Comments Add Comment

मधेसीबाट गम्छा ओढ्दै ओलीले सोधे- प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको नश्ल एउटै हो ? (भिडियोसहित)

मधेसमा एक्लिएको एमालेलाई क-कसले के सुझाव दिए ?

kp-oli

११ पुस, काठमाडौं । मधेसी मोर्चा र पछिल्लो समय नेपाली कांग्रेसका साथै माओवादीबाट समेत मधेस विरोधी आरोप खेप्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार फरक शैलीमा प्रस्तुत भए । उनले आफ्नो पार्टीलाई आकस्मिक रुपमा ‘मधेस समस्या, भ्रम र यथार्थ’ विषयमा कार्यक्रमै गर्न लगाए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा लगभग आकस्मिकरुपमा आयोजना गरिएको ‘मधेस मन्थन’ मा गैरएमाले मधेस मामिला विज्ञ राजेश अहिराजसहित कतिपय एमाले इत्तरका मधेसीहरु पनि निम्त्याइएका थिए ।

त्यो एक प्रकारको कक्षा नै थियो ओलीका लागि मधेस विषयमा । करीव तीन घण्टासम्म मधेसका माग, मुद्दा, समस्या र भ्रमका बारेमा ओलीले धैर्यपूर्वक सुने । उनी त्यसबेला विद्यार्थी जस्तै देखिन्थे ।

मञ्चमा बसेका ओली डा.राजेश अहिराजको प्रस्तुति सुन्न र हेर्न मञ्चबाट तल झरे र विद्यार्थी जसरी बसे । उनीसँगै पार्टी महासचिव ईश्वर पोखरेल लगायतका प्रभावशाली नेताहरु पनि त्यहाँ उपस्थित थिए ।

झापा, मोरङ र पश्चिम तराईवाहेक विशेषतः २ नम्बर प्रदेशका मधेसका जिल्लामा एक वर्षभन्दा लामो समयदेखि नटेकेका ओली ‘मधेस मन्थन’ मा भने सक्रियतापूर्वक सहभागी भए ।

मधेसमा एमाले कहाँ चुक्यो र मधेसको पक्षमा एमालेले बजेट एवं नीतिमार्फत अहिलेसम्मकै राम्रो काम गर्दा पनि किन जस पाउन सकेन ? यो विषयमा मधेस विज्ञहरुले धेरै तथ्य र तर्क प्रस्तुत गरे ।

डा.राजेश अहिराज, प्राध्यापक लालबाबु यादवसहितले ओलीलाई मधेसको पक्षमा उनले गरेका काम र निर्णयहरुका बारेमा आफैं मधेसमा उपस्थित भएर त्यहाँका जनतालाई जानकारी गराउन सुझाव दिए ।

यति गरिसकेपछि अहिराजले ओलीलाई मधेसको पहिचान गम्छा लगाइदिए । गम्छा लगाएर मञ्चमा फर्किएका ओलीले शुरुमै प्रश्न गरे- ‘म ५५ वर्षदेखि तराईमा छु, ५२ वर्षदेखि तराई-मधेसका जनताको अधिकारका लागि संघर्षरत छु । मचाहिँ मधेसी नहुने अनि भारतबाट आउने कुनै मसिहा चाहिँ रातारात मधेसी हुने ?’

ओलीले ‘नश्लवाद’ भन्ने शब्दको गलत प्रयोग भएको भन्दै आपत्ति जनाए । उनले पहाडे नश्ल वा मधेसी नश्ल भन्ने हुँदैन भन्दै नश्लको गलत परिभाषा लगाइएको बताए । उनले प्रश्न गरे- के हो नश्लवाद भनेको ? फेसबुकमा त्यतिकै घृणा फैलाउन उचाल्ने ?’

छेउमै रहेका पार्टी सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई देखाउँदै ओलीले भने – ज्ञवाली र गुरुङको एउटै नश्ल हुन्छ ? कहाँको मंगोल, कहाँको आर्य ! बरु राजेश अहिराज र मेरो नश्ल एउटै हो । सत्यनारायण मण्डल, रघुवीर महासेठ र मेरो एउटै नश्ल हो ।

एमाले अध्यक्ष ओलीले नश्लवादका नाममा विष छर्ने प्रयास भइरहेको गुनासो गरे । संघीयतालाई धर्मका रुपमा स्थापित गर्न खोजिएकोमा पनि उनले आपत्ति प्रकट गरे ।

ओलीको सार थियो- मधेसमा अरु सबै एकजुट भए पनि एमाले एक्लै भिड्नुपर्छ । जनताको अधिकार सीमांकन र भारतीय नागरिकलाई नागरिकता दिएर होइन, समानता र विकासबाट मात्रै सम्भव छ ।

विज्ञका रुपमा बोलाइएका डा.राजेश अहिराजले पनि ओलीलाई मधेसको पक्षमा अभूतपूर्व रुपमा बजेट खन्याउने नेताको उपमा दिँदै त्यसको जस लिने ढंगले मधेस जान सुझाव दिए ।

मधेस मामिलामा एमालेले अब कस्तो रणनीति लिने र कसरी मधेसमा जाने भनेर आयोजना गरिएको कार्यक्रममा एमालेका मधेसी नेताहरु ओलीभन्दा आक्रामक बनेर प्रस्तुत भए । उनीहरुले ५ नम्बरबाट पहाड कटाउने होइन, दुई नम्बरमा पनि पहाड मिसाउनुपर्ने माग राखे ।

कार्यक्रममा सहभागीहरुले ओलीलाई यस्ता सुझावहरु दिए-


एमालेको गोजीमा सुन छ कि लसुन छ ?

-डा.राजेश अहिराज,मधेस मामिला विज्ञ

rajesh-ahiraj-455वास्तवमा एमाले मधेसको सबैभन्दा प्रिय पार्टी हुनुपर्ने हो । केपी ओली नेतृत्वकै सरकारले मधेसको विकास र मधेसी जनताको उन्नतिका लागि अहिलेसम्मका कुनै सरकारले गर्न नसकेका कामहरु बजेटमार्फत ल्याएको हो ।

तर, तपाईहरुले मार्केटिङ गर्न सक्नुभएन । वास्तवमा नियत राम्रो भएर हुँदैन, कहिले काहीँ व्यवहार राम्रो हुनुपर्छ । मधेसी जनताले त्यो व्यवहार केपी ओलीबाट खोजेका छन् । तपाई जानुपर्छ ।

अस्ति म अग्नि खरेलको घरमा गएँ, उहाँले चिया खाएर जानुस भन्दा चिया नखाई हिडेँ । तर, विश्वेन्द्र पासवानको घरमा गएर चिया खाएँ । किनकि उहाँकोमा नखाएको भए मलाई दलितको घरमा चिया खाएन भन्ने हुन्थ्यो ।

एमालेको हकमा पनि यही भएको हो । यो पार्टीले मधेसको हितमा काम त गर्‍यो, तर व्यवहार मधेसमैत्री देखाउन सकेन । मधेसको लागि बोल्न मधेसी नै हुनुपर्छ भन्ने छैन ।

मधेसी मोर्चाले २ नम्बर प्रदेशमा जम्मा ४ सीट जितेको छ, जब कि एमाले एक्लैले १४ सीट जितेको छ । मधेसको मुद्दा उठाउने जिम्मेवारी एमालेको हो ।

गोजीमा सुन छ कि लसुन छ भन्ने कुरा नदेखाई थाहा हुँदैन । एमाले र मधेसको सम्बन्ध पनि त्यस्तै हो । गोजीमा सुन छ भनेर मधेसमा एमालेका मधेसी नेताहरु गएर देखाउनुपर्‍यो । नत्र त भ्रम छरिन्छ नै ।

यसकारण पहाड र हिमालबाट मधेसलाई अलग गर्नु हुन्न
-लालबाबु यादव, प्राध्यापक, राजनीतिशास्त्र

lalbabu-yadav-455म पछिल्लो समय मधेसका सबै जिल्ला र गाउँ गाउँ गएको छु । पहिले एक मधेस एक प्रदेशले हामी मधेसी नै कमजोर हुन्छौं भन्दा मोर्चाका नेताहरुले गाली गर्नुहुन्थ्यो । पछि उहाँहरु ठीक रहेछ भन्नेमा पुग्नुभयो ।

अहिले पनि म भन्दैछु, मधेसमा दुई प्रदेश मात्र घातक हुन्छ । पहाडबाट अलग हुनुपर्छ भन्ने मान्यताले हामीलाई पछि पार्छ ।

भोलि पहाड र हिमालको ८३ हजार मेगावाट जलविद्युत आयोजनामा मधेसीको पनि बराबर शेयर हुनुपर्छ । त्यसका लागि पहाड, हिमाल र तराई जोडिएको प्रदेश चाहिन्छ ।

एमालेले राम्रो कुरा राखेको छ, तर यो कुरा मधेसका जनतासम्म पुग्दा विकृत बनाइन्छ ।

त्यसैले मधेसी नेता-कार्यकर्ताहरुले जनतालाई समयमै प्रष्ट पार्नुपर्‍यो । मधेसमा एमालेले जुन बजेट छुट्याएको छ, यो त इतिहासमा कहिल्यै भएको थिएन नि ।

मधेसी मोर्चाले अपराधी चलाउँछ
-सत्यनारायण मण्डलः २ नम्बर प्रदेश संयोजक, एमाले

satya-narayan-mandal-455मधेसमा अहिले हामीविरुद्ध सबै एकजुट भएका छन् । यसबाट पनि हामी डराउने थिएनौं । तर, हामीलाई हामीभित्रकै गुटबन्दीले सिध्याउने भयो । मधेसी मोर्चा भन्ने त अपराधीहरु हुन् ।

अस्ति नै म मन्त्री भएका बेला जयकृष्ण गोइत आफैंले फोन गरेर १० लाख माग्यो । केही दिनअघि सिराहा, सप्तरीमा बम राखियो ।

खासमा मधेसका नाममा यस्ता अपराध मधेसी मोर्चाले तयार गर्छ । अपराध यिनीहरुले गर्ने अनि जिम्मा गोइतहरुले लिने । अनि भागबण्डा गरेर खाने गर्छन् ।

खासमा मधेसको राजनीति अपराधीकरण भइसकेको छ । यिनीहरुले एमालेका नेता-कार्यकर्तालाई सिध्याउन अनेक डिजाइन गरिरहेका छन् । तर, हामी एकजुट भएर गयौं भने मधेसमा एमालेलाई कसैले हराउन सक्दैन ।

बिहान बेहुली, दिउँसो अंगीकृत, बेलुका मन्त्री !
-रघुवीर महासेठ, अध्यक्ष लोकतान्त्रिम मधेसी संगठन

मधेसमा एमाले विरुद्ध मधेसी मोर्चामात्र होइन कांग्रेस, माओवादी र विदेशी शक्तिले संयुक्त रुपमा मोर्चाबन्दी गरेका छन् । तर, पनि एमाले एकजुट भएर जाँदा हामीलाई कसैले हराउन सक्दैन ।

raghu-bir-mahaseth-455अहिले ५ नम्बर प्रदेशबाट पहाड अलग गर्नुहुँदैन भनेर पार्टीले लिएको अडान ठीक छ । तर, २ नम्बर प्रदेशमा हामीले गल्ती गरिसकेका छौं । भावनात्मकरुपमा पहाड र मधेसको सम्बन्ध टुटाउन खोजियो ।

त्योबेला पनि हामीले कम्तिमा उदयपुर, सिन्धुली र मकवानपुर २ नम्बरमा राखौं भन्यौं । आज कसैको इशारामा मधेसमा दुई प्रदेशको कुरा ल्याइएको छ । यसले कालान्तरमा हामीलाई फिजीकरण गर्ने हो ।

नागरिकताको सवालमा अझ कडा हुनुपर्छ, नत्र मधेसी जनता ठगिन्छन् । अहिले त यस्तो लचिलो कानुन छ कि बिहान ८ बजे बिदेशी बुहारी बिहे गरेर ल्यायो, १२ बजे नागरिकता दिलायो अनि ४ बजे मन्त्रीको सपथग्रहण गराउने अवस्था छ । अंगीकृतको सवालमा कडाइ गर्नुपर्छ ।

एमालेका मधेसी नेता-कार्यकर्ताहरु हामी एकजुट भएर जाने हो भने सबै भ्रम चिर्न सक्छौं । नेतृत्वले पनि यसमा ध्यान दिनुपर्‍यो । तर, हामीबीचमै एकले अर्कोलाई स्वीकार नगर्ने प्रवृत्ति घातकरुपमा विकास भएको छ ।

अंगीकृत भारतीयका वंशज सन्तानले वितण्डा मच्चाए
-रामचन्द्र साहः सांसद, पर्सा

अहिले मधेसमा एमाले एक्लो भएको छ । खासमा मधेसमा अंगीकृत र तीनका सन्तानको बाहुल्य भइसकेको छ । ०६३ सालमा अंगीकृत नागरिकता लिएका भारतीयका सन्तानहरु अहिले वंशजका नागरिक भइसके ।

मधेस आन्दोलनका नाममा वितण्डा मच्चाउने तिनीहरु नै हुन् । अहिले संविधान संशोधनका सन्दर्भमा एमालेले लिएको अडान सही भए पनि मधेसी भावना विपरीत देखियो । यो कुरा चिर्नका लागि पार्टीले मधेसमा विशेष योजना बनाउनुपर्ने हो ।

दुई नम्बर प्रदेशमा पहाड मिसाउनैपर्छ र मधेसमा एमालेविरुद्धको भ्रम निवारण गर्न हामीले विशेष योजना बनाएर जानुपर्छ ।

मधेसमा अंगीकृत भिरेका भारतीयको बहुमत हुँदैछ
-प्रदीप यादवः युवा संघ केन्द्रीय सदस्य, रौतहट

मधेस र पहाडलाई छुट्याएर प्रदेश विभाजन गर्न हुँदैन । त्यसैले दुई नम्बरमा पहाड किन छुट्याइयो ? मधेसी जनताले जवाफ मागेका छन्, हामीले जवाफ दिनुपर्छ ।

एमालेको महाधिवेशनमा दुवै प्यानलबाट पदाधिकारीमा मधेसीहरु चुनाव लडे । तर, दुबै प्यानलबाट कसैले पनि जितेनन् । समावेशी र समानुपातिक एमालेमा छ भनेर हामीले कसरी देखाउने ?

आज तराई मधेसमा हामीलाई एक्ल्याउने र हामीमाथि भौतिक आक्रमणका धम्की दिने काम भइरहेका छन् । यसो गर्न सबै पार्टी मिलेका छन् एमालेविरुद्ध । यस्तो अवस्थामा पार्टीले विशेष योजना बनाउनुपर्छ ।

नागरिकताको सन्दर्भमा हामी झन् कठोर भएनौं भने मधेसमा मधेसी नै अल्पमतमा पर्ने र अंगीकृत भिरेका भारतीयहरुको बहुमत हुनेछ ।

तस्वीर/भिडियो-कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment