Comments Add Comment

सुविधासम्पन्न पेट्रोल पम्पका लागि ठाउँ खोज्दै सुरक्षा निकाय

सरकारको निर्णयपछि तीनवटै सुरक्षा संगठन अध्ययनमा

Nepal-police-Petrol-pump२२ कात्तिक, काठमाडौं । विभिन्न बहानामा पटक–पटक हुने पेट्रोलियम पदार्थको हाहाकारले देशवासीलाई सताइरहेको हुन्छ । तर, सरकारले ल्याएको योजनाअनुसार काम हुने हो भने अब पेट्रोलकै लागि नागरिकले सास्ति बेहोर्नु पर्ने छैन ।

आपूर्ति मन्त्रालयले काठमाडौंमा सुरक्षा निकाय र साल्ट ट्रेडिङ लगायत संस्थानमार्फत थप १५ वटा ठूला र अत्याधुनिक सुविधासहितको पेट्रोल पम्प विस्तार गर्ने योजना बनाएको छ । त्यसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको लगानी रहने छ । यी पम्पहरु ठूलो क्षेत्रफलमा फैलिएका हुनेछन् भने यसलाई आधुनिक उपकरण र प्रविधिबाट सु–सज्जित गर्ने योजना छ । नयाँ पम्पलाई सुविधासम्पन्न र सुव्यवस्थित गर्ने तयारी छ ।

मन्त्रालयले पम्प सञ्चालनको जिम्मा दिने निर्णय गरेसँगै तीन वटै सुरक्षा संगठनहरुले त्यसमा सहमति जनाइसकेका छन् । उपत्यकामा पम्प संचालन गर्न सकिने स्थान र कार्ययोजना बुझाउन आपूर्ति मन्त्रालयले सुरक्षा निकायहरुलाई आग्रह गरेको छ । यसैका आधारमा सुरक्षा संगठनहरुले यसबारे अध्ययन सुरु गरेका छन् ।

सेनाको योजना

कार्ययोजना अध्ययनमा सेना सरकारले पेट्रोल पम्प खोल्न दिने निर्णय गरेसँगै नेपाली सेनाले सम्भाव्य स्थानहरुको अध्ययन गरिरहेको छ । आपूर्ति मन्त्रालयले सेनालाई काठमाडौंको महाराजगञ्ज, खरिपाटी, नाराययणहिटी क्षेत्रमा पम्पका लागि अध्ययन गरेर योजना बुझाउन भनेको छ ।

Petrol-Pumpसैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सरकारको निर्णयपछि सेनाले त्यसको कार्ययोजनाबारे अध्ययन गरिरहेको बताए । ‘सरकारले पम्प खोल्न दिने भनेको छ । तर, त्यसमा हामीले अध्ययन गर्नुपर्छ, नीति बनाउनुपर्छ । अहिले यसमा छलफल मात्रै भैरहेको छ,’ सहायक रथी कार्कीले अनलाइनखबरसँग भने ।

जग्गाको खोजी, पम्पको क्षमता तथा मोडालिटीको बारेमा अध्ययन भैरहेको र आवश्यक प्रक्रिया पुरा भएपछि पम्प सञ्चालनमा आउने उनले बताए । सेनाले अहिले काठमाडौंको भद्रकाली र ललितपुरको लगनखेलमा पम्प सञ्चालन गरिरहेको छ ।

भण्डारणमा पनि सेना

त्यस्तै बुटवलमा सेनाले कल्याणकारी कोषबाट लगानी गरेर स्थापना गरेको पम्प सञ्चालनका लागि तयारी अवस्थामा रहेको छ भने खैरनीटारमा पनि निर्माण कार्य सुरु भएको सहायक रथी कार्कीले बताए । सरकारले पछिल्लो समय सातै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउने तयारी गरिरहेको छ ।

ती सबै भण्डारणको सुरक्षा जिम्मेवारी सेनालाई दिने सरकारको तयारी छ । तर त्यसबारे आवश्यक अध्यनन र कार्ययोजना भने बनिसकेको छैन ।

सशस्त्र र नेपाल प्रहरी के गर्दैछन् ?

सशस्त्र र नेपाल प्रहरी पनि ठाउँ खोज्दै पछिल्लो निर्णयअनुसार सरकारले नेपाल प्रहरीलाई उपत्यकामा थप दुई पेट्रोल पम्प सञ्चालन गर्न दिने भएको छ ।

आपूर्ति मन्त्रालयसँग पम्प खोल्ने सहमति भए पनि आवश्यक ठाउँको अभाव भएको प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले बताए । ‘पहिले जग्गा चाहियो, त्यसमा लगानी धेरै लाग्छ । त्यसपछि मात्रै पम्प कस्तो बनाउने भन्ने योजना बन्छ । अहिले हामी अध्ययनकै क्रममा छौं,’ डिआइजी मल्लले अनलाइनखबरसँग भने ।

काठमाडौंमा प्रहरीले कल्याणकारी कोषको लगानीबाट प्रहरी प्रधान कार्यालय नक्साल र सामाखुशीमा गरी दुईवटा पम्प चलाइरहेको छ । उपत्यका बाहिर पथलैयामा पनि प्रहरीको आफ्नै पम्प छ ।

उता भक्तपुर, पोखरा, धनगढी र काठमाडौंको हल्चोकमा गरी चारवटा पम्प चलाइरहेको सशस्त्र प्रहरी बलले पनि नयाँ पम्पको लागि ठाउँ खोजिरहेको छ । सरकारको योजना अनुसार सशस्त्र प्रहरी बलले चार वटा नयाँ पम्प खोल्ने सहमति जनाएको छ ।
तर, त्यसका लागि आवश्यक जग्गा र योजना बारे प्रारम्भिक छलफल मात्रै भएको सशस्त्रको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment