Comments Add Comment

पेरुको विकास नमूना चितवनको चेपाङ बस्तीमा

८ मंसिर, चितवन । पेरुको विकास नमूना चितवनको सिद्धि गाविसस्थित चेपाङ बस्तीमा लागू गर्न सुरु गरिएको छ । ‘सिद्धिको विकासमा एक कदम’ नारासहित सपना भिलेज सोसयल इम्प्याक्टले साढे तीन करोड रुपैयाँ बजेटको परियोजना सुरु गरेको हो ।

sapan-village
सिद्धि गाविसमा नयाँ परियोजना उदघाटन समारोहमा सहभागीहरु

तीन वर्षभित्र सिद्धि गाविसमा रहेका चेपाङ समुदायसँगै अन्य समुदायको पनि स्वास्थ्य, शिक्षा, खानेपानी र जीवनस्तर उकास्ने तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले पहिलोपटक भिन्न शैलीको पृथक परियोजना सुरु गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

‘नेदरल्याण्डमा रहेको फेमी फाउन्डेसनसँगको सहकार्यमा पेरुमा गरिएको विकास नमूनाको आधारमा सिद्धिमा कार्यक्रम सञ्चालन गरिएको छ,’ गिरीले भने, ‘यस परियोजनाअनुसार स्थानीय जनताहरुलाई प्रतिष्पर्धाको आधारमा पुरस्कृत गर्दै जाँदा जागरण आउँछ र आफ्नो क्षेत्रको विकासमा आफै अग्रसर हुन्छन् ।’

प्रतिष्पर्धामा भाग लिनका लागि घरमूली महिला हुनुपर्ने, महिला प्रमुख भएर कार्यक्रममा भाग लिनुपर्ने छ । अन्तर घर, अन्तर वडा, अन्तर स्वास्थ्यकर्मी, अन्तर विद्यालयलगायतका प्रतियोगितामा पुरस्कार वितरण गरिने वोर्ड सदस्य डा. कृष्ण पौडेलले बताए ।

पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले सिद्धि गाविसको नौ वटै वडामा एक वर्षको सर्वेक्षण पछि सुरु गरेको परियोजनाको जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरी न्यौपानेले मंगलबार उदघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले सिद्धिमा विभिन्न संघसंस्थाले वर्षेनी १० करोड रुपैयाँको बजेट खर्च गरे भएपनि त्यसको पारदर्शिता र प्रभावमा प्रश्न उठ्ने भएकाले यसको अनुगमनमा स्थानीय व्यक्तिहरु नै खटिनुपर्नेमा जोड दिए ।

१० वर्ष अगाडि स्वास्थ्य शिविर लिएर सिद्धिमा पुग्दा त्यहाँका जनतालाई कपडामात्र बाँडिने गरेको पाइएकाले त्यहाँ पुगेर सहयोग गर्नका लागि आफूलाई नयाँ कार्यक्रम बनाउन उत्प्रेरणा मिलेको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

‘सिद्धिका लागि धेरै बजेटहरु आए गुरुयोजनाको त्यति सफल भएका छैनन्,’ कार्यक्रम उदघाटनमा बोल्दै उनले भने, ‘यो समृद्ध सिद्धि बनाउने अभियान हो । त्यहाँका बासिन्दाहरुलाई माछा मारेर खुवाउनु भन्दा पनि माछा मार्न सिकाउने सोचका साथ हामीले कार्यक्रम सुरु गरेका छौं ।’

विगतमा करोडौं रकम ती समुदायको उत्थानका लागि आएपनि उनीहरुको जीवनस्तरमा परिवर्तन नआएपछि प्रतियोगितात्मक तवरले स्थानीयको आर्थिक परिवर्तन तथा बानी व्यवहारमा सुधार ल्याउन परियोजना सफल हुने संस्थाका सदस्य नारायण वनले बताए ।

बजेटको पचास प्रतिशत रकम बढी शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको प्रतिस्पर्धाका लागि खर्च गरिने सपना भिलेज सोसल इम्प्याक्टका प्रोजेट म्यानेजर सुजन बस्नेतले जानकारी दिए । उनले सिद्धिबासीको आनीवानी सुधारका लागि बजेट बढी खर्च गरिने बताए ।

साथै सो बजेटबाट स्वास्थ्य चौकीको चार वटा कोठे भवन, शौचालय, सामुदायीक भवनहरु बनाइने छ भने खानेपानीको पनि व्यवस्था मिलाइने छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले चितवनमा हालसम्म पाँच वटा गाविसमात्र पूर्ण खोप घोषणा भएकाले सिद्धि गाविसलाई पूर्ण खोप गाविस बनाउन आफूले सहयोग गर्ने बताए ।

सामाजिक विकास तथा अनुसन्धान केन्द्र गैंडाकोटको सर्वेक्षण २०७३ अनुसार सिद्धि गाविसमा चार हजार ६ सय ५२ जनसंख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment