२९ असोज, काठमाडौं । नेकपा एमालेले विजया दशमीका अवसरमा आयोजना गरेको चियापान समारोहमा मधेसी मोर्चाका नेतासमेत सहभागी भएर केपी ओलीसँग हात मिलाएका छन् ।
राजनीतिक रुपमा एमालेसँग सम्बन्ध चिसिएका बेला मधेसी नेताले चियापानमा सहभागिता जनाएर मेलमिलापको सन्देश दिएका छन् ।
पार्टी कार्यालय धुम्बाराही नजिकैको शंखपार्कमा आयोजना गरिएको चियापानमा मधेसी मोर्चाका नेता महन्थ ठाकुरले सहभागिता जनाए ।
महन्थ ठाकुरले केपी ओलीसँग हात मिलाएर शुभकामना आदान-प्रदान गरेका थिए । ओलीले पनि महन्थलाई ‘स्वागत छ’ भन्दै अतिथि सत्कार गरे । यसबाहेक उनीहरुसँग खासै कुराकानी भएन ।
त्यसैगरी मधेसी जनअधिकार फोरक लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार पनि एमालेको चियापानमा सहभागी भए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल चियापानमा सहभागी भएका थिए । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ चियापानमा सहभागी थिए ।
नयाँ शक्ति पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी पनि एमालेको चियापानमा सहभागी भएका थिए ।
चियापान समारोहमा एमाले नेता केपी ओली, माधव कुमार नेपाल र झलनाथ खनाल पिताम्बर खादा र रुद्राक्षको मालामा सजिएका थिए । एउटा ब्राह्मणको टोलीले उनीहरुलाई माला लगाइदिएको हो ।
दशैंको अवसरमा विगतको परम्परालाई निरन्तरता दिँदै एमालेले आयोजना गरेको चियापान समारेाहमा नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको घुइँचो लागेको थियो ।
सहभागीहरुलाई चिया, कफीका साथै फलाहारले स्वागत गरिएको थियो ।
थप तस्वीर