Comments Add Comment

ओलीले भने- दुई नम्बर प्रदेश बनाउँदा गल्ती भएकै हो, अब सच्याइन्छ

'एमालेविरुद्ध माखेसाङ्लो र युपी बिहारको झूठो हल्ला चलाइयो'

kp-oli
११ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय राज्य निर्माणका क्रममा सात प्रदेशमध्ये धेरै बिग्रिएको २ नम्बर प्रदेश नै भएको भन्दै त्यसलाई उपयुक्त बिधिबाट सच्याइने बताएका छन् ।

मधेस मामिलाका जानकार र एमालेका मधेसी नेता कार्यकर्तासँग सोमबार पार्टी कार्यालयमा आयोजित छलफलका क्रममा ओलीले भने- ‘दुई नम्बर प्रदेशमा गल्ती भएकै हो । पाँच नम्बर प्रदेश उतिबेलै सच्याएर पहाड तराई मिलाइयो, दुई नम्बरको हकमा उपयुक्त बिधिबाट संशोधन गरौंला ।

एमालेका मधेसी नेता तथा सांसदहरुले दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली, मकवानपुरलगायतका पहाडी र भित्री मधेसका जिल्ला नसमेट्दा मधेस र पहाडको भावना बिभाजित भएको भन्दै संविधान संसोधन गर्ने भए त्यसमा पनि हुनुपर्ने माग राखेपछि ओलीको यस्तो धारणा आएको हो ।

मधेसी विश्लेषक एवं नेताहरुलाई आफ्नो छेउमा राखेर प्रस्तुत भएका ओलीले विगतमा ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग राख्ने प्रस्ताव एमालेले कहिल्यै नराखेको बताए ।

उनले कांग्रेसलाई मनाउन त्योबेला मानिए पनि पछि माओवादी र मधेसी मोर्चाले नमानेका कारण तत्कालै सच्याइएको प्रष्ट पारे ।

ओलीले भने- ‘त्योबेला कांग्रेसले जोड गरेकाले मानियो, तर पछि अरुले नमानेपछि तत्कालै सच्याएको हो, त्यही कुरालाई लिएर हिजो मानेको, आज किन मानिनस् भन्न पाइन्छ ? त्यसोभए त हिजो पुष्पकमल दाहालले सहीछाप गरेरै मलाई प्रधानमन्त्री मानेका थिए, पछि किन नमानेको त ?’

हेर्नुहोस् भिडियो 

एमाले अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि कांग्रेस, माओवादी र मधेसी मोर्चाले गरेको तीनबुँदे अनुचित सम्झौता कार्यन्वयनका लागि संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै त्यसलाई पारित गर्न एमाले बाध्य नहुने बताए ।

उनले भने- ‘त्यो सम्झौता र संशोधन प्रस्ताव मौलिक पनि होइन । मेड इन कहाँको हो भन्ने सबैलाई थाहा छ । अस्ति मान्दैनौं भन्ने कथित मधेसी मोर्चा अहिले त्यही संशोधन प्रस्ताव पनि मान्छु भन्दैछन्, किनकि उनीहरुलाई बिगार्नु छ, बिगार्न पाइन्छ भनेपछि गरिहाल्छन् । तर यतिले पनि पुग्दैन भोलि अरु कुरा उठाएर बितण्डा शुरु गरिहाल्छन् ।’

‘झूठो प्रचार गरियो’

कार्यक्रममा ओलीले एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्न एमालेका कुनै गल्ती नभएपछि झूठो प्रचारको सहारा लिइएको बताए । उनले आफूले मधेसीलाई माखो कहिल्यै नभनेको, तर भारत जाँदा समेत आफूलाई मधेसीलाई किन माखो भनेको भनेर प्रश्न गरिएको सुनाए ।

ओलीले भने- माखेसाङ्लो भन्ने प्रसंग मैले प्रयोग गरेको थिएँ, त्यो जान्यो भने खुल्छ नत्र खुल्दैन भनेको हो । तर, माखो भन्यो भनेर हल्ला चलाए । कहिले बिहार र युपी जाऊ भन्यो भनेर हल्ला चलाए ।’ उनले थपे- ‘यसबाट प्रष्ट हुन्छ, एमाले विरुद्ध मधेस विरोधी भन्ने कुनै कुरा नपाएपछि यस्तो झूठको सहारा लिइयो ।’

एमालेले मधेसका जनताको वास्तविक अवस्था बुझेर मधेसको विकासका लागि इतिहासमै पहिलोपटक सबैभन्दा धेरै बजेट बिनियोजना गरेको बताए । उनले यसबाट अत्तालिएर सबै शक्ति मधेसमा एमालेविरुद्ध एकजुट भएको आरोप समेत लगाए ।

ओलीले पार्टी कार्यालयको हलमा जम्मा भएका मधेसी नेता कार्यकर्तालाई उच्च मनोबलका साथ जिल्ला र गाउँमा गएर जनतालाई भ्रमबाट मुक्त गर्न निर्देशनसमेत दिए ।

उनले मधेसमा पार्टी बलियो भए मात्रै मधेसी नेता कार्यकर्ताले अवसर पाउने भएकाले गुटभन्दा माथि उठेर जनताबीच जान निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment