Comments Add Comment

सामुदायिक रेडियोमा एमालेविरोधी गठबन्धनभित्र अन्तरघात

suwash-devkota

२३ पुस, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघको निर्वाचनलाई पार्टीगत प्रतिष्ठासँग जोडेर एमाले र गैरएमाले गठबन्धन बनाए पनि निर्वाचन परिणाम उल्टो आएपछि सत्तारुढ गठबन्धनमा निराशा छाएको छ ।

गृहमन्त्री बिमलेन्द्र निधीले एमालेमुक्त नेपाल निर्माण गर्ने सन्दर्भमा १० वर्षसम्म कांग्रेस, माओवादी र मधेशी मोर्चा मिलेर हरेक चुनावमा एमालेलाई परास्त गर्नुपर्ने निर्देशन दिएका थिए ।

सोहीअनुरुप भएको सत्तारुढ गठबन्धनका अध्यक्ष किशोरजंग थापा एमाले निकट सुवास खतिवडासँग १० मतले पराजित भएपछि अन्तर्घातको आशंका भएको छ । कांग्रेस, माओवादी, मोर्चा र राप्रपाबीच गठबन्धन भएको थियो ।

अध्यक्षमा एमाले निकट सुवास खतिवडा बिजयी भए पनि महासचिवमा भने माओवादीका गोविन्द देवकोटाले जितेका छन् । त्यस्तै बरिष्ठ अध्यक्षमा कांग्रेस सम्वद्ध अर्जुन गिरी, सचिवमा एमालेनिकट बन्दना दनुवार र कोषाध्यक्षमा माओवादी निकट लक्ष्मण खड्का बिजयी भए ।

प्रदेश उपाध्यक्ष, सचिव र कार्य समितिमा बहुमत एमाले सम्वद्ध रेडियोकर्मीले जितेका छन् । एमालेलाई अन्तिममा नयाँ शक्तिले साथ दिएको थियो । ठूलो साधन स्रोत र अन्तर्राष्ट्रिय परियोजनाहरु समेतका कारण सामुदायिक रेडियो प्रसारक संघ सञ्चार क्षेत्रको आकर्षक ठाउँ हो ।

देशभरिका २८६ सामुदायिक रेडियोहरुको छाता संगठन भएकाले यसलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका थिए । हालसम्म कायम रहेको एमालेको वर्चश्व अन्त गर्न कांग्रेस र माओवादीको उच्च तहबाटै सहमतिका लागि दबाव परेका थियो ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमालेसँगको सहकार्य तोड्दा पत्रकार महासंघको चुनवासम्म असर पर्ने भन्दै कांग्रेससँग नमिल्न दबाव दिएका थिए । माओवादी स्थायी समिति सदस्य समेत रहेका प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले प्रचण्डलाई दबाव दिएर सत्तारुढ दलहरुको गठबन्धन बनाउन भूमिका खेलेको स्रोतले जनाएको छ ।

रेडियोकर्मीको चुनावमा गृहमन्त्री निधी आफैं प्रत्यक्ष संलग्न रहेर एमालेलाई सबैतिर हराउन माओवादीसँग मिल्ने लाइन सुनाएपछि एमालेले प्रतिष्ठाको विषय बनाएको स्रोतले बतायो ।

‘जसरी पनि गठबन्धन हराउनु भनेको निधीको योजनामा सानो धक्का हुने भएकाले एमाले नेतृत्वले पनि खेल्यो’ एक रेडियोकर्मीले भने ।

यसअघि आदिवासी जनजाति महासंघको चुनावमा एमाले बाहेकका सबै दलहरु मिलेर एमाले हराएका थिए । यो परिणामबाट उत्साहित भएका निधीले अबका सबै चुनावमा एमाले विरुद्ध गठबन्धन बनाउने निर्णय प्रेस युनियनको भेलामा सुनाएका थिए ।

यो चुनावमा पराजित हुँदा सबै दल मिलेर एमालेलाई जहाँसुकै हराउन सक्छन् भन्ने सन्देश जाने भन्दै एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाको नेतृत्वमा सचिव विष्णु रिजालसहित प्रेस चौतारीका नेताहरु निर्वाचनस्थल वल्र्ड ट्रेड सेन्टरमा अन्तिमसम्म खटिएका थिए ।

कांग्रेस सम्वद्ध प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले गठबन्धनको हार अस्वाभाविक भन्दै यसको समीक्षा हुने बताए । उनले एमालेले पार्टीगत प्रतिष्ठाका रुपमा चुनावलाई लिएको गुनासो गरे ।

एमाले प्रचार विभाग सचिव रिजालले भने मिलेर जाउँ भन्दा सत्तापक्षले दाउपेच गरेकाले यसलाई प्रतिष्ठाको विषय बनाउनुपरेको बताए । उनले भने-यो विमलेन्द्र निधी प्रवृत्तिको पराजय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment