तर, यसले पनि ल्याटिन अमेरिकामा फैलिरहेको भेरियन्ट सहितको संक्रमणबाट भने बचाउन सकेको छैन ।

सिनोभ्याकका सीईओ यिनका अनुसार चिलीलाई एक करोड ५० लाख डोज कोरोना खोप दिइएको छ । अर्थात् चिलीका करीब ७० लाख मानिसले मात्र चिनियाँ खोप पाउनेछन् । यो संख्या चिलीको जनसंख्याको करीब ३६ प्रतिशत हो । उनले भने, ‘सामाजिक गतिविधि बढेसँगै कोरोना खोप नपाएका युवामा कोरोना संक्रमण बढ्नु सामान्य हो ।’ चिलीमा कोरोना खोप लगाएकामध्ये ८९ प्रतिशत आईसीयूमा जानबाट बचेको सिनोभ्याकले बताएको छ ।

सिनोभ्याकका सीईओ यिनका अनुसार ठाउँ अनुसार खोपको प्रभावकारिता पनि फरक हुन्छ । यद्यपि चिनियाँ खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको उनको भनाइ छ ।

कोरोना खोपबारे सबैभन्दा महत्वपूर्ण प्रश्न यो खोपले कोरोना संक्रमणको विस्तार रोक्ने मामिलामा कति प्रभावकारी छ भन्ने हो । यद्यपि सिनोभ्याकले आफ्नो खोपले कोरोनाभाइरस अर्को मानिसमा सार्न पनि रोक्न सक्छ वा सक्दैन भन्ने थाहा नभएको बताएको छ । यद्यपि मानिसलाई गम्भीर बिरामी हुन र मृत्युबाट बचाउनु सबैभन्दा महत्वपूर्ण रहेको उसको भनाइ छ ।

अमेरिकी कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना खोप इजरायलमा कोरोना संक्रमण नियन्त्रणमा ९० प्रतिशत प्रभावकारी पाइएको थियो ।

अन्य कोरोना खोप कोरोना संक्रमण अर्को व्यक्तिमा सर्नबाट पनि रोक्न सक्ने वा नसक्ने भन्ने कुनै प्रमाण भेटिएको छैन । अहिले चीनले आफ्नो प्रभाव विस्तारको लागि खोप कूटनीतिको प्रयोग गरिरहेको आलोचकले बताएका छन् ।

चिनियाँ खोप निर्माता तथा अधिकारीले खोपको विषयमा विस्तृत जानकारी सार्वजनिक नगरेको आरोप लाग्दै आएको छ । उनीहरूले खोप निर्माणमा पनि पारदर्शिता नअपनाएको पश्चिमा मुलुकको आरोप छ ।

कोरोना खोपबारे सबैभन्दा महत्वपूर्ण प्रश्न यो कोरोना संक्रमणको विस्तार रोक्ने मामिलामा कति प्रभावकारी छ भन्ने हो । यद्यपि सिनोभ्याकले आफ्नो खोपले कोरोनाभाइरस अर्को मानिसमा सार्न पनि रोक्न सक्छ वा सक्दैन भन्ने थाहा नभएको बताएको छ ।

‘खोप अभियानमा प्रयोग गर्दा देखिएको नतिजा र हाम्रो क्लिनिकल परीक्षणको वैज्ञानिक नतिजाको आधारमा विश्वले हाम्रो खोपलाई प्रभावकारी रूपमा विश्लेषण गर्न सक्छन्’, यिनले भनेका छन् । उनले आफ्नो खोपको प्रयोग भइरहेका मुलुकलाई खोपको प्रभावकारिता बारेको तथ्यांक सकेसम्म छिटो सार्वजनिक गर्न पनि आग्रह गर्ने गरेका छन् ।

इन्डोनेशिया चिनियाँ खोप सबैभन्दा पहिला प्रयोग गर्ने मुलुकमध्येको एक हो । गत जनवरी महीनामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो सिनोभ्याकको खोप लगाउने राष्ट्रप्रमुख थिए । त्यतिबेला चीन र बाहिर पनि यो खोपबारे आशंका चलिरहेको थियो ।

इन्डोनेशियाले अहिलेसम्म मुलुकमा दुई करोड २० लाखभन्दा धेरै डोज कोरोना खोप आफ्ना नागरिकलाई लगाएको छ । जसमध्ये अधिकांश सिनोभ्याकको खोप छ । यो वर्षको अन्तिमसम्ममा २७ करोड जनसंख्या रहेको यो मुलुकले हर्ड इम्युनिटीको विकास हुने गरी मानिसलाई खोप दिइने बताएको छ ।

इन्डोनेशियाका स्वास्थ्य मन्त्री सडिकिन ५० प्रतिशतभन्दा बढी प्रभावकारिता भएको खोपले धेरै मानिसलाई मृत्युको मुखबाट बचाउन सक्ने बताउँछन् । उनले आफूहरूको उद्देश्य सबैसम्म छिटो सबै नागरिकलाई कोरोना खोप लगाउनु रहेको बताए ।

छिमेकी मुलुक मलेशिया र इन्डोनेशियामा निरन्तर कोरोना संक्रमण बढिरहेको छ । तर, इन्डोनेशियाको नयाँ संक्रमितको वृद्धिदर भने गत जनवरीमा उच्च विन्दुमा पुगेयता स्थिर देखिएको छ । यद्यपि इन्डोनेशियाका धेरै मानिसले कोरोना खोप लगाउन बाँकी छ । यस्तोमा इद पर्वको अवसरमा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढ्न सक्ने आशंका विशेषज्ञहरूले गरेका छन् ।

अहिले चीनले आफ्नो प्रभाव विस्तारको लागि खोप कूटनीतिको प्रयोग गरिरहेको आलोचकले बताएका छन् ।

युनिभर्सिटी अफ अकल्याण्डका संक्रामक रोग विशेषज्ञ हेलेन पेटोउसिस ह्यारिस क्लिनिकल परीक्षणमा देखिएको नतिजाभन्दा खोपको रोग नियन्त्रण गर्ने क्षमता बढी हुने बताउँछिन् ।

‘मेरो अनुभवमा, प्रायःजसो हामी खोपको समग्र प्रभावको अनुमानमा चुक्ने गर्छौं, जुन वास्तविक प्रयोगमा मात्र देख्न सकिन्छ’ उनले भनिन्, ‘रोगलाई कम गर्नु मात्र पर्याप्त छैन, त्यसको लागि समस्या निम्त्याउन सक्ने भेरियन्टलाई पनि कम गर्दै लैजानु जरूरी हुन्छ ।’

ब्लुमबर्गबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?