Comments Add Comment

महेन्द्रदेखि प्रचण्डसम्म, हजुरबादेखि नातिनीसम्म !

पहाडे जनताले बाटो मागेको तीनपुस्ता भयो

man-bahadur-katuwal
मानबहादुर कटुवाल

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड मंगलबार दिउँसो खोटाङको दिक्तेल बजारस्थित जिविसको सभाहलमा कर्मचारी र दलका नेतासँग सम्वाद गर्दै थिए । कार्यालय परिसरमा खोटाङे जनताको भीड थियो । प्रधानमन्त्रीलाई हेर्न नजिकै रहेको हेलीप्याडमा पनि उस्तै भीड लागेको थियो । र, त्यही भीडमा भेटिए एकजना हजुरबा- मानबहादुर कटुवाल ।

करिब एक घण्टा टाढा पर्ने लफ्याङ भन्ने गाउँबाट यी हजुरबा पैदल हिँडेर प्रधानमन्त्री प्रचण्डलाई हेर्न दिक्तेल बजार आएका रहेछन् । विसं.२००१ सालमा जन्मिएका उनी अहिले ७२ वर्ष पुगेका छन् । दिक्तेलमा उनले १२ वर्षको उमेरदेखि नै यसैगरी सरकार प्रमुखहरुको भ्रमणमा सहभागिता जनाउँदै आएका छन्, महेन्द्र सरकारदेखि प्रचण्ड सरकारसम्म ।

प्रधानमन्त्री प्रचण्डको भाषण सुन्न करिब चार घण्टा कुरेका मानबहादुरले ०१३ सालमा राजा महेन्द्रको सवारी दिक्तेलमा कसरी भएको थियो भन्ने वृतान्त सुनाए-

राजा महेन्द्र ०१३ सालमा तारे घोडा चढेर दिक्तेल आएका थिए । साथमा जर्नेल-कर्नेलहरु थिए । आठपहरियाहरु थिए ।

एसपी, डीएसपी थिए घोडाको लगाम तानिदिने । पसीनाले खलखल भएको तारे घोडा आरपी टाँगन घोडाभन्दा पनि बढ्ता थियो ।

गजुरमानको घरमा बेलुका मैन्टोल, पेट्रोलमाक्सहरु झिलीली बत्ती बल्थे, हामीले यहाँबाट हेर्‍यौं । कोही त्यहीँसम्म पछ्याउँदै गए

पछाडि मेना थियो, मेनामा रानी हुनुहुन्थ्यो । भारमा, मेनामा बोकेर ल्याउनुभएको थियो रानीलाई । बुईपाबाट गल्छिँडोको बाटो हुँदै दिक्तेल आउनुभयो । हामी तल घिसेपुको बरपिपलदेखि हेर्दै-हेर्दै आयौं । त्यसबेला म १२ वर्षको थिएँ ।

यहाँ दिक्तेलमा डिल्लीराम श्रेष्ठ बजिमय नेवार थिए । गोकुलमान राई उपसभापति थिए । सभापति बिर्खबहादुर राई थिए । डाँडामा मञ्च बनाएर राजा त्यसमा सवारी भयो ।

गोकुलमान सभापतिले खुकुरी, कलस, करुवाहरु चढाउनुभयो । सरकारले ‘ल गोरखा दक्षिणबाहु’ भनेर महेन्द्रको बाहुलीबाट बक्स भयो ।

यहाँ दिक्तेलमा देवी छिन् सातकन्या भगवती । बुद्धेश्वर महादेव छन् । त्यहाँका पुजारीहरु कलश लिएर बस्नुभो । फूलपाती चढाउनुभो । झण्डै आधि घण्टैजस्तो आराम, रेष्ट गरेर राजारानीहरु दोरपाको चिउरीडाँडामा गजुरमान राईको घरमा बास बस्न जानुभयो ।

 

diktel-bazar
दिक्तेल बजारमा प्रधानमन्त्री प्रचण्ड

गजुरमानको घरमा बेलुका मैन्टोल, पेट्रोलमाक्सहरु झिलीली बत्ती बल्थे, हामीले यहाँबाट हेर्‍यौं । कोही त्यहीँसम्म पछ्याउँदै गए ।

त्यहाँबाट धनकुटासम्म सवारी भयो महेन्द्र सरकारको ।

वीरेन्द्रदेखि ज्ञानेन्द्र हुँदै गिरिजासम्म

महेन्द्रको सवारीको द्रष्टा बनेर सुरु भएको मानबहादुरको राज्य-जनतावीचको सम्बन्ध अन्य सरकार प्रमुखहरुको सवारीमा पनि उस्तै रह्यो । दिक्तेलमा ०१३ सालमा महेन्द्रको सवारी भएको ३० वर्षपछि ०४३ सालतिर वीरेन्द्र राजा पुगेका रहेछन् । वीरेन्द्रको सवारीको कथा हजुरबाले यसरी हाले-

पछि ०४३ सालतिर होला, वीरेन्द्र सरकार सवारी भयो । हेली (हेलिकोप्टर) मा आउनुभएको थियो । यहाँ एउटा बाणिज्य बैंक चाहिएको थियो ।

हामी सबैले ‘बाटो दिनु, सरकार बाटो’ भन्यौं । म बाटो दिन्छु, तर, तिमीहरुले यहाँबाट के दिने भनेर हुकुम भयो । अलैंची, अदुवा, सुन्तला, फलफूल, यही नै हो हाम्रो भनेपछि ‘ल हुन्छ’ भनिबक्स्यो ।

कटवालले थप ‘सवारी’ बारे बताए- ‘दिक्तेलमा राजाकी काकी हेलेन शाह पनि आइन् । ज्ञानेन्द्र सरकार पनि यहाँनेर आउनुभयो । पर एउटा टुँडीखेलमा भवन छ, त्यही उदघाटन गर्न आउनुभयो ।’

उनले थपे- ‘त्यसपछि दिक्तेल बजारमा गिरिजाबाबु आउनुभयो । र, अहिले प्रचण्ड सरकार आउनुभएको छ । हामी उहाँका कुरा सुन्न यो चौरीमा भेला भएका छौं बाबु ।’

चौरीमा आफ्नै दामलेहरुसँग छाता ओढेर बसेका हजुरबाले महेन्द्रदेखि प्रचण्डसम्मको सवारीबारे ‘ब्रिफिङ’ गरिरहँदा उता जिविस हलभित्र पनि सरकार प्रमुखहरुको दिक्तेल भ्रमणको हिसाब-किताव भइरहेको थियो ।

 

diktel-bazar-2

खोटाङका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आफ्नो ३१ वर्षे जीवनमा पहिलोपटक सरकार प्रमुखका अगाडि उभिएर कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाए । कार्यक्रममा वक्ताहरुले गिरिजाको भ्रमणपछि २० वर्षसम्म दिक्तेल बजारमा कोही पनि सरकार प्रमुखले पाइला नटेकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले गिरिजापछि २० वर्षमा दिक्तेल आउने पहिलो प्रधानमन्त्री भएकोमा खुशी लागेको तर, २० वर्षसम्म जिल्लामा कोही पनि प्रधानमन्त्री नपुग्नु दुखलाग्दो विषय भएको सुनाए ।

अर्को रोचक के रहेछ भने प्रधानमन्त्री प्रचण्डकै बगलमा बसेका निमित्त मुख्यसचिव टंकमणि खोटाङकै जिल्लाबासी रहेछन् । र, उनले एसएलसी परीक्षासमेत दिक्तेलकै स्कुलबाटै दिएका रहेछन् । कार्यक्रममा सचिव शर्माले भने- ‘तर, मैले आज ३० वर्षपछि पहिलोपटक दिक्तेल बजारमा पाइला टेकेको हुँ ।’

एक्काइसौं शताब्दीका अभागी जनता

हामाी नेपाली जनता कति अभागी छौं भन्ने कुरा दिक्तेलको जिविस हलमा भएको अन्तरक्रियामा झल्कियो । खोटाङका जनताले प्रधानमन्त्री प्रचण्डलाई घंगरुको लौरो उपहार दिँदै बाटोघाटो र पुलको माग गरे । तराईसँग जोड्ने पुलको ठेक्का भूमिसुधार मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले लिएको र काम नगरेको खोटाङे जनताले गुनासो गरे ।

खोटाङका जनताले बाटो मागेको हजुरबाकै पालादेखि हो । नाति पुस्तासम्म पनि जनताको माग एउटै छ

विश्वका नागरिकहरु पूर्वाधारको विकास गरेर सम्वृद्धिको उपभोग गरिरहँदा पनि पहाडका जनता ‘महेन्द्र सरकार’ का पालादेखि ‘प्रचण्ड सरकार’का पालासम्म ‘बाटो चाहियो हजुर बाटो’ भनिरहेका छन् । पहाडको दुख यो भन्दा बढ्ता अरु के हुन सक्छ ?

पहाडमा बाटो त छ, तर हिउँदमा मात्रै चल्छ । दूधकोशीमा पुल नबन्दा सहरसँग खोटाङ जिल्लाबासीको सम्बन्ध दुरह बनिरहेकै छ । र, खोटाङका जनताले बाटो मागेको हजुरबाकै पालादेखि हो । नाति पुस्तासम्म पनि जनताको माग एउटै छ ।

घोडामा सवारी चलाउने नेताहरु ‘हेली’मा सवारी चलाउन थालेका छन् । तर, जमीनमा जनताको माग एउटै छ, बाटो, बाटो र फेरि पनि बाटो । कहिले बनाइ सक्छौं हामीले बाटो ? कुन पुस्तादेखि यो माग सधैंका लागि पूरा हुन्छ ? अनिश्चित छ यो प्रश्न ।

ज्ञापनपत्र बोकेर संखुवासभातिर

 

prachand-at-tamakoshi
तामाकोशीमा प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गर्दै विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङ । साथमा आयोजना प्रमुख विज्ञान श्रेष्ठ (वायाँ)

खोटाङ सदुमुकाममा भेला पारिएको बाटोघाटो एवं पुल निर्माणसम्बन्धी ज्ञापनपत्रको पोको बोकेर प्रधानमन्त्रीकोे अनुगमन टोली संखुवासभातिर उड्यो । दिक्तेलबासीले प्रधानमन्त्रीलाई दिएको लौरो हेलीकोप्टरभित्रै थियो । ज्ञापनपत्र र लौरो हेलीकोप्टरमै राखेर टोलीले किमाथाङ्का नाकाको अनुगमन गर्‍यो । त्यसपछि हेलीकोप्टर जिल्लाको उत्तरी भेगमा पर्ने नुम बजारमा ओर्लियो ।

बजारमा बनाइएको एउटा मञ्चमा प्रधानमन्त्री र सचिवहरु भाषण गर्न थाले । साथमा सचिव टंकमणि शर्मा, विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ र भौतिक पूर्वाधार मन्त्रालयका सचिव धनबहादुर तामाङ पनि थिए ।

दिक्तेलमा हजुरबाहरुसँग कुराकानी गरिएको थियो, नुमबजारमा चाहिँ हामीले विद्यालयमा पढ्ने बालिकासँग कुरा गर्‍यौं ।
प्रधानमन्त्रीले भाषण गरिरहँदा नुमबासीले तस्वीर खिच्न स्मार्ट फोनहरु तेर्स्याए । नजिकै मोबाइल पसल पनि रहेछ ।

प्रधानमन्त्रीले सबैका हातमा मोबाइल रहेको प्रशंग सुनाउँदै सञ्चारमा धेरै ठूलो क्रान्ति भएको सुनाए ।

आइप्याडबाट तस्वीर लिँदै गर्दा अरुण मावि नुममा कक्षा ७ मा पढ्ने अरुणा राईले भनिन्- ‘ऊ आइप्याड !’

उनकी अर्की साथीले थपिन्-‘ सर हाम्रो यो फोटो मेरी आमाको फेसबुक म्यासेन्जरमा पठाइदिनु है ।’

num-students

नुम बजारमा प्रधानमन्त्री आउने प्रतिक्षामा घण्टौंसम्म पर्खिएर बस्नेहरूको  भीडबाट बालिकाले हामीसँग अप्राशंगिक प्रश्न सोधिन्- ‘हाम्रो पैसा (नोट) मा अर्कै मान्छेले सही गर्न थालेका छन्, गभर्नर फेरिएको हो र सर ?’

अविकास, विकट भौगोलिक अवस्था र नयाँ पुस्ताको चेतनास्तरबीच तीव्र अन्तरविरोध प्रष्ट देख्न सकिन्थ्यो ।

संखुवासभाको नुम बजार खाँदबारीबाट किमाथांका नाकातर्फ जाने बाटोमा पर्छ । अरुण तेस्रो जलविद्युत आयोजनाले खनेको बाटोका कारण जिल्ला सदरमुकाम हुँदै धरान इटहरी र बिराटनगरसम्म आवत-जावत गर्न सकिन्छ । अरुण तेस्रो जलविद्युत आयोजना वीचैमा नतुहिएको भए नुम बजारको रौनक अहिलेको जस्तो पक्कै हुने थिएन ।

तर, हजुरबाको पालादेखि नातिका पालासम्म सरकारसँग बाटो माग्दै आएका पहाडका जनताले नुममा पनि उही माग गरे, किमाथांका जोड्ने बाटो अनि खाँखबारीसम्मको सडकको स्तरनोन्नति । नुमबासीको मुख्य र पहिलो माग उही बाटो, बाटो र फेरि पनि बाटो नै रहेछ ।

यसका साथै अरुण तेस्रो जलविद्युत आयोजनाबाट विस्थापनमा पर्नेहरुको उचित क्षतिपूर्तिको प्रवन्ध उनीहरुको अर्को माग हो । अरुण भ्याली सरोकार समाजले प्रधानमन्त्रीसँग यस्तै यस्तै मागहरु तेर्स्याए । नुमबाट खाँदबारीमा फर्किई केही थप मागहरुको पोको बोकेर प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर मंगलबार बेलुका सवा ५ बजेतिर काठमाडौंमा अवतरण भयो ।

तीन नदीको जललाई साक्षी राखेर…..

राष्ट्रिय गौरबका आयोजनाहरुको आफैं अनुगमन गर्न थालेको बताउँदै प्रधानमन्त्री प्रचण्डले दोलखा, खोटाङ र संखुवासभा तीनवटै जिल्लाका जनतालाई सम्बोधन गरे । एकै दिन उनले तामाकोशी, दूधकोशी र अरुण नदीको जलसभ्यता सिँचित क्षेत्रका जनतासँग सम्वाद गर्न भ्याए ।

helicopter

तामाकोशी जलविद्युत आयोजनामा ०७५ साल असारअगावै काम सकेको खण्डमा कर्मचारी, आयोजना प्रमुख र मजदुरहरुलाई पुरस्कार दिइने प्रधानमन्त्रीले घोषणा गरे भने स्थानीयवासीले चीनको सीमानासम्म सुरुङ मार्ग बनाइदिन गरेको आग्रह भौतिक योजना मन्त्रालयका सचिवलाई नोट गर्न भने ।

खोटाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पुलको काम समयमा नगर्ने मन्त्री विक्रम पाण्डेलाई बोलाएर स्पष्टीकरण लिन सचिवहरुलाई निर्देशन दिए । त्यहीँ प्राधिकरणका हाकिम कुलमान घिसिङले ७ सय मेगावाटको दूधकोशी जलविद्युत आयोजनालाई तामाकोशीकै मोडेलमा नेपालीले आफैं अघि बढाउने गरी प्रक्रिया थालनी भइसकेको खोटाङबासीलाई आश्वासन दिए ।

र, संखुवासभामा प्रधानमन्त्री प्रचण्डले बिराटनगर-किमाथांका नाका जोडेर त्रिदेशीय साझेदारीलाई अघि बढाइने वचन दिए ।

सप्तकोशीमा अन्ततः एकै ठाउँमा मिसिने तामाकोशी, दूधकोशी र अरुण नदीको पानी खाएका जनतालाई कास्की ढिकुरपोखरीमा जन्मेका प्रधानमन्त्री प्रचण्डले एकै दिन बाँडेका यी सपनाहरु अब कहिले पूरा होलान् ?

तामाकोशी आयोजनाको सुरुङमा गाडी दौडिएको देखेपछि एकजना मित्रले भनेको स्मरणीय छ- ‘यो सुरुङमा छिरेपछि त मलाई हाम्रो देश बन्छ कि जस्तो पो लाग्न थाल्यो त !’

तर, यो प्रश्न निकै जब्बर छ- के दिक्तेलमा भेटिएका हजुरबा मानबहादुर कटवाल र नुम बजारकी किशोरी अरुणा राईले आफ्नै पालामा ‘कोशी बेसिन’को सम्वृद्धि भोग्न पाउलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment