Comments Add Comment

अमेरिकाको मेरिल्याण्डस्थित पशुपती बुद्ध मन्दिरलाई बिनोद चौधरीले बुद्धमुर्ति उपहार दिने

वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित पशुपति बुद्ध मन्दिरलाई नेपाली अर्वपति बिनोद चौधरीले भगवान गौतम बुद्धको ठूलो प्रतिमा उपलब्ध गराउने भएका छन् ।

Binod chaudhari
फाइल तस्वीर

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का सभापति खिलेन्द्र न्यौपानेले बक्तव्य जारी गर्दै नयाँ बर्ष २०१७ को अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको बुद्धको मुर्ति केन्द्रलार्इ प्रदान गर्ने जानकारी दिएका छन् ।

उक्त बुद्धको मुर्ति ३ महिना भित्र बनिसक्नेछ भने बुद्ध जयन्तीको अवसरमा पशुपति बुद्ध मन्दिरले बौद्ध भेलाको आयोजना गर्ने छ । भेलाका लागि नेपालबाट वरिष्ठ रिम्पोचे (बौद्ध गुरु) मगाउने निर्णयसमेत एनईसीसी बैठकले गरेको सभापति न्यौपानेले बताए ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैंचाको निर्माण गरिने र उक्त मुर्ति उद्यान बीचमा राखिने योजना पारित भएको छ । यसका लागि मेरिल्याण्ड तथा पेन्सिल्भानियाका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतले पहल गरेका हुन् ।

लुम्बिनी बगैंचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारलाई दिइएको छ । त्यसको संरक्षण तथा सम्बर्धन पनि बौद्ध धर्म संघले गर्नेछ ।

एनईसीसीद्वारा प्रकाशित सार्बजनिक सूचना अनुसार सन् २०१६ मा संस्थाले आयोजना गरेको देउसी भैलोमा नेपालका ख्यातिप्राप्त कलाकार महजोडीले साथ दिँदा करिब ४४ हजार डलर संकलन भएको थियो ।

सभापति न्यौपानेले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रलाई पर्यटकीय स्थल बनाउने समेत लक्ष्य रहेको जानकारी दिए । गत बर्ष पशुपति बुद्ध मन्दिरमा लगाइएको एकाह पुराणमा उपप्रधानमन्त्री कमल थापा तथा सांसद शशांक कोइरालासमेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment