Comments Add Comment

‘पौडिएर बाँचे, अनि अरुलाई निकाल्न थालें’

स्थानीय भन्छन्-'महिला, वालवालिका र मोटरसाइकलसहित ५० जना डुबे'

majamai-dunga-durghatana
२८ असोज, इलाम । इलामको महमाईमा शुक्रबार दिउँसो भएको त्राशदीपूर्ण डुंगा दूर्घटनामा परेका एकजना युवक अनलाइनखबरको सम्पर्कमा आएका छन् ।

नदीमा पौडी खेलेर बाँच्न सफल ती व्यक्तिले दिएको जानकारी अनुसार डुंगामा करिब ५०/६० जना थिए । तीमध्ये अधिकांश वृद्धवृद्धा, केटाकेटी र महिलासमेत थिए । डुंगामा सवार हेमन्तका दनुवार भन्छन्, ‘धन्न ! पौडिन आउँथ्यो र बचें ।’

डुंगामा सवार केही व्यक्ति हेमन्तजस्तै पौडिन सक्ने थिए । उनीहरु पौडिएर बाँचे । र, उद्धारमा खटिए । दुर्घटनामा परेर पनि बच्न सफल मध्येका हेमन्त यसरी घटनाको वर्णन गर्छन्-

‘पौडिएर बाँचे, अनि अरुलाई निकाल्न थालें’

महमाईमा तीनवटा डुंगा चल्छन् । मचाहिँ दिउँसो दानाबारी-८, लोदिया दोभानबाट तर्नलाई डुंगा चढेको थिएँ । मानिसहरु धेरै थिए । करिब ५०/६० जना हुनुपर्छ । बालबालिका पनि थिए । वृद्ध, महिला र युवा पनि थिए ।

दोभान छेऊ साँघुरो थियो । त्यहाँबाट डुंगा फनफनी घुम्दा मान्छे चिच्याएको मलाई याद छ । केही मानिसहरु डुंगामा बसेका ठाउँबाट उठे । एकैछिनमा डुंगा करिब ४/५ मिटर तल डुब्यो । महिला र केटाकेटी झन चिच्याउन थाले । एक्कासी कोलाहल आवाज आयो ।

म यहीँको स्थानीय बासिन्दा हुँ । मलाई राम्रोसँग पौडिन आउँछ । अन्य ४/५ जना दाइहरु पनि मसँगै हुनुहुन्थ्यो । उहाँहरुलाई पनि पौडी खेल्न राम्ररी आउँथ्यो । हामी पौडिएर बच्यौं । र, दुर्घटनामा परेकालाई उद्धार गर्न थाल्यौं ।

पहिले त्यहाँ रहेका बालबालिकाहरुलाई निकाल्न थाल्यौं । केहीवेरपछि अन्य स्थानीयवासी पनि आइपुगे । उनीहरुले पनि उद्धारमा सहयोग गरे । केहीबेरमा प्रहरी पनि आइपुगे ।

डुंगामा धेरै मानिसहरु दशैंको टीका लाएर फर्किएकाहरु थिए । कतिपय शुक्रबारे मेलामा गएर फर्केका स्थानीय व्यक्तिहरु पनि थिए ।

डुंगा दुर्घटना भएको ठाउँ ंभौगोलिकरुपमा इलामको विकट क्षेत्रमा पर्छ,। सदरमुकामबाट यहाँ आउन कठिन छ । इलामबाट भन्दा झापामा त्यस क्षेत्रमा छिटो पुग्न सकिन्छ । दानावारी र महमाईको बीचमा पर्ने चण्डलघाट दोभानमा यात्रुवाहक डुंगा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । स्थानीयले भने थप दुईजनाको शव फेला पारिएको बताएका छन् । तर, प्रहरीले यसको पुष्टि गरेको छैन । मृतकहरुको सनाखत भइसकेको छैन ।
प्रहरी, सशस्त्र र स्थानीय डुबेकाहरुको खोजीमा सक्रिय छन् । जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवको नेतृत्वको टोलीसमेत घटनास्थलतर्फ लागेको छ ।

डुंगामा मोटरसाइकल पनि रहेछन्, ओभरलोड भएर डुबेछ

-ध्रुब श्रेष्ठ, स्थानीय राजनीतिकर्मी

म अहिले दुर्घटना भएकोस्थल महमाई खोलैमा छु । मेरो छेउमा एकजना पुरुष र एकजना महिलाको शव छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

Uddhar--dunga-accident
अरु तीनजनाको शव यहाँभन्दा तीन किलोमिटर तल चेप्टी भन्ने ठाउँमा निकालेको छ भन्ने सुनिएको छ । त्यहाँको चाँहि तथ्य छैन । यसो सुन्दाखेरि अहिलेसम्म पाँच जनाको लास भेटिएको जस्तो छ ।

दिउँसो साढे १ बजेतिर नाउ तार्ने क्रममा ओभरलोड भएछ र वीचमा गहिरोमा पुगेपछि नाउ स्वाट्टै डुबेछ । २६ जनालाई चाँहि उद्धार गरेर किनारामा निकालिएछ । ८/१० जना जति आफैं पौडिएर निस्किएछन् ।

घटनास्थल चण्डलघाट दोभानमा भएको हो, अहिले हामी गरुवाखोला दोभानमा भेला भएका छौं । दुईवटा शव पनि यही ठाउँमा निकालिएको छ ।

दुर्घटनामा पर्नेहरु कोको हुन् भन्ने नै अहिलेसम्म खुलेको छैन । हामी पहिचान गर्ने प्रयास गरिरहेका छौं । टीको लगाउन जाने र टीका लगाएर र्फकनेहरु थिए । कोही दानाबारीका थिए, कोही महमाईका थिए । कोही बाहिरबाट माइत मावल टीका लगाउन आउनेहरु पनि थिए ।

डुंगामा कति मान्छे थिए भन्ने ठ्याक्कै गणना भएको छैन । ५० जनाभन्दा घटी थिएनन् अरे । ४/५ वटा मोटरसाइकल पनि डुंगामा थिए अरे । ती बाइक कुनै पनि छैनन् । बाइक त खोज्ने कुरै भएन, पहिले त मान्छे खोज्नुपर्‍यो । डुबेको नाऊ चाँहि अहिले भेटिएको छ ।

नाउमा कति मानिस अटाउने क्षमताको हो भन्ने त केही पनि छैन । त्यस्तो वैधानिक मापदण्ड केही पनि छैन । अड्को फड्को तेलको धूप भन्ने एउटा उखान छ नि । गाउँघरमा त्यस्तै हो । महामाईमा यहाँ तीनवटा नाऊ चल्ने गरेका छन् ।

दानाबारीमा सशस्त्र प्रहरीको बेस क्याम्प छ । त्यहाँबाट प्रहरीहरु उद्धारमा खटिएका छन् । जनपथ प्रहरी पनि खटिएका छन् । बेसक्याम्पबाट घटनास्थल ३ किलोमिटरजति टाढा छ ।

-झापाबाट गौरब पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment