Comments Add Comment

संविधान संशोधनविरुद्ध संसद अवरुद्ध गर्ने एमालेको निर्णय

बामदेवले भने-हामी खुर्सानीको धूलो लिएर जाँदैनौ तर परिआए भिड्छौं

uml-meeting
फाइल तस्वीर

१५ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध पार्ने भएको छ ।
सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट प्रतिवाद गर्ने बताएको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकले संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म संसद चल्न नदिने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए ।

अस्वस्थ भएका कारण बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी ओली भने अनुपस्थित थिए ।

सशक्त ढंगले अवरोधमा उत्रिन सांसदहरुलाई निर्देशन

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले बिहीबारदेखि संसदमा सशक्त ढंगले अवरोधमा उत्रिन सांसदहरुलाई निर्देशन दिए । उनले एमालेको अवरोध शालिन र संयमित हुने बताए ।

गौतमले भने- एमालेको बिरोध सालिन हुनेछ । हामी खुर्सानीको धूलो लिएर संसदमा जाने छैनौं र कुर्सी भाँच्ने पनि छैनौं । तर भिड्न आउछन् भने चुप लागेर बस्ने पनि होइन,लड्ने हो ।

गौतमले अहिले ५ नम्बर प्रदेश बिभाजन गर्ने प्रस्ताव दीर्घकालिन रुपमा अन्य प्रदेशलाई पनि पहाड र तराई अलग गर्ने उद्देश्यबाट आएकाले कुनै हालतमा नमान्ने बताए ।

बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङले संसोधन प्रस्तावको उद्देश्य नेपाललाई बहु राष्ट्रिय राज्य सावित गर्ने उद्देश्यले आएकाले कुनै हालतमा पारित हुन नदिने बताए ।

संसद र सडक दुवैतिर प्रतिरोध गर्ने निर्णय बैठकले गरेको एमाले सांसद प्रेम आलेले बताए । उनले संसद बैठकमा बिधेयक प्रस्तुत गर्न नदिने र फिर्ता लिन बाध्य पार्ने गरि प्रस्तुत हुन नेताहरुले निर्देशन दिएको बताए ।

बैठकमा प्रमुख सचेतक भानुभक्त ढकालले बिहीबार संसद बैठक बस्नुअघि नै सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment